चालक र व्यवसायी आन्दोलित : ट्यांकर थन्किँदा रोजीरोटी खोसिने डर
सारांश
- अम्लेखगञ्ज डिपोका ट्यांकर व्यवसायी र चालकहरूले आन्दोलन गरेका छन् किनभने ढुवानी बन्द भएपछि उनीहरू आन्तरिक ढुवानीको माग गर्दैछन्।
- पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात भएपछि ट्यांकरबाट हुने ढुवानी बन्द गरिएको छ, जसले गर्दा मर्मतका लागि लामो समय कुर्नुपर्ने बाध्यता छ।
- व्यवसायीहरूले तत्काल आन्तरिक ढुवानीमा ट्यांकर राख्न र ट्यांकी जडान नहुँदासम्म पेट्रोलियम पदार्थ बोक्न दिन माग गरेका छन्।
बारा । नेपाल आयल निगम प्रादेशिक डिपो अम्लेखगञ्जका स्वरोजगार ट्यांकर व्यवसायी तथा चालकहरूले आन्दोलन गरेका छन् । बरौनी–अम्लेखगञ्जबाट पेट्रोलियम पदार्थको ढुवानी बन्द भएपछि १०४ वटा ट्यांकरलाई तत्कालका लागि आन्तरिक ढुवानी दिनुपर्ने माग गर्दै साना ट्यांकर व्यवसायी तथा चालकहरू आन्दोलित भएका हुन् ।
माग राख्दै उनीहरूले आज एक घण्टा डिपोमा लोड/अनलोड ठप्प पारेका थिए । पाइपलाइनबाट पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल र मट्टितेल) आयात हुन थालेपछि निगमले ट्यांकरबाट हुँदै आएको ढुवानीलाई पूर्ण रूपमा बन्द गरेको छ ।
ढुवानी बन्द भएपछि १०४ वटा ट्यांकरलाई निगमले काठमाडौँ, पोखरा, भैरहवा र विराटनगर विमानस्थलमा हवाई इन्धन बोक्न प्रयोग गर्ने निर्णय गरेको छ । तर हवाई इन्धन ढुवानीअघि ट्यांकरको मर्मतसम्भार तथा ट्यांकी परिवर्तनका लागि करिब चार महिनासम्म ग्यारेजमा पालो कुर्नुपर्ने चालकहरूको गुनासो छ ।
अखिल नेपाल मजदुर संघका अध्यक्ष मानसिङ लामा १०४ वटा ट्यांकर मर्मतसम्भारका लागि तीनदेखि चार महिनासम्म पालो कुर्नुपर्ने बाध्यताका कारण स्वरोजगार साना ट्यांकर व्यवसायी र चालकहरूको रोजीरोटी नै खोसिने तथा बैंकको किस्ता बुझाउनसमेत धौधौ हुने बताउँछन् ।

'हाम्रो ट्यांकर मर्मत लामो समय कुर्नुपर्ने अवस्था छ, त्यतिबेलासम्म हामीले बैंकको किस्ता कसरी बुझाउने, बालबच्चा कसरी पाल्ने ?’ लामाले भने, ‘तत्कालका लागि आन्तरिक ढुवानीमा हाम्रो ट्यांकर राखिदिनुस् भन्ने हाम्रो माग हो ।’
निगममा व्यवस्थापन हुन बाँकी १०४ वटा ट्यांकरमध्ये ५० प्रतिशतभन्दा बढी अम्लेखगञ्जका स्थानीयको छ। निगममा पहुँचका आधारमा केही ट्यांकरले एउटा पम्पको अनुमति लिएर दर्जनौं पम्पमा ढुवानी गर्ने गरेको ट्यांकर चालक श्याम मगर बताउँछन् ।
’म पीडित चालक हुँ, हाम्रो ट्यांकर मर्मतका लागि तीन/चार महिना ग्यारेजमा पालो कुरेर राख्नुपर्ने बाध्यता छ,’ चालक मगरले भने, ‘निगमले जहाँ पठाउँछ, हामी जान तयार छौँ । तर ट्यांकर मर्मत गर्न पालो नआउञ्जेल ढुवानी गर्न पाउनुपर्यो ।’
नेपाल आयल निगम अम्लेखगञ्ज डिपोमा निजी पम्पको ढुवानी प्रयोजनका लागि १२७ ट्यांकर आबद्ध छन् । ती ट्यांकरले मासिक ३० देखि ३२ टिपसम्म ढुवानी गर्ने गरेका स्थानीय ट्यांकर व्यवसायी कृष्ण ठकुरी बताउँछन् । ठकुरीले जायज मागहरू सहजीकरण गरिदिन केन्द्रसम्म अनुरोध गर्दा सुनुवाइ नभएकाले सांकेतिक रूपमा एक घण्टा ढुवानी अवरुद्ध गरेको बताए ।
’निजी ढुवानी गर्नेहरूले एउटा पम्पको अनुमति लिएर १० वटा पम्पको बोकिदिने तर हामीले ढुवानी नपाउने समस्या छ,’ पूर्ववडाध्यक्षसमेत रहेका ठकुरीले भने, ‘तत्कालका लागि ट्यांकी जडान नहुञ्जेलसम्म गाडी नभएका पम्पहरूको पेट्रोलियम पदार्थ बोक्न दिनुपर्छ भन्ने हाम्रो माग हो ।’

नेपाल आयल निगम प्रादेशिक डिपोबाट हाल दैनिक करिब चार सय ट्यांकर पेट्रोलियम पदार्थ बोकेर काठमाडौं, पोखरा, जनकपुर, भैरहवा, चितवन, वीरगञ्ज, विराटनगरका लागि छुट्ने गर्दछन् ।आयल निगम अम्लेखगञ्ज डिपो प्रमुख प्रलयङ्कर आचार्यले केन्द्रको निर्देशनविपरीत कुनै निर्णय गर्न नसक्ने बताएका छन् ।
’उहाँहरूले केन्द्रबाटै निर्णय गरेर ल्याउनुभयो भने कुनै समस्या छैन तर मैले यहाँबाट बन्द भइसकेको गाडी फेरि सञ्चालन गर्न सक्दिनँ,’ डिपो प्रमुख आचार्यले भने, ’ती गाडीलाई सञ्चालन नगर्नु भन्ने निर्देशन छ मलाई ।’
निगमले माघ १२ गतेदेखि १०४ वटा ट्यांकरलाई बरौनीदेखि अम्लेखगञ्ज ढुवानी बन्द गरेको हो । ट्यांकर व्यवस्थापनका लागि निगमको केन्द्रीय कार्यालयले दुई महिनाअघि नै सूचनासमेत जारी गरेको थियो ।
डिपो प्रमुख आचार्यले केही ट्यांकर चालकले समयमै मर्मतसम्भारमा अटेर गर्दा अन्तिम समयमा ग्यारेजमा कुर्नुपरेको बताएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण