गगनले छोडेको काठमाडौँ–४ मा त्रिपक्षीय भिडन्त पक्का, कसले मार्ला बाजी ?
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै देशभरि चुनाव केन्द्रित गतिविधि बढेको छ । यसमध्ये पनि सधैँ चर्चामा रहने निर्वाचन क्षेत्र काठमाडौँ–४ हो ।
यो क्षेत्र बौद्धिक वर्ग, मध्यम वर्गीय कर्मचारी, व्यवसायीहरूको बाक्लो बसोबास भएको क्षेत्र मानिन्छ । नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले यस क्षेत्रलाई आफ्नो बलियो आधारभूमि बनाएर राष्ट्रिय उचाइ हासिल गरेका थिए, तर यस पटक उनले यो क्षेत्र छोडेर सर्लाही–४ रोजेका छन् । गगनले आफ्नो उत्तराधिकारीका रूपमा युवा नेता सचिन तिमल्सिनालाई काठमाडौँ–४ मा अगाडि सार्दा यहाँको निर्वाचनलाई झन् रोचक बनाएको छ ।
- गगनको उत्तराधिकारीलाई भारी चुनौती
नेपाली कांग्रेसका लागि काठमाडौँ–४ मा यस पटक आफ्नो ‘गढ’ जोगाउन ठुलो चुनौती छ । गगन थापाले २०७९ को निर्वाचनमा २१ हजार ३०२ मत प्राप्त गरी जित हासिल गर्दा उनलाई तत्कालीन वाम–लोकतान्त्रिक गठबन्धनको बलियो साथ थियो । अहिले परिस्थिति बदलिएको छ । गगनका ‘निकट’ मानिने सचिन तिमल्सिनाले यो निर्वाचन क्षेत्रमा कांग्रेसको बिरासत थाम्नुपर्ने जिम्मेवारी पाएका छन् ।
सचिनका लागि सबैभन्दा ठुलो चुनौती भनेकै गगन थापाको व्यक्तित्वसँग आफ्नो तुलना हुनु हो । मतदाताहरूले गगनको विकल्पमा सचिनलाई कत्तिको स्वीकार गर्छन् भन्ने कुराले नै कांग्रेसको भविष्य तय गर्नेछ । गगन थापाले स्वास्थ्यमन्त्री हुँदा गरेका काम र उनको राष्ट्रिय छविले गर्दा पाएको मतलाई सचिनले आफ्नो पक्षमा कति पार्न सक्छन् भन्ने कुरा अहिल्यै भन्न कठिन छ । यद्यपि कांग्रेसको संगठन र गगनले बनाएको संरचना सचिनका लागि केही सहज हुन सक्छ, तर विपक्षीहरूको घेराबन्दी भने निकै कसिलो छ ।
काठमाडौँ–४ मा गगन थापाको प्रत्यक्ष उपस्थितिको अभावले कांग्रेस रक्षात्मक बनेको छ भने राजन भट्टराईको सांगठनिक शक्ति र पुकार बमको ‘नयाँ लहर’ बिच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ ।
- पुनरागमनका लागि राजन भट्टराईको प्रयास
नेकपा एमालेका सचिव राजन भट्टराई यस क्षेत्रमा बौद्धिक नेताका रूपमा चिनिन्छन् । २०७९ को निर्वाचनमा १३ हजार ८५५ मत प्राप्त गरेर दोस्रो भएका भट्टराईका लागि यो प्रतिस्पर्धा हो । यसअघिका निर्वाचनमा गगन थापाको ‘मास अपिल’ का अगाडि पराजित भएका भट्टराईका लागि यस पटक गगनको अनुपस्थिति सबैभन्दा ठुलो अवसर बनेको छ ।
यो क्षेत्रमा एमालेको निकै चुस्त र अनुशासित सांगठनिक सञ्जाल छ । भट्टराईले विगतका हारबाट पाठ सिक्दै यस पटक घरदैलोलाई तीव्र पारेका छन् । उनको मुख्य दाबी भनेकै गगन थापाले केन्द्रमा ठुला कुरा गरे पनि स्थानीय विकासमा ध्यान दिएनन् भन्ने नै हो । एमालेको ‘ठोस’ मत र विपक्षीहरूको मत विभाजन नै भट्टराईको जितको मुख्य आधार बन्न सक्छ, तर उनलाई नयाँ उदाउँदो शक्ति ‘रास्वपा’ ले कति मत काट्छ भन्ने डर कायमै छ ।
- पुकार बमको इन्ट्रीले त्रिपक्षीय भिडन्त पक्का
२०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार नभए पनि समानुपातिकतर्फ यो क्षेत्रमा ९ हजार ४१२ मत ल्याएर तेस्रो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यस पटक निकै आक्रामक रूपमा प्रस्तुत भएको छ । यस क्षेत्रबाट रास्वपाले पुकार बमलाई उम्मेदवार बनाएको छ, जो विवेकशील अभियानदेखि नै सामाजिक–राजनीतिक चेतनामा सक्रिय युवा हुन् ।
पुकार बमको व्यक्तित्वले विशेष गरी युवा मतदाता र परम्परागत दलहरूबाट आजित भएका सचेत नागरिकहरूलाई आकर्षित गरेको छ । अघिल्लो निर्वाचनमा रास्वपाले पाएको करिब १० हजार समानुपातिक मतलाई आधार मान्दा र अहिलेको जनलहरलाई हेर्दा पुकार बम मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । उनले उठाएका भ्रष्टाचार विरोधी र सुशासनका मुद्दाहरू यस क्षेत्रका मतदाताको मनोविज्ञानसँग मेल खान्छन् ।
यदि कांग्रेस र एमालेका असन्तुष्ट मतहरू पुकार बमको पक्षमा ध्रुवीकृत भएमा यस पटक काठमाडौँ–४ मा रास्वपाले बाजी नमार्ला भन्न सकिँदैन ।
- २०७९ को नतिजाले के देखाउँछ
२०७९ को प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको परिणामलाई हेर्दा मुख्य ५ उम्मेदवारमध्ये गगन कुमार थापा (नेपाली कांग्रेस) २१ हजार ३०२ मतसहित निर्वाचित भएका थिए । दोस्रो स्थानमा रहेका राजन भट्टराई (नेकपा एमाले)ले १३ हजार ८५५ मत पाउँदा तेस्रो स्थानमा रहेका डा. ठाकुरमोहन श्रेष्ठ (राप्रपा)ले ४ हजार ५० मत पाएका थिए ।
यस्तै चौथो स्थानमा अर्जुन कुमार प्रसाईँ (स्वतन्त्र)ले २ हजार ३०८ र पाँचौँ स्थानमा अर्चन शमशेर राणा (हाम्रो नेपाली पार्टी)ले १ हजार २१४ मत पाएका थिए ।
उक्त निर्वाचनमा गगन थापा र राजन भट्टराईबिच ७ हजार ४४७ मतको अन्तर थियो । तर यो अन्तरमा माओवादी केन्द्र र एकीकृत समाजवादीको मत पनि कांग्रेसको मतमा जोडिएको थियो । अहिले ती दलहरूले छुट्टै उम्मेदवार उठाउँदा कांग्रेसको यो अग्रता सुरक्षित छैन । साथै स्वतन्त्र र साना दलले ल्याएको करिब ४ हजार मत यस पटक कता जान्छ भन्ने कुराले पनि निर्णायक भूमिका खेल्नेछ ।
समानुपातिक तर्फको मत परिणामले दलहरूको वास्तविक सांगठनिक आधारलाई प्रस्ट पार्छ । २०७९ मा यस क्षेत्रमा ५ मुख्य दलको समानुपातिक मतमा पनि सबैभन्दा धेरै नेपाली कांग्रेसको ११ हजार ८०८ थियो भने दोस्रोमा नेकपा एमालेको १० हजार ५६० मत थियो ।
यस्तै तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ हजार ४१२, चौथोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ हजार ८८१, नेकपा एकीकृत समाजवादी १,७१३ मत र नेकपा माओवादी केन्द्रले १ हजार ५६४ मत पाएको थियो ।
प्रत्यक्षमा २१ हजार मत ल्याएको कांग्रेसको वास्तविक मत यो क्षेत्रमा ११ हजारमात्र देखिन्छ भने एमालेको १० हजार ५ सय । यसको अर्थ कांग्रेस र एमालेबिच केवल १,२४८ मतको अन्तर छ । यहाँ रास्वपाको समानुपातिक मत पनि एमाले र कांग्रेसको भन्दा धेरै कम छैन । यसले काठमाडौँ–४ मा अब ‘दुई दलीय’ प्रतिस्पर्धा रहेन । यो पूर्णतः ‘त्रिकोपक्षीय’ भिडन्तमा परिणत भएको छ ।
- नेकपाका उम्मेदवारको प्रभाव कति ?
यस पटकको निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलले एकता गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ गठन गरेका छन् । नेकपाले इन्द्र कुमार भुसाललाई उम्मेदवार बनाएको छ । २०७९ को निर्वाचनमा यी दुई दलले कांग्रेसलाई सघाएका थिए । अहिले भुसाल मैदानमा हुँदा कांग्रेसको प्रत्यक्ष मतमा अघिल्लो निर्वाचनको तुलनामा केही गिरावट आउने देखिन्छ ।
भुसालले कम्युनिस्ट मतदातालाई कत्तिको एक ढिक्का राख्न सक्छन् भन्ने कुराले राजन भट्टराईको जित वा हारलाई पनि प्रभावित गर्नेछ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुरेन्द्रराज भण्डारीले पनि यस क्षेत्रमा राम्रो पकड बनाएका छन् । २०७९ मा राप्रपाले ६ हजार ८८१ समानुपातिक मत पाउनुले यो क्षेत्रमा राष्ट्रवादी मतको पनि ठुलो हिस्सा देखाउँछ । अघिल्लो निर्वाचनको अंक गणितको आधारमा स्वतन्त्र उम्मेदवारहरूको कुल मत ५ हजारको हाराहारीमा पुग्न सक्छ, जुन जित र हारको मुख्य निर्णायक अंक बन्न सक्छ ।
- स्थानीयको आक्रोश– भोटमात्रै माग्न आए, काम गर्ने बेला आएनन्
काठमाडौँ–४ का मतदाताले यस क्षेत्रको मुख्य मुद्दा भनेकै विकास र पूर्वाधारको दुरावस्था रहेको जनाएका छन् । स्थानीय कुमार देवकोटाका अनुसार बस्तीमा खोला पस्ने समस्या, ढलको अभाव र हिलाम्मे सडक यस क्षेत्रका साझा समस्या हुन् ।
विशेषगरी बुढानीलकण्ठ र कपन क्षेत्रका बासिन्दा वर्षौंदेखि बाढी र हिलोको सास्ती भोग्न बाध्य छन् । स्थानीय सरिता खत्रीका अनुसार दुई वर्षदेखि सडक अलपत्र अवस्थामा हुनु र नेताहरूले आश्वासनमात्र दिनुले जनतामा चरम आक्रोश छ ।
गगन थापाले केन्द्रमा ठुलो प्रभाव जमाए पनि आफ्नो निर्वाचन क्षेत्रको यो आधारभूत समस्या समाधान गर्न नसकेको आरोप धेरैले लगाएका छन् । मतदाताहरूको यो आक्रोशले यस पटक ‘स्थापित’ नेताहरूलाई भन्दा ‘नयाँ’ र ‘काम गर्ने’ प्रतिबद्धता बोकेका उम्मेदवारलाई फाइदा पुर्याउन सक्छ ।
स्थानीय निशान दाहाल पनि नेताहरूको कार्यशैलीप्रति निकै रुष्ट छन् । ‘नेताहरू चुनावका बेलामात्र आउँछन्, अरू बेला फर्केर हेर्दैनन्’ भन्ने भाष्य यहाँका टोलहरूमा स्थापित भएको छ । गगन थापाले स्वास्थ्यमा गरेका केही राम्रा कामको प्रशंसा भए पनि समग्रमा ‘पुराना दल’ प्रतिको मोहभङ्ग भएको अवस्था छ ।
स्थानीय बिन्दा श्रेष्ठले भनिन्, ‘अहिले जो आए पनि विकास र रोजगारीको ग्यारेन्टी गर्ने मान्छे चाहियो ।’ उनले युवाहरूलाई देशमै केही गर्ने अवसर नभएको र राजनीति केवल सत्ताको खेलमात्र देखिएको बताइन् ।
काठमाडौँ क्षेत्र नम्बर ४ को निर्वाचन यस पटक निकै रोमाञ्चक हुने देखिएको छ । गगन थापाको प्रत्यक्ष उपस्थितिको अभावले कांग्रेस रक्षात्मक बनेको छ भने राजन भट्टराईको सांगठनिक शक्ति र पुकार बमको ‘नयाँ लहर’ बिच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय विकासका समस्या, युवाहरूको असन्तुष्टि र फेरिएको राजनीतिक समीकरणलाई यस पटक यहाँका मतदाताले केलाइरहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण