शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चुनावी चर्चा

डडेलधुरामा देउवाको विरासत जोगाउलान् महरले ?

कांग्रेसको गढमा पहिलो जित निकाल्ने दाउमा अन्य दलहरू
सोमबार, २६ माघ २०८२, १२ : ३०
सोमबार, २६ माघ २०८२

सारांश

  • डडेलधुरामा ३४ वर्षपछि शेरबहादुर देउवा बिनाको निर्वाचन हुँदैछ, जहाँ कांग्रेसले नयाँ उम्मेदवार उठाएको छ।
  • मतदाताहरू पुरानो दलको विकल्प खोज्ने सोचमा छन्, भने केही मतदाता नयाँ उम्मेदवारलाई मौका दिन चाहन्छन्।
  • कांग्रेसको गढ मानिने डडेलधुरामा यसपटक रास्वपा र अन्य दलका कारण कांग्रेसका उम्मेदवारलाई जित्न सहज छैन।
00:00 / NaN:NaN
Audio By AI

धनगढी । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन डडेलधुराका मतदाताका लागि विगतको भन्दा पृथक हुँदैछ । विगत ३४ वर्षदेखि शेरबहादुर देउवा र डडेलधुरा एकअर्काका पर्यायवाची जस्तै थिए । २०४८ साल यताका हरेक निर्वाचनमा देउवा डडेलधुराबाट उम्मेदवार बन्दै आएका मात्र होइन, निरन्तर निर्वाचित हुँदै आएका थिए ।

आसन्न निर्वाचनमा भने देउवा उम्मेदवार छैनन् । डडेलधुरा ३४ वर्ष यता पहिलो पटक देउवाविनाको निर्वाचन देख्दैछ ।

कांग्रेसको विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वले देउवालाई उम्मेदवार बनाएन । साढे तीन दशकपछि डडेलधुरामा कांग्रेसले नयाँ उम्मेदवारका रूपमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरलाई अघि सारेको छ । देउवाले निरन्तर निर्वाचित भएर डडेलधुरालाई कांग्रेसको गढका रूपमा स्थापित गराएका थिए । उनको यो विरासत कांग्रेसका उम्मेदवार महरले जोगाउन सक्छन् कि सक्दैनन् भन्ने चासोको विषय बनेको छ ।

निरन्तर निर्वाचित भएर राज्य सत्ता र पार्टी सत्तामा पटक–पटक पुगेका देउवाप्रति डडेलधुराका मतदातामा गुनासो नभएको भने होइन । अजयमेरु गाउँपालिका–२ का मानबहादुर मल्ल जिल्लाको समग्र विकास सन्तोषजनक नरहेको बताउँछन् ।

‘शेरबहादुर देउवा प्रधानमन्त्री भए रोड बनाइदेलान्, स्कुल बनाइदेलान्, गरिबका छोराछोरीलाई हेरिदेलान् भन्ने आशा थियो,’ उनले भने, ‘उहाँले अहिलेसम्म केही गर्न सक्नुभएन ।’

मल्लको बुझाइमा देउवाको उत्तराधिकारीका रूपमा आएका महरले पनि खासै केही गर्ने छैनन् । ‘प्रधानमन्त्री हुँदा त देउवाले काम गरिदिएनन् भने अब महरले के गर्लान् ?’ उनले भने ।

यहाँका अमरगढी, परशुराम नगरपालिकादेखि आलीताल, अजयमेरु, नवदुर्गा, भागेश्वर र गन्यापधुरा गाउँपालिकाका मतदातासँग कुराकानी गर्दा जनमत विभाजित देखिन्छ । कांग्रेसको परम्परागत गढ मानिने यो जिल्लामा देउवाको बहिर्गमनसँगै मतदाताहरू विकल्प खोज्ने सोचमा देखिन्छन् ।

परशुराम नगरपालिका–८ का शिव महता यसपालि आफ्नो मत बदल्ने सुरमा छन् । देउवाले प्रतिनिधित्व गर्दासमेत खासै विकास हुन नसकेको यो ठाउँमा सोही पार्टीका सामान्य उम्मेदवारलाई जिताएर केही हुन्छ भन्ने विश्वास नलागेको उनको बुझाइ छ । ‘जिते पनि, हारे पनि यसपालि नयाँलाई मौका दिने हो,’ उनले भने ।

अमरगढी–१ का हरि ओझाको विचार पनि उस्तै छ । उनी पनि पुराना दलको विकल्प खोज्नुपर्ने बताउँछन् । जोगबुढाका कृष्णराज भट्ट त कांग्रेस र एमाले दुवैको विकल्प खोज्नुपर्ने पक्षमा खुलेर देखिए ।

पुराना पुस्ताका कांग्रेस मतदातालाई आफ्नै सन्तानले भोट बदल्न दबाब दिइरहेका छन् । परशुराम नगरपालिकाका तीर्थराज बोहराले आफू मत नबल्ने सोचमा रहेको बताए । तर काठमाडौँमा बस्ने छोराले फोन गरेर ‘यसपालि नयाँलाई दिनु’ भनेर कर गरिरहेको उनको भनाइ छ ।

collage (1)

मतदाताको ठुलो हिस्सा नयाँप्रति त्यति धेरै आकर्षित देखिँदैन । कांग्रेसको गढ भनिए पनि डडेलधुरामा यसपालि रास्वपाको कारणमात्र नभई अन्य दलका कारण पनि महरका लागि सहज जित छैन । तीन स्वतन्त्रसहित १३ उम्मेदवार चुनावी मैदानमा छन् । महरलाई एमालेका चक्र स्नेही, नेकपाका मानसिंह माल र रास्वपाका ताराप्रसाद जोशीले कडा चुनौती दिइरहेका छन् ।

दलित समुदायमा राम्रो पकड भएका एमालेका स्नेही पूर्वराष्ट्रिय सभा सदस्य हुन् भने मानसिंह माल नेकपाका केन्द्रीय सदस्य हुन् । कांग्रेसका महरका लागि सबैभन्दा ठुलो टाउको दुखाई रास्वपाका ताराप्रसाद जोशी बन्न सक्छन्  ।

जोशी यसअघि सुदूरपश्चिम प्रदेशसभा सदस्य थिए । डडेलधुराको प्रदेश सभा ‘२’ बाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका जोशीले राजीनामा दिएर रास्वपाका तर्फबाट प्रतिनिधि सभामा सदस्यमा उम्मेदवारी दिएका हुन् ।

एमाले डडेलधुराका पूर्वअध्यक्ष समेत रहेका जोशीको व्यक्तिगत प्रभाव राम्रो छ । २०७० सालको संविधान सभा निर्वाचनमा उनी तेस्रो भएका थिए ।

जतिसुकै असन्तुष्टि भए पनि डडेलधुरा जिल्ला कांग्रेसको आधार थलो हो । पाका पुस्ताका मतदातामा कांग्रेसप्रतिको मोह अझै भङ्ग भइसकेको छैन । जोगबुढाका ७३ वर्षीय आसाराम पाण्डेयले दशकौँदेखि एउटै पार्टीमा विश्वास गर्दै आएको जिकिर गर्दै अन्त मत दिन मनले नै नमान्ने बताए ।

आलीताल गाउँपालिकाका जमानसिंह थापा मगर, गोपालसिंह धामी, रामबहादुर बोहरा, मनबहादुर मडै, माया गाहमगर, कविता रोकामगर जस्ता मतदाता मत नबदल्ने अडानमा छन् ।

नवदुर्गा गाउँपालिका–४ का हरिबहादुर रावल पनि विकल्प खोज्ने पक्षमा छैनन् । ‘अन्तिम पटक मौका दिउँ कि जस्तो लाग्या छ,’ रावलले भने, ‘केही साथीभाइले यो पटक अर्काेलाई दिउँ पनि भन्छन्, तर मनले मानेको छैन ।’

डडेलधुराका सातमध्ये पाँच पालिकामा ०७९ को स्थानीय तह निर्वाचन कांग्रेसले जितेको छ । यद्यपि विशेष महाधिवेशनपछि कांग्रेसमा भएको नेतृत्व परिवर्तनबाट पार्टीभित्र भावनात्मक फाटो बढाएको छ । यसले गर्दा डडेलधुराका कांग्रेस कार्यकर्ताले देउवाको बहिर्गमन र विशेष महाधिवेशनबाट भएको नेतृत्व परिवर्तनलाई कसरी लिन्छन् भन्ने विषयले पनि कांग्रेसको मत एकढिक्का रहन्छ या बाँडिन्छ भन्ने निर्धारण गर्नेछ ।

डडेलधुरामा कुल ९३ हजार ४०३ मतदाता छन् । यहाँ २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा देउवा २५ हजार ५३४ मतसहित निर्वाचित भएका थिए । देउवासँगै चुनावी प्रतिस्पर्धामा होमिएका सागर ढकालले १३ हजार ४२ मत पाएका थिए ।

सोही चुनावमा समानुपातिकतर्फ नेपाली कांग्रेसले १८ हजार ५६२, एमालेले ९ हजार २१४ मत पाएको थियो । यस्तै तत्कालीन माओवादी केन्द्रले ८ हजार ७११, नेपाली कांग्रेस (बीपी)ले ४ हजार ५१४ मत पाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले ३ हजार ६५०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ५१३ र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले ६६१ मत पाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप