‘माओवादीले अहिलेसम्म जित्न नसकेको न्यारेटिभ यो चोटि भत्काउँछौँ’
सारांश
- निर्वाचन नजिकिँदै गर्दा ग्रामीण भेगका मतदातामा चुनावी रौनक कम देखिएको छ, युवा रोजगारीका लागि विदेशमा छन्।
- दैलेख-१ मा नेकपाका उम्मेदवार योगेन्द्रबहादुर शाही मतदाता भेट्न सुर्खेत पुगेका छन्, उनले मतदातासँग छलफल र भेटघाट गरे।
- शाहीले यसअघि प्रदेश सभाको चुनाव हारे पनि हाल प्रतिनिधि सभाको चुनावमा एमाले र कांग्रेसलाई चुनौती दिने तयारी गरेका छन्।
सुर्खेत । फागुन २१ गते प्रतिनिधि सभा चुनाव तोकिएसँगै सामाजिक सञ्जादेखि सहरी क्षेत्रका चोकदेखि चौतारासम्म चुनावी गफले स्थान पाएका छन् । तर ग्रामीण क्षेत्रका मतदातालाई भने चुनावी रौनकले छोएको छैन ।
गाउँमा पाका उमेर समुहका मतदाता मात्रै छन्, अधिकांश युवा मतदाता रोजगारीका लागि विदेशमा छन् भने कोही जागिर, पढाइका लागि राजधानी वीरेन्द्रनगरमा छन् । प्रायः दलका कार्यकर्तासमेत यतिबेलासम्म वीरेन्द्रनगरकेन्द्रित नै छन् ।
गाउँ अभियानमा पुगेका उम्मेदवारहरू भने मतदाता खोज्दै सहर आउनुपर्ने स्थिति आएको छ । पश्चिम दैलेखका प्रायः मतदाता प्रदेश राजधानी वीरेन्द्रनगरमै छन् । उक्त क्षेत्र (दैलेख–२) मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार योगेन्द्रबहादुर शाही भने एक पटक अभियान सकेर सहरमा भएका मतदाता खोज्दै वीरेन्द्रनगर आएको अवस्थामा भेटिए ।
उनले बिहीबार वीरेन्द्रनगरमा भएका मतदातासँग भेटघाट तथा चियापान कार्यक्रम नै राखे । उनी भन्छन्, ‘प्रायः मतदाताहरू अझै सहरतिरै छन्, सहरमा भएका मतदाताहरूसँग पनि भेटघाट गरौँ, छलफल गरौँ, उहाँहरूका कुरा सुनौँ भनेर आएको हो ।’
दैलेख–२ अहिलेसम्म माओवादीले कुनै पनि चुनाव जित्न नसकेको क्षेत्र हो । यहाँ २०४८–०५१ को चुनावमा नेमकिपा र कांग्रेसबिच चुनावी प्रतिस्पर्धा हुन्थ्यो भने त्यसपछि अहिलेसम्म एमाले–कांग्रेसबिच चुनावी प्रतिस्पर्धा भइरहरेको छ । एक अर्थमा यो एमाले र कांग्रेसको गढ हो । ०५६ सालमा कांग्रेसले चुनाव जितेको थियो भने त्यसपछि ०७४ सम्म निरन्तर एमालेले वर्चस्व जमायो ।
२०७९ मा कांग्रेसले चुनाव जितेको थियो । अहिले यही क्षेत्रमा एमाले–कांग्रेसलाई नै चुनौती दिने तयारीका साथ नेकपाबाट शाही चुनावी मैदानमा होमिएको बताउँछन् ।
उनी यसअघि ०७९ मा प्रदेश सभा (२) मा चुनाव लडे पनि झिनो मतान्तरले पराजित भएका थिए, तर पनि उनले कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हाल्ने मौका पाएका थिए । बौद्धिक नेता शाहीले जवाहारलाल नेहरू विश्वविद्यालयबाट क्षेत्रीय विकासमा एमफिल गरेका छन् ।
उनीसँग सुर्खेत आएको अवसरमा रातोपाटीले चुनाव केन्द्रित कुराकानी गरेको छ ।
सहरमा भएका मतदाता खोज्दै सुर्खेत आउनुभएको रहेछ, गाउँमा चुनावको अवस्था कस्तो छ, अभियान कसरी चलाइरहनुभएको छ नि ?
–उम्मेदवारी दर्तासँगै पहिलो चरणमा पालिकास्तरमा गयौँ, भेटघाट गर्यौँ । गाउँमा भएका जनतासँग छलफल गर्न केही घरदैलो कार्यक्रमहरू पनि गरियो । तल गाउँमा हामीले सोचेभन्दा भिन्न सेन्टिमेन्ट रहेछ । मतदाताले पनि यो पटक नयाँ उम्मेदवारलाई टेस्ट गर्न चाहेको देखियो । व्यक्तिगत हिसाबले म पहिला एक पटक चुनाव लडेको र थोरै मतले पराजित भएकाले म प्रति सहानुभूति भएको पाएँ । सबैजसो दलका युवा साथीभाइहरूको सहानुभूति पाउने आशा गरेको छु ।
गाउँमा भएका मतदाताका एजेन्डा के कस्ता पाउनुभयो नि, पहिलाकै जस्तो हो वा केही नयाँ छन् ?
–गाउँमा विकास नभएको होइन, बाटोघाटो, खानेपानी ठाउँ–ठाउँमा पुगेको छ । तर जनता सन्तुष्ट छैन । उसले कुशासन देखिराखेको छ । हामीले सिस्टमलाई व्यवस्थित बनाएनौँ । सिस्टम विकास गरेनौँ, सुशासन र पारदर्शिता भएन, जवाफदेही सरकार भएन ।
त्यसैले अहिले मतदातामा परम्परागत केही आशा भए पनि एजेन्डा कतिपय बदलिएका छन् । सुशासन एउटा मूल मुद्दा होजस्तो लाग्यो । जेनजी युवाहरूले पनि सुशासन चाहियो, भ्रष्टाचारको अन्त्य हुनुपर्यो भनेर नै आवाज उठाएका हुन् ।
यसअघि प्रदेश सभा चुनाव हारेको व्यक्ति पुनः प्रतिनिधि सभा जान खोज्नुभएको रहेछ, किन नि ?
–अहिले देश जटिल परिस्थितिमा छ । भू–राजनीति पनि पेचिलो छ । नेपालको राजनीति पनि एउटा संकटको घडीमा छ । युवाहरूका जल्दाबल्दा चाहनाहरू छन् । राजनीतिक पार्टीहरूले (मुख्य पार्टीहरूले) देशलाई सम्हाल्न नसकेको अवस्था छ ।
यो परिस्थितिमा एउटा योग्य मान्छे संसद्मा जानुपर्छ भन्ने मलाई लागेको छ । उसो त यसअघि पनि थुप्रै नेताहरू हाम्रो क्षेत्रबाट संसदमा पुग्नुभयो तर खासै कतै बोलेको, दैलेखको आवाज उठाएको सुनिएन । म संसद्मा पुग्नुपर्छ आफ्नो क्षेत्र र युवाका मुद्दाहरूलाई पनि सम्बोधन गर्नुपर्छ, देश विकासका मुद्दाहरूलाई सम्बोधन गर्नुपर्छ भन्ने लागेर उम्मेदवारी दिएको हुँ ।
दैलेखको हकमा पेट्रोलियम पदार्थ उत्खनन, यहाँबाट रेशम मार्ग भएर हिल्सा हुँदै कैलाश मानसरोवर जाने मार्ग, अपर कर्णालीजस्ता ठुला समृद्धिका आयोजना छन्, यी देशकै समृद्धिका ढोका पनि हुन्, त्यसको पक्षमा बोल्ने, वकालत गर्ने मान्छे चाहिन्छ । त्यो कुरा म गर्न सक्छु र त्यो अभिभारा पूरा गरेर दैलेख र नेपालको समृद्धिमा मैले योगदान गर्न सक्छु भन्ने मलाई लागेर हो ।
दैलेख–२ एमाले–कांग्रेसको गढ हो । उनीहरूका आफ्ना परम्परागत मतदाता छन् । तपाईंलाई त्यहाँ चुनाव जित्न त कठिनै होला नि ? पहिला कांग्रेस–माओवादीबिच गठबन्धन हुँदा पनि जित्न निस्केन ।
–पहिला चुनाव लड्दा म अचानक आएको थिएँ (एमालेबाट माओवादीमा) धेरै अन्योलता थियो । हेर्दाखेरि त गठबन्धन छ, जितिन्छ भन्ने थियो । कांग्रेसभित्र आकांक्षीहरू पनि थुप्रै थिए, मेजर संगठन कांग्रेसकै थियो । अहिले पार्टी बनाउनेगरी लड्नुपर्छ भन्ने सोचेर मैदानमा पुनः आएको हुँ । तथापि जनताको बुझाइ अहिले बेल्कुल फरक पाएँ । म पहिलाको चुनावभन्दा अहिले उत्साहित छु । र, यो पटक जनताले पहिलाजसरी भोट हाल्दैनन् र जनताले नयाँ मान्छे रोज्छन् ।
मेरो उम्मेदवारीलाई सबैले उपयुक्त उम्मेदवारी ठान्नुभएको छ । कतिपय ठाउँमा म जानुभन्दा अगाडि नै मान्छेले निर्णय गरिसकेको परिस्थिति पनि पाएँ । यसरी हेर्दा चुनाव जितिन्छजस्तो लाग्छ ।
उसो भने कति मतले चुनाव जित्छु जस्तो लाग्छ ?
– त्यही १२–१३ हजार बराबर मत ल्याएर चुनाव जितिन्छ जस्तो लाग्छ ।

चुनाव जित्ने आधारचाहिँ ?
–पहिलो, भोट अहिले निकै कम खस्ने छ । गाउँमा मतदाता नै छैनन् । त्रिपक्षीय चुनावजस्तो देखिन गएको छ । कांग्रेस र एमालेभित्र चरम असन्तुष्टि छ । रास्वपाप्रति सामाजिक सञ्जालमा युवाहरूको आकर्षण देखिन्छ । त्यसमा प्रायः विदेशतिर बस्ने हुनुहुन्छ । उहाँहरूमा पनि कांग्रेस–एमालेबाहेक जित्न सक्ने उम्मेदवार को होला भनेर विचारविमर्श गरिरहेको पाएँ । त्यसो हुँदा यो पटक हाम्रो पक्षमा अनुकूल परिस्थिति बनको ठानेको छु ।
२०७९ मा नेकपाको समानुपातिक भोट झण्डै ८ हजारजति छ । युवा स्वतन्त्र १–२ हजार व्यक्तिगत भोट मलाई आउँछ । त्यसो हुँदा अरूको भोट घट्छ, मेरो बढ्छ । दुई–अढाई हजार भोट अरू पार्टीबाट तान्दा त्यो जित्ने अवस्थामा जान्छ । रास्वपाले पनि कांग्रेस–एमालेको ४–५ हजार काट्छ ।
तर कांग्रेस र एमालेले त हाम्रो किल्ला हो, हाम्रो सांगठनिक भोट छ, प्रतिस्पर्धा कांग्रेस–एमालेबिच मै हुने हो भन्छन् नि ?
–उहाँहरूको सोचेजस्तो हुँदैन । ०७९ मा जुम्लामा ज्ञानेन्द्र शाहीले जित्नुभयो नि ! उहाँलाई सबै पार्टीकाले भोट हाल्दिए । अहिले मेरो एकखाले साझा उम्मेदवारी नै हो । किनभने मैले आफ्नो रगत, पसिना एमालेमा पनि बगाएको छु । म अघिल्लो चुनाव हार्दा कांग्रेसका धेरै पङ्क्तिहरू म कहाँ आएर रुनुभयो, मलाई चुनाव हारेको महसुस भएन ।
कांग्रेस–एमालेजस्तै माओवादी (नेकपा) पनि पुरानै दल हो, तपाईंको विचारमा त्यहाँ चुनावी प्रतिस्पर्धा कुन दलहरूबिच हुन्छ ?
–यो प्राविधिक विषय पनि हो । मलाई लाग्छ–एमाले र हामीबिच यो पटक प्रतिस्पर्धा हुन्छ । स्थिति केही बदलिए त्रिपक्षीय पनि जान सक्छ । माओवादीले अहिलेसम्म जित्न नसकेको भन्ने न्यारेटिभ यो चोटि हामी भत्काउँछौँ । एमाले–कांग्रेसको किल्लामा तारा चम्किन्छ । दैलेखमा माओवादी एक हिसाबले नयाँ शक्ति नै हो र उम्मेदवारको हिसाबले म पनि नयाँभित्र नै पर्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण