बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पोखरामा फागुन पहिलो साता अन्तर विद्यालय ब्याडमिन्टन

सोमबार, २६ माघ २०८२, ०१ : १२
सोमबार, २६ माघ २०८२

सारांश

  • पोखरामा फागुनको पहिलो साता अन्तरविद्यालय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
  • प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।
  • विजेता खेलाडीहरूलाई पुरस्कार र ट्रफी प्रदान गरिनेछ।

कास्की । पर्यटकीय सहर पोखरामा फागुन पहिलो साता अन्तर विद्यालय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

मोहन भूगोल ब्याडमिन्टन फाउन्डेसन र फिट नेपाल स्पोट्र्स कम्प्लेक्सको आयोजनामा पोखरा महानगरपालिका–१० स्थित फिट नेपाल स्पोर्टस् कम्प्लेक्समा फागुन १ देखि ३ गतेसम्म प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा ११ वर्षमुनि, १३ वर्षमुनि, १७ वर्षमुनि र १९ वर्षमुनिको गरी चार विधामा छात्र तथा छात्रा उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्ने फाउन्डेसनका अध्यक्ष भूगोल गुरुङले बताए ।

“ब्याडमिन्टन खेलमार्फत विद्यालय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्मका उदयमान खेलाडीको प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो,” गुरुङले भने । यसबाट खेलकुद विकासलाई टेवा दिने तथा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ ।

प्रतियोगितामा देशभरका विभिन्न विद्यालयका खेलाडीको सहभागिता रहने पूर्वराष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी रहनु भएको अध्यक्ष गुरुङले जनाए ।

प्रतियोगिता अन्तर्गत यू–११ र यू–१३ तर्फका विजेता खेलाडीलाई मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । त्यसैगरी यू–१७ तथा यू–१९ समूहमा प्रथम हुने खेलाडीले जनही नगद रु ४० हजार मेडल, ट्रफी, प्रमाणपत्रसहित पाउने छन् ।

द्वितीयले रु २० हजार र तृतीयले रु १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । साथै समग्र पदक तालिकाका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयलाई ‘बेस्ट स्कूल ट्रफी’ प्रदान गरिने आयोजकले जनाएको छ ।

जापानी प्रशिक्षक टि–यामामोतोले नेपालको ब्याडमिन्टन खेलमा राम्रो सम्भावना रहेको बताए । नेपालले ग्रास रुट तहको खेल विकासमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

फाउन्डेसनका सल्लाहकार जयराज हमालले मोहन मेमोरियल अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगिताले पोखरा क्षेत्रको ब्याडमिन्टन खेलको विकासमा महत्त्वपूर्ण सहयोग पुगेको उल्लेख गरे ।

प्रतियोगितामा यू–१५ राष्ट्रिय च्याम्पियन निभा राई, यू–१७ राष्ट्रिय च्याम्पियन दिलासा रानालगायतका चर्चित खेलाडीको सहभागिता रहने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप