‘नेपालीले आवश्यकताभन्दा तीन गुणा बढी नुन खाइरहेका छन्’
सारांश
- सरकारले 'आयोडिन महिना' मनाइरहँदा जनस्वास्थ्यविद्हरूले नुनको प्रयोग र बालबालिकाको खानपानमा ध्यान दिन आग्रह गरे।
- वरिष्ठ खाद्यविज्ञ डा. अरुणा उप्रेतीले बालबालिकालाई प्याकेटका खानेकुरा 'विष' सरह भएको र मिर्गौलामा समस्या आउन सक्ने बताइन्।
- राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नुनको आपूर्ति प्रणालीमा निजी क्षेत्रको प्रवेशले कालोबजारी निम्त्याउने चेतावनी दिए।
काठमाडौँ । सरकारले फेब्रुअरी महिनालाई ‘आयोडिन महिना’ का रूपमा मनाइरहँदा जनस्वास्थ्यविद् र उपभोक्ता अधिकारकर्मीहरूले नुनको प्रयोग र बालबालिकाको खानपान शैलीमा गम्भीर बन्नुपर्ने चेतावनी दिएका छन् । राष्ट्रिय उपभोक्ता मञ्चद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा बोल्दै वक्ताहरूले आयोडिनको कमीले हुने रोगहरू नियन्त्रणमा आए पनि नुनको अत्यधिक प्रयोग र पत्रु खाना (जंक फुड) का कारण नयाँ स्वास्थ्य समस्याहरू थपिएको बताएका छन् ।
कार्यक्रममा वरिष्ठ खाद्यविज्ञ डा. अरुणा उप्रेतीले बालबालिकालाई माया गरेर दिइने चाउचाउ, बिस्कुटजस्ता प्याकेटका खानेकुरा उनीहरूका लागि ‘विष’ सरह हुने कडा टिप्पणी गरिन् । ‘तपाईंहरू आफ्ना नानीबाबुलाई माया गरेर प्याकेटका खानेकुरा दिनुहुन्छ भने विश्वास गर्नुस्, त्यो माया होइन, ‘शराब’ दिएसरह हो,’ डा. उप्रेतीले भनिन्, ‘रक्सी र चुरोटजस्तै पत्रु खाना पनि बालबालिकालाई दिनु हुँदैन । उनीहरूको सानो मिर्गौलाले यस्ता खानेकुरामा हुने अत्यधिक नुन थेग्न सक्दैन, जसले भविष्यमा उच्च रक्तचाप र मिर्गौलाको समस्या निम्त्याउँछ ।’
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार एक व्यक्तिले दिनमा ५ ग्राम (एक चम्चा) मात्र नुन खानुपर्ने हुन्छ । तर, नेपालीहरूले दाल–तरकारीबाहेक तयारी खानेकुराबाट थाहै नपाइ दोब्बरदेखि तेब्बरसम्म नुन खाइरहेको डा. उप्रेतीले औँल्याएकी छन् ।
उप्रेती भन्छिन्, ‘नुन स्वादका लागि अपरिहार्य छ, शरीरलाई आयोडिन पनि चाहिन्छ । तर मात्रा मिलाउन नसके यो विष बन्छ । अहिले चाउचाउ नेपालीको राष्ट्रिय खाजाजस्तै भएको छ, जसमा प्याकेटमा लेखिएभन्दा धेरै गुणा बढी सोडियम पाइन्छ ।’ उनले महँगो ‘हिमालयन साल्ट’ वा ‘एक्जोटिक साल्ट’ को भ्रममा नपरी साधारण नुन नै ठिक्क मात्रामा खानु स्वास्थ्यवर्धक हुने सुझाव दिइन् ।
कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नुनको आपूर्ति प्रणालीमा निजी क्षेत्रको प्रवेशले कालोबजारी र गुणस्तरहीनता निम्त्याउने भन्दै सचेत गराए । उनले विगतमा १०० ग्राम नुनलाई आकर्षक प्याकेटमा राखेर ३५० रुपैयाँसम्म असुलिएको उदाहरण दिँदै हाल साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत भइरहेको वितरण प्रणाली नै उपभोक्ताको हितमा रहेको जिकिर गरे ।
अध्यक्ष महर्जनले भने, ‘सर्वोच्च अदालतको अन्तरिम आदेशले निजी क्षेत्रको चलखेल रोकेको छ । अहिले बजारमा ‘आयोडिनयुक्त नुन खानु हुँदैन’ भन्ने जुन भ्रम फैलाइएको छ, त्यसको पछि नलागौँ । समस्या नुनको गुणस्तरमा होइन, हाम्रो खाने बानीमा छ ।’ साथै आयोडिन महिनाको अवसरमा मञ्चले नुनको प्रयोग पनि ‘न धेरै, न कम’ गर्न र बालबालिकालाई घरकै ताजा खानेकुरा खुवाउन सबैमा अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण