बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड यू–१९ विश्वकपको फाइनलमा

बुधबार, २१ माघ २०८२, १० : ०३
बुधबार, २१ माघ २०८२

सारांश

  • इंग्ल्याण्ड यू-१९ विश्वकपको फाइनलमा पुगेको छ, अस्ट्रेलियालाई २७ रनले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो।
  • इंग्ल्याण्डका कप्तान थोमस रयूले ११० रनको उत्कृष्ट शतक बनाए, जसले टोलीलाई जित दिलाउन मद्दत गर्यो।
  • अस्ट्रेलियाका कप्तान ओलिभर पिकले १०० रन बनाए तापनि, अस्ट्रेलिया २५० रनमा समेटियो र इंग्ल्याण्ड विजयी भयो।

बुलवायो । इंग्ल्याण्ड तेस्रो पटक यू–१९ विश्वकपको फाइनलमा पुग्न सफल भएको छ। जिम्बाब्वेको बुलवायोमा मंगलबार खेलिएको पहिलो सेमिफाइनलमा साबिक विजेता अस्ट्रेलियालाई २७ रनले स्तब्ध पार्दै इंग्ल्याण्डले फाइनलको यात्रा तय गरेको हो। 

इङ्लिस कप्तान थोमस रयूको उत्कृष्ट शतकको मद्दतले टोलीले उपाधि भिडन्त पक्का गर्‍यो। टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७७ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। 

कप्तान थोमस रयूले ११० रनको कप्तानी पारी खेल्दै टोलीको इनिङ सम्हाले। उनले ३९औँ ओभरमा एक रन लिँदै आफ्नो शतक पूरा गरेका थिए। उनको पारीमा १४ चौका र एक छक्का सामेल थियो। 

उनलाई क्यालिब फाल्कनरले ५३ बलमा ४० रन बनाएर बलियो साथ दिए। यी दुईबिच चौथो विकेटका लागि १३५ रनको महत्वपूर्ण साझेदारी भएको थियो। अस्ट्रेलियाका लागि हेडन सिलर र नादेन कुरेले समान २–२ विकेट लिए।

२ सय ७७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४७.३ ओभरमा २५० रनमा समेटियो। अस्ट्रेलियाली कप्तान ओलिभर पिकले ८८ बलमा १०० रनको संघर्षपूर्ण शतकीय पारी खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। पारीको अन्त्यतिर उनी खुट्टाको समस्यासँग जुध्दै ब्याटिङ गरिरहेका देखिएका थिए। 

ओपनर नितेश स्यामुअलले ४७ रन र आर्यन शर्माले ३४ रन जोडे पनि अन्य ब्याटर इङ्लिस बलरसामु टिक्न सकेनन्। इंग्ल्याण्डका सेबेस्टियन मोर्गन, जेम्स मिन्टो, म्यानी लम्सडन र राल्फिन अल्बर्टले २–२ विकेट लिए।

इंग्ल्याण्ड यसअघि सन् १९९८ मा च्याम्पियन बनेको थियो भने २०२२ मा उपविजेतामा सीमित भएको थियो। अब इंग्ल्याण्डले फाइनलमा भारत र अफगानिस्तानबिच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनल बुधबार हरारेमा हुँदैछ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप