उम्मेदवार बनेपछि फरक आँखाले हेर्दा रहेछन् : सुदन गुरुङ
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा-१ मा उम्मेदवार रहेका सुदन गुरुङले चुनाव अभियानका क्रममा गाउँलेहरूसँगको भेटघाटमा फरक अनुभव गरेको बताए ।
- गुरुङले पुराना राजनीतिक दलहरूको संरचनाका कारण गाउँमा विभाजन भएको र मतदातामा त्रास देखिएको बताए, तर चुनावमा असर नपर्ने दाबी गरे ।
- उनले उत्तरी गोरखाको विकासका लागि सडक सञ्जाल, बुढीगण्डकी परियोजना, पर्यटन र कृषिमा प्रविधिको प्रयोग आफ्नो प्राथमिकता रहेको बताए ।
पोखरा । जेनजी आन्दोलनको जगमा हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि जेनजी अभियन्ता सुदन गुरुङ गोरखा–१ बाट उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका उनी पहिलो पटक उम्मेदवारका रूपमा गाउँ पुगेका छन् तर पहिलाको तुलनामा अहिले गाउँलेसँगको भेटघाटलाई उनले फरक अनुभूति गरेका छन् ।
सामाजिक अभियन्ताका रूपमा पटक–पटक गोरखाका गाउँमा पुग्दा जुन आत्मीयता र खुलापन पाइन्थ्यो, अहिले फरक अनुभव भइरहेको उनको भनाइ छ । पुराना राजनीतिक दलहरूको संरचनाका कारण गाउँमा भएको विभाजनले सबैमा त्रासको पर्खाल लागेको उनले बताए । यद्यपि, मतदानमा भने कुनै असर नपर्ने उनको तर्क छ ।
उत्तरी गोरखाको घरदैलो सकेर आरुघाट झरेका गुरुङसँग रातोपाटीका प्रकाश ढकालले चुनाव अभियानका बारेमा केन्द्रित रहेर कुराकानी गरेका छन् । प्रस्तुत छ, गुरुङसँग गरेको कुराकानीको अंशः
- अहिले कहाँ हुनुहुन्छ र चुनाव अभियान कसरी चलिरहेको छ ?
म अहिले भर्खरै उत्तरी गोरखाको अभियान सकेर आरुघाट आइपुगेको छु । हिजो–अस्ति म माथिल्लो भेग फिलिम, सिर्दिबास, पाङसिङ, न्याक लगायतका ठाउँमा थिएँ । त्यहाँका मतदाताहरूसँग भेटघाट गरेर अहिले तल्लो भेगमा झरेको छु ।
- विगतमा एउटा स्वतन्त्र अभियन्ताको रूपमा गाउँ जानुहुन्थ्यो । अहिले पार्टीको उम्मेदवार भएर जाँदा कस्तो फरक पाउनुभयो ?
धेरै ठुलो फरक पाएँ । पहिला गाउँ जाँदा मानिसहरू दाजुभाइ, दिदीबहिनीको हिसाबले खुला दिलले भेट्थे, आत्मीयता देखाउँथे । आफ्नो गाउँ–ठाउँको मान्छे आयो भनेर खुसी हुन्थे, तर अहिले पार्टीगत हिसाबले जाँदा मानिसहरूमा एउटा बाउन्ड्री देखिन्छ । पुराना पार्टीहरूले समाजलाई यति नराम्रोसँग विभाजन गरेका रैछन् कि मानिसहरू खुलेर बोल्न पनि डराउँछन् ।
भित्र मनमा समर्थन भए पनि अर्को पार्टीकाले देख्छन्, भोलि गाह्रो पर्छ भन्ने त्रास मतदातामा छ । पुराना दलको सिन्डिकेट र जालो गाउँमा कति गहिरो छ भन्ने कुरा अहिले प्रत्यक्ष महसुस गरिरहेको छु । मानिसहरू परिवर्तन चाहन्छन्, तर त्यो जालो तोड्न डराइरहेको अवस्था छ ।
- तपाईंले सुरक्षा थ्रेट महसुस भयो भनेर पीएसओ माग गर्नुभएछ । खासमा कस्तो खालको असुरक्षा छ ?
मलाई व्यक्तिगत रूपमा डर छैन । म त आफ्नै गाउँ–ठाउँमा छु, तर गाउँमा हतियारसहितका मानिसहरू हिँडेको र हाम्रा समर्थकलाई धम्क्याइएको सूचना पार्टीमा आएपछि पार्टीले नै सुरक्षाको माग गरेको हो । मतदातालाई मनोवैज्ञानिक रूपमा त्रसित बनाइएको छ । धम्कीहरू गाउँमा सुनिन्छन् । यो मेरोलागि भन्दा पनि मतदाताको सुरक्षाको कुरा हो । म त जस्तोसुकै परिस्थितिमा पनि जनताको माझमा जान डराउँदिनँ ।
- चुनावमा भोट माग्दा के काम गर्छु भन्नुभएको छ ?
मेरो पहिलो प्राथमिकता सडक सञ्जाल हो । उत्तरी गोरखाको जीवन सडक नहुँदा कष्टकर छ । सडक पुगेपछि मात्र अन्य विकास सम्भव छ । दोस्रो, बुढीगण्डकी परियोजना हो । १२ वर्षदेखि यो आयोजना अलपत्र छ, बजेटमात्र सकिएको छ । यसलाई तत्काल कार्यान्वयनमा लैजानुपर्छ ।
तेस्रो, पर्यटन हो । मनास्लु सर्किट र यहाँका पर्यटकीय क्षेत्रको व्यवस्थित प्रचारप्रसार र पूर्वाधार विकास गर्नुछ । मेरो नितान्त नौलो एजेन्डा भनेको कृषिमा प्रविधिको प्रयोग हो । उत्तरी भेगमा फल्ने स्याउ बजारसम्म ल्याउन सकिएको छैन । मेरो योजना ड्रोन प्रविधि प्रयोग गरेर स्याउ ढुवानी गर्ने र आरुघाटमा कोल्ड स्टोर बनाएर राख्ने हो । त्यसपछि गोरखा एप मार्फत अनलाइनबाटै अर्गानिक उत्पादनहरू सिधै उपभोक्तालाई बेच्ने व्यवस्था मिलाउनेछु । यसले किसानलाई बिचौलियाबाट मुक्त गराउँछ ।
- पुराना र स्थापित दलका नेताहरूसँग प्रतिस्पर्धा छ, चुनाव जित्छु भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
म चुनाव जित्नेमा विश्वस्त छु । किनभने मेरो प्रतिस्पर्धा कुनै व्यक्ति वा नेतासँग होइन, यहाँको समस्यासँग हो । यहाँको गरिबी, अभाव र विकटता मेरो प्रतिस्पर्धी हो । यसअघि जितेर गएकाहरूले केही गरेनन्, त्यसैले जनता विकल्प खोज्दैछन् । म अरूले के गरे वा कति भोट ल्याउँछन भनेर हेर्दिनँ । म आफ्नो बाटोमा हिँडिरहेको छु । मैले मतदाताको आँखामा परिवर्तनको चाहना देखेको छु । जति नै सिन्डिकेट भए पनि मतपेटिकामा जनताले विवेक प्रयोग गर्नुहुनेछ भन्ने विश्वास छ ।
- जेनजी मुभमेन्टलाई लिएर एकथरीले आलोचना र विरोध गरिरहेका छन् । तपाईंका मतदाताचाहिँ त्यो आन्दोलनबारे सोध्दैनन् ? सोध्दा के जबाफ दिनुहुन्छ ?
सोध्छन् । धेरैले त राम्रो भनेका छन् । हाम्रो मुभमेन्टलाई बदनाम गराउन धेरै प्रयास भइरहेका छन् । साइबर सेना परिचालन गरेर, मिडिया म्यानुपुलेसन गरेर भ्रम छर्ने काम भएको छ, तर हामी सत्यको बाटोमा छौँ । मतदातालाई कुरा बुझाउन अलि समय लागे पनि उहाँहरूले बिस्तारै बुझ्दै हुनुहुन्छ । हामी विचलित नभई आफ्नो एजेन्डा स्थापित गर्न लागिरहेका छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण