रास्वपा गण्डकीः दुःखमा साथ दिएका जति पाखा, टिकटमा नयाँलाई मौका
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी निर्वाचनका लागि अधिकांश क्षेत्रमा नयाँ उम्मेदवार चयन गरेको छ।
- गण्डकी प्रदेशका केही क्षेत्रबाहेक अन्यत्र नयाँ उम्मेदवार चयनप्रति पार्टीभित्रै असन्तुष्टि देखिएको छ।
- टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेताहरूले पार्टी नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको आसन्न निर्वाचनका लागि उम्मेदवार चयन गर्दा अघिल्लो निर्वाचनमा उम्मेदवार बनेकामध्ये निकै कमलाई मात्रै दोहोर्याएर टिकट दिएको छ ।
गण्डकी प्रदेशका ३ निर्वाचन क्षेत्र बाहेक सबै क्षेत्रमा नयाँ उम्मेदवार उठाइएको हो । रास्वपाले गण्डकी प्रदेश अन्तर्गतका निर्वाचन क्षेत्रमध्ये नवलपुर–१ का राजन गौतम, गोरखा २ बाट कविन्द्र बुर्लाकोटी र लमजुङमा धर्म केसीलाई मात्रै दोहोर्याएको छ । बाँकी १५ निर्वाचन क्षेत्रमा रास्वपाका नयाँ उम्मेदवार छन् । त्यसमध्ये पनि केही जिल्लामभा त संगठनमा दुःख नगरेका व्यक्तिलाई टिकट दिइएको भन्दै विरोध पनि भएको थियो ।
कास्की १ मा अघिल्लो पटक निर्वाचन लडेका राजु राई टिकट वितरण अपारदर्शी र संगठनको मर्म विपरीत भएको भन्दै आन्तरिक जबाफ खोज्ने बताउँछन् । ‘पार्टी एकताका क्रममा आएका साथीहरूप्रति हाम्रो केही नराम्रो भाव छैन । सबैलाई स्वागत गरेका छौँ । त्यस्ता साथीहरूलाई खुलेरै निर्वाचन क्षेत्र छोडेका पनि छौँ,’ उनले भने, ‘तर, पुरानै रास्वपाले टिकट पाएका ठाउँमा पनि संगठनभित्र दुःख गरेकाभन्दा नयाँ र अवसरवादी हाबी भएका छन् । यसको जबाफ हामी आन्तरिक रूपमा खोज्ने छौँ ।’
बागलुङ–१ मा रास्वपाबाट अघिल्लो चुनाव लडेका खिमानन्द कँडेल अहिलेको टिकट वितरणप्रति सन्तुष्ट छैनन् । उनले निरन्तर पार्टीको टिकट वितरणप्रति असन्तुष्टि जाहेर गरिरहेका छन् । सभापति रवि लामिछानेले ठाडो हस्तक्षेप गरेका भन्दै उनी असन्तुष्ट बनेका हुन् ।
‘यो सुपरहिरो मोडलको राजनीति जनतामा व्याप्त आक्रोशलाई क्षणिक रूपमा बिसाउने चौतारीमात्रै हो, यसले देशको मूल समस्याको कहिल्यै समाधान हुनेछैन,’ उनले भने, ‘धनाढ्य, व्यापारी, र युट्युबरलाई भन्दा जीवनभर समाजका लागि योगदान दिएका नैतिकवान र निष्ठावान व्यक्तिलाई राज्यसत्तामा पु¥याउनु नै समस्याको समाधान हो ।’
यही क्षेत्रबाट टिकटका दावेदार राजेन्द्र शर्माले त मनोनयनको अघिल्लो दिन पार्टी त्यागेर उज्यालो नेपाल पार्टीबाट उम्मेदवार मनोनयनपत्र लिए । तर केन्द्रीय नेताहरूले नै असन्तुष्टि थामथुम पारेपछि उनले उज्यालोको टिकटबाट मनोनयन दर्ताचाहिँ गरेनन् । उनी अहिले रास्वपाको प्रचारमा लागिरहेका छन् ।
कास्की–२ मा पनि टिकट वितरणमा असन्तुष्टि जनाउँदै निर्वाचन क्षेत्रका १० वटा वडा सभापतिहरूले केन्द्रलाई पत्र नै लेखे । उनीहरूले टिकट फेर्न आग्रह गरेका थिए, तर टिकट फेरिएको छैन । अहिले वितरण गरिएको टिकट विवादित पात्रदेखि चर्चित अनुहार र नेताहरूको नजिककालाई बढी प्राथमिकता दिइएको रास्वपा नेताहरूकै गुनासो छ ।
के थियो हिजो, के भयो अहिले ?
अघिल्लो निर्वाचनमा गोरखा–१ बाट सुवर्ण रोकाहा उम्मेदवार थिए । अहिले जेनजी अभियानमा सक्रिय सुदन गुरुङलाई टिकट दिएको छ । यस्तै मनाङमा यसअघि मुख्या गुरुङ उम्मेदवार थिए भने अहिले अनिल गुरुङलाई टिकट थमाए पनि उनले उम्मेदवारी दिएनन् । तनहुँ–१ बाट विकास सिग्देललाई पाखा लगाएर उपनिर्वाचनदेखि नै स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाइएको छ । तनहुँ–२ बाट पनि नयाँ उम्मेदवार तय गरिएको छ । २०७९ को चुनावमा विजय जोशीलाई उम्मेदवार बनाएको रास्वपाले अहिले अर्कै क्षेत्र (क्षेत्र नम्बर १) का श्रीराम न्यौपानेलाई उम्मेदवार बनाएको छ ।
सबैभन्दा उत्कृष्ट नतिजा निकालेको कास्कीका तीनै क्षेत्रमा रास्वपाका नयाँ उम्मेदवार छन् । सुरुमा क्षेत्र नम्बर १ बाट राजु राई, २ बाट माधव कँडेल र ३ बाट योगराज पौडेल उम्मेदवार थिए । अहिले १ मा खड्कराज पौडेल, २ मा उत्तम पौडेल र ३ मा विना गुरुङलाई टिकट थमाइएको छ ।
नवलपुरको क्षेत्र नम्बर २ मा पनि नयाँ नै उम्मेदवार छन् । शालिकराम न्यौपानेले पहिला चुनाव लडेको यो क्षेत्रमा अहिले मनिष खनाललाई टिकट दिइएको छ ।
स्याङ्जाका दुवै क्षेत्रमा रास्वपाका नयाँ उम्मेदवार छन् । क्षेत्र नम्बर १ बाट संकटमा साथ दिएका बोधराज रेग्मीलाई पाखा लगाएर विवादित पात्र धनन्जय रेग्मी उम्मेदवार बनेका छन् । क्षेत्र नम्बर २ मा टिकराज गुरुङ सुरुमा उम्मेदवार थिए । अहिले झविलाल डुम्रेले टिकट पाएका छन् ।
मुस्ताङबाट सुदेश गुरुङले सङ्कट टारेका थिए । अहिले उनलाई सुरुमा समानुपातिक सूचीमा राखिए पनि अन्तिम बन्दसूचीबाट उनको नाम हटाइएको छ । त्यहाँ शिक्षण पेसा छोडेर राजनीतिमा होमिएका अदितीय थकाली उम्मेदवार बनेका छन् ।
म्याग्दीमा हरिबहादुर खत्री क्षेत्री २०७९ को उम्मेदवार थिए । अहिले युवराज रोकाले टिकट पाए पनि स्वतन्त्र उम्मेदवार बनेका महावीर पुनलाई सघाउन भन्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।
बागलुङका दुवै क्षेत्र नयाँले कब्जा जमाएका छन् । उम्मेदवार छनोटमा सावधानी नअपनाएको भन्दै पार्टीमा अन्तरविरोध पनि बढेको छ । क्षेत्र नम्बर १ मा अहिले सुशील खड्का र २ बाट सुमन शर्मा उम्मेदवार छन् । गत चुनावमा १ नम्बरबाट खिमानन्द कँडेल उम्मेदवार थिए भने २ नम्बर क्षेत्रमा तिला खत्री उम्मेदवार थिए । पर्वतमा यसअघिको निर्वाचनमा जालबहादुर पुर्जा पुन उम्मेदवार बने पनि अहिले उनको सट्टा सागर भुसाललाई टिकट दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण