शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सामाजिक सञ्जालमा तहल्का मच्चाउँदै ‘एआई’ जुम्ल्याहा

आइतबार, १८ माघ २०८२, १० : ०२
आइतबार, १८ माघ २०८२

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल र इन्फ्लुएन्सरहरूको भिडमा दर्शकको ध्यान तान्न सिर्जनाकर्ताहरूले अचम्मका उपायहरू अपनाउन थालेका छन्। पछिल्लो समय सामाजिक सञ्जालमा ‘भ्यालेरिया’ र‘’कामिला’ नामका दुई युवतीको चर्चा चुलिएको छ, जो जोडिएका जुम्ल्याहा अवतारमा देखिन्छन्। 

उनीहरूको इन्स्टाग्राम प्रोफाइल नियाल्दा यी डिजिटल रूपमा तयार पारिएका एआई अवतार हुन् भन्ने प्रस्ट हुन्छ, तर झन्डै २ लाख ८० हजार फलोअरहरूमध्ये धेरैले उनीहरूलाई वास्तविक मानिस ठानेर प्रतिक्रिया दिइरहेका छन्। यी एआई सुन्दरीहरूका सिर्जनाकर्ताले उनीहरूको काल्पनिक जीवनलाई वास्तविक देखाउन निकै मेहनत गरेका छन्। 

उनीहरूले एआईबाटै तयार पारिएका बाल्यकालका तस्बिर र दैनिक जीवनका कथाहरू समेत सार्वजनिक गर्ने गरेका छन्। एउटा पोस्टमा उनीहरूले आफ्नो मेरुदण्ड खतरनाक ढङ्गले जोडिएको र जन्मपछि धेरै शल्यक्रियाहरू गर्नुपरेकाले शरीरमा दागहरू रहेको कथा समेत सुनाएका छन्। यस्ता भावनात्मक कथाहरूका कारण फ्यानहरू उनीहरू प्रति थप आकर्षित भएका छन् र उनीहरूको वास्तविकताबारे प्रश्न गर्न छाडेका छन्।

अन्य स्थापित एआई इन्फ्लुएन्सरहरूले आफूलाई ‘भर्चुअल’ भनेर स्पष्ट खुलाउने गरे पनि भ्यालेरिया र कामिलाको एकाउन्टमा यसबारे कुनै जानकारी दिइएको छैन। यसले गर्दा धेरै फलोअरहरू अलमलमा परेका छन्। 

कतिपय आलोचकहरूले भने यसलाई शङ्कास्पद रूपमा हेरेका छन्। धेरै फ्यान बटुलेर पछि उनीहरूलाई पैसा तिर्नुपर्ने प्लेटफर्म तिर लैजाने योजना हुनसक्ने अनुमान गरिएको छ।

आजको समयमा सुन्दर अनुहार र आकर्षक शरीर मात्र सामाजिक सञ्जालमा हिट हुन पर्याप्त नभएपछि एआईको प्रयोग गरी यस्ता विचित्र अवतार तयार पारिनुले प्रविधिको भविष्य र यसले निम्त्याउन सक्ने भ्रमबारे नयाँ बहस सुरु गरिदिएको छ। हालका लागि भने यी एआई जुम्ल्याहाको कमेन्ट बक्समा प्रशंसा र निमन्त्रणा दिनेहरूको लर्को देखिन्छ, मानौँ उनीहरू वास्तविक मानिस हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप