बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जुम्लामा एमालेले ०५६ को विरासत फर्काउँछ : शान्तिलाल महत

आइतबार, २५ माघ २०८२, १४ : १३
आइतबार, २५ माघ २०८२

सारांश

  • नेकपा एमालेका शान्तिलाल महतले जुम्लामा चुनाव जित्ने दाबी गरेका छन्, उनले पार्टी एकताबद्ध भएको बताए ।
  • उनले ०५६ को विरासत फर्काउने र मतदाताको राम्रो प्रतिक्रिया रहेको बताए, साथै अन्य दलहरूसँग प्रतिस्पर्धा हुने उल्लेख गरे ।
  • महतले पार्टी विभाजन र अन्य समस्यालाई समाधान गरेर अघि बढेको र राष्ट्रियताको पक्षमा एमाले रहेको दाबी गरे ।

सुर्खेत । जुम्लामा नेकपा एमालेलाई आसन्न निर्वाचनमा पुरानो विरासत फर्काउने दबाब छ । यो पटक एमालेले शान्तिलाल महतलाई जुम्लाबाट उम्मेदवार बनाएको छ ।

नयाँ दल र पुराना दलबिचको ध्रुवीकरणका बाबजुद आफूले चुनाव जित्ने महतको दाबी छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको अंशः

  • जुम्लामा एमालेले चुनावी अभियान सुरु गरिसकेको रहेछ, के कस्तो प्रतिक्रिया पाउनुभयो ?

हामी अहिले पनि अभियानमै छौँ । पालिकास्तरीय भेलाहरू सञ्चालन भइरहेका छन् । मतदाताले राम्रै प्रतिक्रिया जनाउनु भएको छ ।

  • जुम्लामा ६० को दशकपछि एमालेको ‘सूर्य’ उदाएको छैन, यो पटक के छ सम्भावना ?

एकदमै उत्साहजनक ढङ्गले अभियान अगाडि बढेको छ । ०५६ को विरासत फर्काउनु पर्छ भनेर नेता–कार्यकर्ताहरू लागिरहेका छन् । हिजो हामीभित्र जे–जति कमीकमजोरी थिए, पार्टी संगठनभित्रका मनमुटावलाई थाती राखेर अहिले एकमुष्ट र एकताबद्ध भएर पार्टी अगाडि बढेको छ । त्यस अर्थमा हामी सकरात्मक दिशामा छौँ । समानुपातिक मतका हिसाबले ०७९ को निर्वाचनमा सबैभन्दा ठुलो पार्टी एमाले हो जुम्लामा । आउने दिनमा कमी–कमजोरीहरूलाई सुधारेर अघि बढ्ने प्रतिबद्धता जनाएका छौँ । त्यसो हुँदा ०५६ को विरासत फर्काउछौँ भन्ने लागेको छ ।

  • त्यसको आधार के छ नि ?

हाम्रा संगठनहरू नै पहिलो आधार हुन् । ६० वटै वडामा हाम्रा संगठन छन् । टोल–टोलमा संगठन छन् । यसअघि पनि हामीले ‘मिसन ०८४’ लाई अभियानको रूपमा लिएका थियौँ ।

हाम्रो पार्टी एकताबद्ध भएर अघि बढेको छ । हिजो पार्टी विभाजन भएर गएका समाजवादीका नेताहरू घर फर्कनुभएको छ । त्यस अर्थमा एकदम सुदृढ एमाले भएको छ, सिङ्गो एमाले भएको छ । योभन्दा अगाडि सरकारमा एमाले हुँदा आम नेपाली जनताको हकहितका लागि नीतिगत निर्णयहरू भएका छन् । त्यसको फाइदा जनतालाई भएको छ । ०५६ देखि २६ वर्षको अन्तरालमा यहाँबाट धेरै प्रतिनिधि निर्वाचित भएर गए, तर खासै कुनै काम भएका छैनन् ।

जुम्ली जनताले सांसद दोहोर्‍याएको इतिहास छैन । नयाँ–नयाँ उम्मेदवारलाई मौका दिने पनि परिपाटी जुम्लामा भएको हुँदा एमाले बलियो र जनताका समस्यालाई समाधान गर्ने पार्टी भएकाले यो पटक ‘सूर्य’ जुम्लामा उदाउने छ ।

राष्ट्रियताको पक्षमा बोल्ने पार्टी हाम्रै हो । अर्को म उम्मेदवार कुनै सामाजिक, आर्थिक, सांस्कृतिक किसिमका धब्बा नलागेको मान्छे हुँ । म उम्मेदवार बनेसँगै यहाँका मतदाताहरू धेरै उत्साहित छन् । गाउँघरमा घरदैलो गर्ने क्रममा पनि भव्य स्वागत भएको छ । यस्तै कारणले एमाले जित्छ ।

  • एमालेको प्रतिस्पर्धी चाहिँ कुन–कुन दल हुन् नि ?

खासमा प्रतिस्पर्धा तीन वटै (नेकपा, कांग्रेस, एमाले) बिचको हो । ‘फन्डाबाज’ (ज्ञानेन्द्र शाही) पनि फेरि आएका छन् । उनले अघिल्लो निर्वाचनमा जुम्ली जनतालाई ढाँटेर गए । यहाँका स्थानीय वस्तुहरू, आर्थिक अवस्था उठाउनको लागि स्थानीय वस्तुको बजारीकरण गर्ने भन्ने नारा दिएर गएका थिए ।

तर जुम्ली जनताको अभिमतलाई धोका दिएर राजाको पक्षमा बोल्ने जुन काम गरे, त्यसैले गर्दा जुम्ली जनता अहिले उनीप्रति एकदमै रुष्ट छन् । तैपनि उनीबाट हिजो केही फाइदा लिएका मान्छेहरूको झुण्ड छ, त्यस अर्थमा चार वटैको बिचमा प्रतिस्पर्धा हुन्छ होला ।

  • तपाईंले अहिले एमाले एकताबद्ध छ भन्नुभयो, तर त्यहाँ ठुलो समस्या छ, त्यसको फाइदा अरुले लिन सक्छन् भनिन्छ नि ?

हैन, त्यस्तो पटक्कै छैन । एमालेका सबै साथीहरू जुम्ला आउनुभएको छ । सँगै हिँडेका छौँ । आ–आफ्नो जिम्मेवारी लिएका छौँ । सबैलाई लागेको छ—यो निर्वाचन एमालेका लागि ‘जीवन–मरण’ को निर्वाचन हो । एमाले जुम्लाको लागिमात्रै होइन, राष्ट्रकै लागि ‘जीवन–मरण’को सवाल भएको हुनाले हामी एकताबद्ध भएर लागेका छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप