बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सडक दुर्घटनाको कहर : काठमाडौँदेखि झापासम्म चार जनाले गुमाए ज्यान

आइतबार, १८ माघ २०८२, १२ : २९
आइतबार, १८ माघ २०८२

सारांश

  • काठमाडौँ, कपिलवस्तु, गोरखा र झापामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
  • काठमाडौँको बालकुमारी पुलमा पिकअपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ, चालक नियन्त्रणमा।
  • कपिलवस्तु, गोरखा र झापामा भएका मोटरसाइकल र स्कुटर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। काठमाडौँ, कपिलवस्तु, गोरखा र झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा ती व्यक्तिहरूले ज्यान गुमाएका हुन्।

काठमाडौँको बालकुमारी पुल नजिकै शनिबार राति बा.प्र.०३-०२६ च १७०६ नम्बरको पिकअपको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ। अन्दाजी ५० वर्षीया ती महिलाको पहिचान खुल्न बाँकी छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। प्रहरीले पिकअप चालकलाई नियन्त्रणमा लिएको छ।

त्यस्तै, कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ देवानगढीयामा लु.१९ प ५८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २२ वर्षीय चालक वीरेन्द्र हरिजनको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको शिवराज अस्पतालमा उपचार भइरहेको छ। यता गोरखाको आरूघाट गाउँपालिका–३ घुमाउनेमा पनि ग.१८ प ३५४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धार्चे गाउँपालिकाका ३० वर्षीय मन बहादुर गुरुङको ज्यान गएको छ।

झापाको बिर्तामोड नगरपालिका–७ खोपवारीमा प्र.१-०१-०१३ प ९१९९ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिँदा ३५ वर्षीय सुभाष मादेनको मृत्यु भएको छ। प्याकुरेल चोकबाट बुट्टावारीतर्फ जाँदै गर्दा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप