बेंगलुरु दोस्रोपटक च्याम्पियन, अभागी दिल्लीको लगातार चौथो हार
सारांश
- रोयल च्यालेन्जर्स बेंगलुरुले दिल्ली क्यापिटल्सलाई पराजित गर्दै महिला प्रिमियर लिग (डब्लूपीएल) को उपाधि जित्यो।
- बेंगलुरुले २०४ रनको लक्ष्य पछ्याउँदै ६ विकेटले जित हासिल गर्यो, जुन डब्लूपीएल फाइनलको इतिहासकै सबैभन्दा ठूलो रन चेज हो।
- स्मृति मन्धाना र जर्जिया वोलको उत्कृष्ट प्रदर्शन तथा राधा यादवको अनौठो घटनाले बेंगलुरुको जित सुनिश्चित गर्यो।
वडोदरा । रोयल च्यालेन्जर्स बेंगलुरुले दोस्रो पटक महिला प्रिमियर लिग (डब्लूपीएल) को उपाधि जितेको छ। वडोदराको कोटाम्बी स्टेडियममा बिहीबार भएको फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै बेंगलुरुले ट्रफी उचालेको हो।
सन् २०२४ मा पहिलो पटक च्याम्पियन बनेको बेंगलुरुले यो दोस्रो सफलता हात पार्दा दिल्लीले भने लगातार चौथो पटक फाइनलमा हारको सामना गर्यो।
दिल्लीले प्रस्तुत गरेको २०४ रनको विशाल लक्ष्यलाई बेंगलुरुले २ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्यो। यो डब्लूपीएल फाइनल इतिहासकै सबैभन्दा ठूलो रन चेज हो।
बेंगलुरुको जितमा कप्तान स्मृति मन्धाना र जर्जिया वोलले उत्कृष्ट प्रदर्शन गरे। मन्धानाले ८७ रनको विस्फोटक पारी खेलिन् भने वोलले ७९ रन बनाइन्। यी दुईबिच ९२ बलमा १६५ रनको निर्णायक साझेदारी भएको थियो।
बेंगलुरुलाई जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक थियो। राधा यादव र नदीन डी क्लर्कले सुरुवाती दुई बलमा दुई सिंगल लिए। तेस्रो बलमा राधाले चौका प्रहार गरिन्। चौथो बलमा भने एउटा अनौठो दृश्य देखियो; राधाको ब्याट स्टम्पमा ठोक्किएर बल बाउन्ड्री बाहिर पुग्यो, तर बेल्स नझरेका कारण उनी आउट भइनन् र बेंगलुरुले ऐतिहासिक जित पक्का गर्यो।
दिल्लीको विशाल योगफल खेर गयो
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले डब्लूपीएल फाइनलकै सबैभन्दा उच्च स्कोर खडा गरेको थियो। कप्तान जेमिमा रोड्रिग्सले ३७ बलमा ८ चौकाको मद्दतले ५७ रनको अर्धशतकीय पारी खेलिन्।
त्यस्तै लौरा वोल्वार्टले ४४, शिनेल हेनरीले अविजित ३५, लिजेल लीले ३७ र शेफाली वर्माले २० रन जोडेका थिए। तर, बलरहरूले यो विशाल योगफल जोगाउन सकेनन्।
उपाधि विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले ६ करोड भारु पुरस्कार प्राप्त गर्यो भने उपविजेता दिल्ली क्यापिटल्सले ३ करोड भारुमा चित्त बुझायो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी सोफी डिवाइन 'प्लेयर अफ द टूर्नामेन्ट' घोषित भइन्। उनले ५ लाख भारु पुरस्कार पाइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन पुरस्कारका लागि १० कृतिको सूची सार्वजनिक
-
विश्वकप फुटबलकाे फाइनल खेल चलिरहेका बेला किन गयो बत्ती ?
-
बागमती एमाले दलको बैठक काठमाडौँमा, समर्थन फिर्ताबारे निर्णय गर्ने
-
पुँजी बजार, धितोपत्र तथा बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्रीले छलफल गर्ने
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण