‘उपनिर्वाचनमा सबै दल मिलेर मलाई हराएकै हो, अहिले पनि मसँगै लड्दैछन्’
सारांश
- शिवचन्द्र कुशवाहा आगामी निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बारा क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका छन्।
- कुशवाहाले सामाजिक न्याय, सुशासन र कृषिका लागि विद्युत जस्ता एजेन्डा लिएर चुनाव लड्ने बताए।
- उनले पुरानो पार्टी माओवादी र अन्य दलहरूसँगको असन्तुष्टि र वैकल्पिक शक्तिको आवश्यकतालाई जोड दिए।
बारा । संविधासभा सदस्य समेत रहेका शिवचन्द्र कुशवाहा आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट बारा क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका छन् ।
२०६४ सालमा तत्कालीन नेकपा माओवादीबाट संविधानसभा सदस्यमा निर्वाचित कुशवाहा २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सद्भावना पार्टीबाट उम्मेदवार बने, तर पराजित भए ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा फेरि पुरानै दल माओवादी केन्द्र फर्किए । उक्त निर्वाचनमा जसपा नेपालका रामसहाय प्रसाद यादव (हाल उपराष्ट्रपति)सँग झिनो मतान्तरले पराजित भए । २०८० मा भएको उपनिर्वाचनमा माओवादीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएपछि फेरि पार्टी परित्याग गरे । कुशवाहा उपनिर्वाचनमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट उम्मेदवार बने । त्यसमा पनि उनी पराजित भए । उपेन्द्र यादव विजयी हुँदा उनी निकटतम् प्रतिस्पर्धी बने ।
फागुन २१ मा हुने चुनावमा प्रलोपाबाट उम्मेदवार बनेका कुशवाहासँग चुनावकै विषयमा केन्द्रित रहेर रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश :
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट तपाईं उम्मेदवार बन्नुभयो नि यसपालि ?
सामाजिक न्यायको निम्ति, सुशासन कायम गर्न जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टीलाई वैकल्पिक शक्तिको रुपमा हामीले निर्माण गरेका हौं । माओवादी पार्टीभित्रै सामाजिक न्यायको निम्ति बोलिरहँदा हाम्रा आवाजलाई कुण्ठित पारेर राख्ने काम गरेकै कारण त्यो पार्टीबाट विद्रोह गरेको हो ।
तपाईंका चुनावी एजेन्डा के छन् ?
देशमा सुशासन कायम गर्ने हाम्रो मुख्य एजेण्डा हो । अराजकता बढेर जाँदा देशमा भष्टचार बढ्छ । अनुशासन बिना सुशासन कायम हुन सक्दैन । जनतालाई मलखाद, कृषि जडानका लागि विद्युत चाहिएको छ । यी कुरामा म काम गर्नेछु ।
बारा निर्वाचन क्षेत्र नम्बर २ मा तपाईंको अवस्था छ कस्तो छ ?
मेरो क्षेत्रमा गएको उपनिर्वाचनमा सबै दल मिलेर मलाई हराएकै हो । त्यतिबेला मैले एक्लै लडेर पनि २३ हजार ६ सय मत ल्याएको थिएँ । अहिले सबै दल मसँगै लडिरहेको स्थिति छ । सबै दल एक्ला-एक्लै लडिरहेको हुँदा मसँग चुनावी प्रतिस्पर्धा गर्नुपरेको अवस्था छ । मेरो जित पनि सुनिश्चित छ ।
मुख्य दलहरूबाट टिकट नलिएर जेनजी आन्दोलनपछि खुलेको नयाँ पार्टी प्रलोपालाई नै किन रोज्नुभयो ?
जनताबाट तपाईं राष्ट्रिय स्वतन्त्र पार्टीबाट लड्नु भन्ने सुझाव आएको थियो । तर मैले जनतालाई सम्झाइरहेको छु । रास्वपासँग कुनै सिद्धान्त, विचार र दर्शन छैन । यो हावामा आएको पार्टी हो । अरु एमाले र माओवादी पार्टीभित्र मेरो योगदान र लगानी छ । कम्युनिस्ट आन्दोलनमा मेरो धेरै लगानी छ । एमाले र माओवादीभित्र आत्मसम्मान मैले पाइनँ । हामीले सामाजिक न्यायको कुरा उठाउँदा, पार्टी हितको कुरा उठाउँदा नपत्याउने काम भयो । त्यसकारण अहिले वैकल्पिक शक्ति हामी आफैंले बनायौं र स्वाभिमानका लागि उनीहरूको टिकटमा लडिनँ ।
माओवादीभित्र हामीले आफ्नो क्षमता र योग्यताको आधारमा पार्टीमा संगठनमा जिम्मेवारी माग्दा हामीलाई कमजोर बनाएर राखियो । तर जब जनार्दन शर्माले पार्टीभित्र विद्रोह गरेर आइसकेपछि मैले पनि उहाँको अभियानमा साथ दिँदै वैकल्पिक शक्ति निर्माणमा लागें ।

जनार्दन शर्मा हाम्रो पार्टीको नेता हुनुहुन्छ । माओवादीमा हुँदा उहाँ पार्टीभित्रको एउटा असल र इमानदार कमाण्डर हुनुहुन्थ्यो । पछि उहाँसग भावनात्मक सम्बन्ध भयो र वैकल्पिक शक्ति निर्माणमा पनि साथै रह्यौं ।
जेनजी आन्दोलनपछि सबै पुराना दलमा टुटफुट र विद्रोहको स्थिति छ । पुराना दलहरु आलोपालो आफ्नै पार्टीभित्रको एउटै मान्छेले प्रधानमन्त्री बनेर बदनाम भए । त्यसैको उपज जेनजी आन्दोलन हो । हामीले जेनजी आन्दोलनको भावनालाई सम्मान गर्न पनि वैकल्पिक पार्टी खोलेका हौं ।
तपाईं २०६४ सालको संविधानसभा सदस्य हुनुहुन्छ । त्यसपछिका प्रत्येक निर्वाचनमा दल अदलबदल गर्नुहुन्छ भन्ने आरोप छ ?
म विद्रोही र क्रान्तिकारी विचारधाराको मान्छे हो । म अपमानित भएर बस्न सक्ने व्यक्ति होइन । जब अपमान हुन्छ, म विद्रोह गर्छु । आफ्नो सम्मान र सामाजिक न्यायका लागि । पार्टीभित्रबाटै मलाई अपमान भएकोले मैले विद्रोह गरें । थोरै मतले हारेको मान्छेलाई पार्टीभित्रको आन्तरिक अन्तरविरोधले गर्दा मान्छेको स्वाभिमानमाथि प्रहार गर्नुहुन्छ भने कसरी टिक्न सकिन्छ ? त्यसकारण एउटा क्रान्तिकारीको रुपमा मैले विद्रोह गरेको हो ।
जनताको मतले मलाई सम्मान गरेको प्रमाणित हुँदैन र ? तर पार्टीले किन पत्याउँदैन । म कुनै पार्टीको दास हो र ? संविधानसभा सदस्य जितेको मान्छे हुँ नि ।
मधेस आन्दोलन भइरहँदा बोर्डर इलाकाबाट शिवचन्द्र कुशवाहाले जितेर आयो । २०७० मा जिल्लाका जनताको भावना ममाथि केन्द्रित थियो । तर पार्टीभित्रको आन्तरिक अन्तरसंघर्षले गर्दा टिकट मात्रै काटेन, ४० जना जितेका सांसदहरुको टिकट खोसियो । त्यसपछि माओवादी पूरै खस्केर गयो ।
मधेसको चरित्रलाई पार्टीहरुले बुझ्न सकेनन् । मधेस, पहाड र हिमालको सोलोडोलो योजना बनाउँदा समस्या भइरहेको छ । हरेक कुराको योजना सापेक्षमा बनाउनुपर्छ । संघीयताको मर्मलाई बुझेर सापेक्षतामा सबै कुराको निर्णय गर्नुपर्छ । पार्टीभित्र कुरै सुनिँदैन, मधेसमा राजनीतिक सचेतनाको पनि कमी छ ।
बारा जिल्लामा इन्चार्ज हुँदा चारवटा क्षेत्रमा उम्मेदवार उठ्दा हामीले दुई क्षेत्र जितेका थियौं । अन्य क्षेत्रमा थोरै मतले पराजित भएको हो । तर २०७० मा पार्टीभित्रको आन्तरिक द्वन्द्वले मलाई जिल्ला इन्चार्जबाट हटाउने काम भयो ।
सांसदबाट टिकट नदिएपछि मैले एक घन्टामा निर्णय लिएर सद्भावना पार्टीबाट टिकट लिएर लडेर थोरै मतले पराजित भएँ । त्यो बेला ममाथि कति धेरै अन्याय भयो । पार्टीले अन्याय नगरेको भए आजसम्म बारा जिल्ला माओवादीमै रहन्थें ।
तर पार्टीभित्र ठीक वस्तुको ठीक विश्लेषण नगर्ने, नातावाद कृपावाद, जातिवादले आज माओवादी पार्टी मधेसमा मात्रै होइन, देशबाट सकियो ।
२०८० को उपनिर्वाचनमा डा. सीके राउत जनमत पार्टीबाट चुनाव लड्नुभयो । तर उहाँसँगको संगत पनि तपाईंको टिकाउ भएन नि ?
सीके राउतको कारणले मैले उपचुनाव हारेको हो । नत्र उपनिर्वाचनमा तीन जना पूर्वप्रधानमन्त्री आएर पनि हराउन सक्दैनथे । त्यसबेला सीके राउतले मसँग प्रतिबद्धता जनाएका कारण मैले उहाँको पार्टीबाट चुनाव लडेको हो । मतदान हुनु एक हप्ता अगाडि मेरो लडाइँ पर्यो । सीके राउतले जे-जे प्रतिबद्धता जनाउनुभएको थियो, त्यो नगरेका कारण मैले चुनाव हारेको हो ।
मधेसमा सबैभन्दा ठुलो उत्पीडन छ । सधैं मधेसका जनताले दु:ख पाइरहनुको कारण के हो ?
मधेसका जनताले दु:ख पाइरहने कारण चरम अवस्थामा रहेको सामाजिक भेदभाव हो । चुनावमा पैसाको बिटोले मान्छेको विचारलाई स्वतन्त्र रुपमा छान्न दिँदैनन् । मधेसको चरित्र भनेको निम्न पुँजीवादी चरित्र हो । मधेसी समुदायलाई लोभलालचमा फसाइन्छ, त्यसकारण जनताको भावना सम्मान गर्ने व्यक्ति चुनावमा पराजित हुन पुग्छन् ।
मधेसको चरित्रलाई पार्टीहरुले बुझ्न सकेनन् । मधेस, पहाड र हिमालको सोलोडोलो योजना बनाउँदा समस्या भइरहेको छ । हरेक कुराको योजना सापेक्षमा बनाउनुपर्छ । संघीयताको मर्मलाई बुझेर सापेक्षतामा सबै कुराको निर्णय गर्नुपर्छ । पार्टीभित्र कुरै सुनिँदैन, मधेसमा राजनीतिक सचेतनाको पनि कमी छ ।
रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेका बालेन शाहको बारेमा तपाईंको टिप्पणी के छ ?
बालेन साहलाई ठकुरी साह सम्झेर काठमाडौका जनताले उहाँलाई जिताइदिए । उहाँले काठमाडौं महानगरको ३० प्रतिशत बजेट मात्रै कार्यान्वयन गर्न सक्नुभयो । डा. बाबुराम भट्टराईले बनाइदिएको बाटोघाटोलाई चिल्लो र सफा बनाउनुभएको छ । थोरै लगानी गर्नुभएको छ तर हेर्दा धेरै गरेको जस्तो, मान्छेले बालेन, बालेन भनेका छन् । तर उहाँको नकरात्मक पक्ष काठमाडौं सहरभित्र गरिबहरु, मजदुरहरु, साना व्यापारी, कवाडीहरुलाई लखेट्ने, सहरबाट निकाल्ने काम भएको छ ।
बेरोजगार जनताले फुटपाथमा केही गरेर जीविका चलाउन खोज्दा उहाँले दु:ख दिनुभयो । उहाँ राजनीतिक मान्छे होइन, उहाँसँग कुनै सिद्धान्त, दर्शन र विचार नै छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण