बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
ब्याटलग्राउन्ड : मोरङ–६

शेखरलाई घण्टी नै हुन सक्छ भारी !

मङ्गलबार, २० माघ २०८२, ०७ : २७
मङ्गलबार, २० माघ २०८२

सारांश

  • विराटनगरका विपन्न बस्तीहरूमा डा. शेखर कोइरालाको चुनावी अभियानप्रति स्थानीयको असन्तुष्टि देखिएको छ।
  • स्थानीय युवाहरू रोजगारीको अभाव र नेताहरूको आश्वासनप्रति निराश छन्, र नयाँ पार्टीप्रति आकर्षित भएका छन्।
  • स्थानीय मतदाताहरूले लालपुर्जा, डुबान र रोजगारीका समस्या समाधानको माग गरेका छन्।
00:00 / NaN:NaN
Audio By AI

विराटनगर । विराटनगर कोशी प्रदेशको राजधानी हो । यही विराटनगरको मुख्य बजार, चोक र गल्लीहरू शहरजस्तो लाग्ला, तर त्यही विराटनगरका विपन्न बस्तीहरूको अवस्था दयनीय छ । 

विराटनगर महानगरपालिकाका–४ र १२ का दलित तथा पिछडिएका बस्तीहरूको दृश्यले प्रदेश राजधानीलाई नै गिज्याइरहेको छ । धुलाम्य सडक, लथालिङ्ग ढल, बस्तीको बिचमै बाँधिएका गाईवस्तु र जताततै थुपारिएका गुइँठाहरू, यो मोरङ क्षेत्र नम्बर ६ को अनुहार पनि हो । यो क्षेत्र कांग्रेस नेता डाक्टर शेखर कोइरालाको क्षेत्र हो, विराटनगर नेपाली कांग्रेसको उद्गम थलो पनि हो ।

20260202_144443.jpg

यहाँका मतदाता यसपटक विद्रोह बोल्ने तयारीमा छन्, मतपत्रमार्फत । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको माहोलले हल्काफुल्का यी गरिब बस्तीहरूमा छुँदै छ । यस पटक पनि यो क्षेत्रबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री बन्ने आकांक्षासहित प्रचार गरिरहेका छन् । कोइरालाको सचिवालयले एउटा चुनावी पोस्टर सार्वजनिक गरेको छ, जसमा उनको तस्बिरसँगै लेखिएको छ, ‘मेरो नेतृत्वमा स्थिर सरकार, युवा अवसर र जनताको विश्वास फिर्ता ल्याउँछु ।’ तर यो पोस्टरले विराटनगरका भित्री बस्तीमा आशा छर्न सकेको छैन ।

20260202_145649.jpg

कांग्रेसले प्रधानमन्त्रीको भावी उम्मेदवारका रूपमा भने पार्टी सभापति गगन थापालाई अगाडि सारेको छ । तर यहाँका जनतालाई गगन थापा हुन् या डा. कोइरालाप्रति कुनै रुचि देखिएको पाइएन । पार्टीभित्रको आन्तरिक दाउपेचबिच उनले मोरङका मतदातासामु प्रधानमन्त्रीको कार्ड फ्याँकेका छन् । तर, के यो कार्डले बस्तीका मतदाताको मन जित्न सक्ला ? प्रश्न गम्भीर छ ।

विराटनगर–४, इक्राहीकी काजल गडेरीले भर्खरै स्नातक (ब्याचलर) तहको पढाइ सकेकी छन् । उनको बस्तीमा कोइरालाको युवा अवसर लेखिएको पोस्टरले कुनै आशा जगाएको छैन । काजल भन्छिन्, ‘म स्नातक सकेर बसेकी छु, तर यहाँ कुनै काम छैन । कतै काम खोज्न गयो भने ५ हजार भन्छन्, बढीमा ७ हजार । त्योभन्दा बढी त मैले कलेजमा महिनाको फी तिरेकी छु । ५–७ हजारमा काम गर्नुभन्दा त घरमै भात खाएर बस्नु ठीक छ ।’

20260202_151653.jpg

काजलका अनुसार नेताहरूले शिक्षा र रोजगारीको ठुला कुरा गरे पनि स्थानीयस्तरमा शिक्षित युवाहरूका लागि कुनै अवसर छैन । ‘हामीले पढेर के पायौँ ? नेताहरूका छोराछोरी महलमा बस्छन्, राम्रो स्कुल पढ्छन्, तर हाम्रा लागि न जागिर छ, न सम्मान । अब त यस्तो मान्छेलाई भोट दिने मनै छैन,’ उनले आक्रोश पोखिन् ।

इक्राहीकै ७० वर्षका फनकलाल पालको पीडा झनै कारुणिक छ । उनले निकै दुःख गरेर छोरालाई सिभिल इन्जिनियर बनाए । तर इन्जिनियर छोराको हातमा अहिले नक्सा र उपकरण होइन, ट्रयाक्टरको स्टेरिङ छ । केसरलाल भन्छन्, ‘छोरालाई सिभिल इन्जिनियर पढाएँ । सोचेको थिएँ, अब दिन फेरिन्छन् । तर, इन्जिनियर पढेको मान्छेले जागिर पाउँदैन । अहिले यही बस्तीमा ट्रयाक्टर चलाएर जीविकोपार्जन गरिरहेको छ ।’ उनको स्वरमा निराशा प्रस्ट सुनिन्छ । ‘हाम्रो पढेको छोराले ट्रयाक्टर चलाउनुपर्ने, नेताका मान्छेले सित्तैमा खाने ? पढेको मान्छेको यहाँ के भ्यालु छ ? यो देशमा पढाइको मूल्य छैन,’ उनले भने । पिच सडककै आसपासमा घर रहेको उनलाई सडक भएर मात्रै भएन, रोजगारी पाउनेपर्नेमा जोड दिन्छन् । ‘हामीलाई रोड भएर हुँदैन । यसले खान दिन्छ र ? खानका लागि त रोजगारी चाहियो नि त,’ उनले भने, ‘हामी मान्छे त हौं तर, मान्छेको भ्यालु छैन । जागिर छैन, काम छैन, युवाहरू नशा खान्छन्, लुटपाट गर्छन् अनि जेल पर्छन् । यो सब रोजगारी नभएर भएको हो । पढेलेखेका मान्छे घरमै बसेपछि के गर्छन् त ?’

विराटनगर–४ कै ७६ वर्षीय एक वृद्ध जो आफ्नो नाम बताउन चाहँदैनन्, उनी वर्षौँदेखि नेपाली कांग्रेसलाई नजिकबाट हेर्दै आएका छन् । कांग्रेसका क्रियाशील सदस्य पनि हुन् । तर यसपटक उनी कांग्रेसलाई भोट नहाल्ने बताउँछन् ।

नाम नछाप्ने सर्तमा उनी भन्छन्, ‘मैले बुढो भइन्जेल कांग्रेसलाई भोट हालें । शेखर कोइरालालाई पनि जिताएकै हो । तर जितेपछि उनी बस्तीमा फर्केर आउँदैनन् । एउटा बुढो मान्छेले आफ्नो नेतालाई भेट्न पनि नपाउने ? अहिले प्रधानमन्त्री बन्छु भन्दै हिँडेका छन्, जितेपछि त झन् कसरी भेट्लान् ?’ उनका अनुसार बस्तीका युवा अहिले कांग्रेस वा एमालेभन्दा पनि नयाँ पार्टीतिरै आकर्षित छन् ।

20260202_152816.jpg

विराटनगर–१२, मलाहनुवाकी लाखु राजवंशी र पदमलाल राजवंशीको बस्तीमा पनि चर्चाको विषय नयाँ र मत परिवर्तन गर्ने विषयमा नै हुन्छ । लाखु भन्छिन्, ‘अहिलेसम्म कोही आएको छैन बाबु । वरिपरि त सबैजना भन्छन् यसपालि घण्टी छापमा दिने । हामीले धेरैलाई जितायौँ । हाम्रो बस्तीको बाटो र ढल कहिल्यै बनेन, अब त नयाँलाई नै हेर्ने हो ।’

यो क्षेत्रमा कोइराला अपराजित विरासत जोगाउने दाउमा छन् । २०७९ को निर्वाचनमा उनले एमालेका लालबाबु पण्डितलाई १२ हजारभन्दा बढी मतले पराजित गरेका थिए, तर यसपटक एमालेले विनोद ढकाललाई चुनावी मैदानमा उतारेको छ । ढकाल १७ वर्षअघिको हारको बदला लिने रणनीतिमा छन् । ढकाललाई डा.कोइरालाले २०६५ सालको उपनिर्वाचनमा पराजित गरेका थिए । यद्यपि यी दुवैलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रुबिना आचार्यले ठुलो चुनौती पेस गरेकी छन् ।

20260202_152831.jpg

२०७९ सालको निर्वाचनमा समानुपातिकतर्फ यहाँ कांग्रेसले २३ हजार ७१०, एमालेले १९ हजार ३८९, रास्वपाले ११ हजार ५२६, राप्रपाले १० हजार ६४१ र तत्कालीन नेकपा माओवादी केन्द्रले ८ हजार १८५ मत ल्याएको थियो ।

२०७९ मा रास्वपाले यहाँ प्रत्यक्षतर्फ ९ हजार बढी मत ल्याएको थियो । यसपटक रास्वपालाई उक्त मत बढ्ने अनुमान छ । सुकुमबासी र दलित बस्तीमा नयाँको लहरले डा. कोइरालाको प्रधानमन्त्रीको सपनालाई धक्का दिन सक्ने देखिन्छ ।

बस्तीमा पुग्दा सुनिने एउटै स्वर छ, ‘आश्वासनले पेट भरिँदैन ।’

20260202_152941.jpg

डा. कोइरालाले पोस्टरमा ‘जनताको विश्वास फिर्ता ल्याउँछु’ भने पनि मतदाताको विश्वास भने गुम्दै गएको देखिन्छ । वडा नम्बर ४ र १२ का सुकुमबासीहरूले लालपुर्जाको समस्यादेखि डुबानको समस्यासम्म भोगिरहेका छन् ।

विराटनगरका यी बस्तीहरूमा मतदाताहरूले उठाएका मुख्य एजेन्डा भनेको रोजगारी पाउनुपर्ने हो । निर्वाचन जितेपछि नियमित नेताहरू आउनुपर्छ र भेटघाट गर्नुपर्छ भन्ने पनि माग गरेका छन् । यस्तै वर्षामा हुने डुबानबाट मुक्ति पाउनुपर्ने, केशलिया खोलामा तटबन्धन हुनुपर्ने यहाँका समुदायको माग छ ।

विराटनगर–१२ का तिलक ढकाल पनि यस पटक मत परिवर्तन गर्ने बताउँछन् ।

यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा कांग्रेस कोइराला, एमालेका ढकाल, रास्वपाकी आचार्य र नेकपाका ओपेन्द्र रायबित मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । मोरङ–६ को राजनीतिक इतिहास स्थिर छैन । २०४८ यताका आठ वटा निर्वाचनमा सात पटक यहाँका मतदाताले नयाँ अनुहार चुनेका छन् ।

Kajal Gaderi Basti (1)Kajal Gaderi Basti (3)Kajal Gaderi Basti (5)

  • यस्तो छ मतदाताको अवस्था

मोरङ क्षेत्र नम्बर ६ मा १ लाख ३७ हजार ८३२ मतदाता छन् । निर्वाचन आयोगको विवरणअनुसार यस क्षेत्रमा पुरुष मतदाताको संख्या महिलाको तुलनामा केही बढी छ । कुल मतदातामध्ये ७० हजार ६१७ पुरुष, ६७ हजार २१४ महिला र अन्यमा १ जना मतदाता छन् । निर्वाचनका लागि ३९ वटा मतदानस्थल र १४९ वटा मतदान केन्द्र तोकिएका छन् ।

मोरङ ६ मा विराटनगर महानगरपालिकाका ७ वटा वडा (४, ५, ६, ७, ९, ११ र १२), बुढीगंगा गाउँपालिकाका १ देखि ७ वडा र सुन्दरहरैंचा नगरपालिकाका २ देखि ७ नम्बर वडाहरू समेटिएका छन् । मतदाताको हिसाबले विराटनगर महानगरपालिकाका वडाहरू निर्णायक हुन् । विशेषगरी वडा नम्बर ४ मा १२ हजार ६३० र वडा नम्बर ६ मा १२ हजार ८११ मतदाता छन् । बुढीगंगा गाउँपालिकामा ३२ हजार ३६९ मतदाताले मतदान गर्नेछन् । सुन्दरहरैंचा नगरपालिकाको यो क्षेत्रमा पर्ने वडाहरूमा ३९ हजार ८९० मतदाता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप