देशभर बालेनको चर्चा, रविकै निर्वाचन क्षेत्र छायामा
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र चितवन-२ यसपटक ओझेलमा परेको छ।
- बालेन शाहको झापा-५ ले राष्ट्रिय राजनीति तताइरहँदा रवि बिरामी भएको र उपनिर्वाचनमा विजयी भएपनि मुद्दामा फसेको कुरा उल्लेख छ।
- रविले आगामी निर्वाचनका लागि विभिन्न समूहसँग एकता गरी पुराना दललाई परास्त गर्ने उद्देश्य लिएका छन्, तर उनीमाथि मुद्दाको झमेला कायमै छ।
काठमाडौँ । देशभर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चुनावी लहर चलिरहँदा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र चितवन–२ ओझेलमा परेको छ ।
रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेको उम्मेदवार बालेन शाहको निर्वाचन क्षेत्र झापा–५ ले राष्ट्रिय राजनीति नै तताएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले जित्दै आएको झापा–५ बाट यसपटक बालेनले पनि उम्मेदवारी दिएका छन् ।
तर अघिल्ला निर्वाचनमा सर्वाधिक चासो देखिएको चितवन क्षेत्र नम्बर ३ यो पटक भने चर्चामै छैन, बरु चितवन–३ ले राष्ट्रिय राजनीतिमै ध्यान खिचेको छ । यहाँ रास्वपाकी चर्चित नेतृ सोविता गौतम र भरतपुर महानगरपालिकाकी निवर्तमान मेयर रेनु दाहाल उम्मेदवार छन् । उसो त अघिल्लो पटक पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई हराएर चर्चामा आएका रास्वपाका हरि ढकालको निर्वाचन क्षेत्र–१ पनि यो पटक गुमनामजस्तै छ ।
रास्वपा चितवनकी उपसभापति प्रभा ढकाल चितवन –२ मा उम्मेदवार नै मैदानमा नहुँदा गतिविधि सुस्त भएको स्विकार्छिन् । यद्यपि मतदातासँग आफूहरूको दैनिक भेटघाट भने भइरहेको उनले बताइन् ।
‘चितवन–३ मा उम्मेदवार नै घरदैलो कार्यक्रमा सहभागी हुनुहुन्छ । हाम्रो उम्मेदवार मैदानमा नहुँदा जति चर्चा पाउनुपर्ने पाएको छैन । सायद भोलितिर सभापति यहाँ आउनुहुन्छ होला । उम्मेदवार नभए पनि हामीले मतदातासँग भेटघाट गर्ने तथा पार्टीका प्रशिक्षण काम भइरहेका छन्,’ रातोपाटीसँग उनले भनिन् ।
माघ ५ गते जनकपुरमा आयोजित रास्वपाको उद्घोष सभामा रवि र बालेन सँगै देखिएका थिए । भोलिपल्टै झापा–५ मा उम्मेदवारी दर्ता गरेपछि बालेन यतिबेला पूर्वी नेपाल सकेर सुदूरपश्चिम र कर्णाली क्षेत्रमा चुनावी भ्रमणमा व्यस्त छन्, तर उनी कुनै पनि सार्वजनिक मञ्च तथा चुनावी कार्यक्रममा देखिएका छैनन् ।
बालेनेको राजनीतिक सक्रियता बढेसँगै रवि छायामा परेको चर्चा भइरहँदा उनको सचिवालयले भने सभापति बिरामी भएका एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रविको उपचारार भइरहेको जनाएको छ । जनकपुरको सभामा जाँदा खुट्टामा लागेको चोट ठिक नभएपछि उनलाई माघ १३ गते अस्पताल भर्ना नै गर्नुपरेको सचिवालयले जानकारी दिएको हो । उनलाई ‘सेलुलाइटिस’ भएको अस्पताल प्रशासनले पनि जानकारी दिएको छ । रवि माघ १५ गते अस्पतालबाट डिस्चार्ज भएर अहिले घरमै आराम गरिरहेका छन् ।
सचिवालय सदस्य गणेश पराजुलीले सभापतिको स्वास्थ्य अवस्था सुधार भएको र आजै चितवन जाने तयारी भएको जानकारी गराए ।
२०७९ को निर्वाचनमा रविले कांग्रेस र एमालेका प्रभावशाली नेतालाई फराकिलो मतान्तरले जितेका थिए । रविले ४९ हजार ३०० मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ मत प्राप्त गरेका थिए । यस्तै एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाएका थिए ।
समानुपातिकतर्फ रास्वपाले त्यहाँ ३५ हजार ९४५ मत प्राप्त गरेको छ । एमालेको १६ हजार ७८४, कांग्रेसको १२ हजार १३२, माओवादीको ८ हजार ४०७, राप्रपाको ३ हजार २१८ र एकीकृत समाजवादीले ६१६ मत प्राप्त गरेको छ ।
निर्वाचनलगत्तै रवि प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका थिए । तर नागरिकता प्रकरणमा सर्वोच्च अदालतले त्रुटि रहेको फैसला गरेपछि माघ १३ गते उनको सांसद पद खारेज भएको थियो ।
२०८१ वैशाख १० गते भएको उपनिर्वाचनमा रविले अघिल्लो वर्षको तुलनामा बढी मत ल्याएर विजयी भए । उनले ५४ हजार १७६ मत ल्याए भने एमालेका निकटतम प्रतिद्वन्द्वी जितनारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गरे । अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको कांग्रेस तेस्रो भएको थियो, रामप्रसाद न्यौपानलेले १० हजार ९३६ मत मात्र पाएका थिए । ती दुवै निर्वाचनमा कांग्रेसलाई साविक नेकपा माओवादी केन्द्रले समर्थन गरेको थियो ।
उपनिर्वाचनमा अत्याधिक मतले विजयी भएका रवि प्रचण्ड सरकारमा पुरानै जिम्मेवारी लिएर गए । सरकारमा रहँदा राज्यशक्ति दुरुपयोग गरी महान्यायाधिवक्ता कार्यालयबाट दोहोरो राहदानीसम्बन्धी मुद्दा नचलाउने निर्णय गरेकोमा आलोचित भएका थिए ।
२०८१ असार ३१ गते प्रचण्ड सरकार ढालेर केपी ओली नेतृत्वमा कांग्रेस–एमाले गठबन्धन सरकार बन्यो । र रविविरुद्ध विभिन्न सहकारीका बचत रकम अपचलन गरेको आरोपमा कास्की, काठमाडौँ, चितवन, रुपन्देही र पर्सा जिल्ला अदालतमा मुद्दा चल्यो ।
साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर मुद्दा लगाएका कारण कात्तिक २ गते उनी पक्राउ परे । सम्पत्ति शुद्धीकरण मुद्दाका कारण पुस ८ गते रविको सांसद पद निलम्बनमा परेको थियो ।
रुपन्देही उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेशसँगै चैतको अन्त्यतिर उनी जेल गएका थिए । भदौ २४ गते जेनजी विद्रोहका क्रममा नक्खु कारागारबाट रास्वपाका समर्थनहरूले उनलाई छुटाएका थिए ।
रविकै करण देशभरका कैदीबन्दी छुटेका आरोप लाग्यो । चौतर्फी आलोचना भएपछि उनी फेरि जेल गएका थिए । उच्च अदालत बुटवल इजलासले मागेको धरौटी बुझाएर मंसिरको पहिलो हप्ता छुटेका उनले पुराना दलहरूले आफूलाई राजनीति प्रतिशोधका फसाएकाले आरोप लगाउँदै आएका छन् ।
जेनजी विद्रोहपछि बदलिएको परिस्थितिमा आगामी २१ गते हुने निर्वाचनमा पुराना दलहरूलाई परास्त गर्ने उद्देश्यसहित रवि विवेकशील साझा, जेनजीका विभिन्न समूह, बालेन, थारुवान् तथा थरुहटसँग एकता गरी निर्वाचनमा होमिएका छन् ।
योपटक प्रमुख राजनीतिक दलहरू एक्लाएक्लै निर्वाचनमा होमिएको र रविमाथि मुद्दैमुद्दाको झमेला आइलागेको अवस्थामा हुन लागेकाले चितवन–२ लाई विशेष चासोसाथ हेरिएको छ । चुनावी मैदानमा एमालेले यसपटक नयाँ अनुहार अस्मिता घिमिरेलाई उम्मेदवार बनाएको छ । कांग्रेसले पनि नयाँ अनुहार मिना कुमारी खरेललाई चुनावी मैदानमा उतारेको छ ।
नेपाली कम्युनिस्ट पार्टीले प्रताव गुरुङ र राप्रपाले जगदिश अधिकारीलाई उठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थप वार्ताका लागि तेहरान पुगे पाकिस्तानी गृहमन्त्री
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
-
तीन महिनामा दोस्रो पटक भारतमा घरेलु एलपीजी ग्यासको मूल्यवृद्धि
-
मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा
-
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
-
यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि अभिनेत्री शिल्पा शिन्दे विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण