बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
नेपाल बहुसूचक सर्वेक्षणकाे प्रतिवेदन

नेपालका ३१ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या, मधेस प्रदेशमा कुपोषणको अवस्था गम्भीर

सोमबार, २६ माघ २०८२, १६ : २१
सोमबार, २६ माघ २०८२

सारांश

  • सरकारी प्रतिवेदनले नेपालमा बालबालिकाको पोषण र स्वास्थ्य अवस्था चुनौतीपूर्ण रहेको देखाएको छ।
  • सर्वेक्षण अनुसार, पाँच वर्षमुनिका ३१.५ प्रतिशत बालबालिका उमेर अनुसार पुड्का छन्, भने मधेस प्रदेश सबैभन्दा बढी प्रभावित छ।
  • शिशुलाई स्तनपान गराउने दर राम्रो छ, तर खोप र बिरामीको उपचारमा कमजोरीहरू देखिएका छन्।

काठमाडाैँ । नेपालका बालबालिकाको पोषण र स्वास्थ्य अवस्था अझै पनि चुनौतीपूर्ण रहेको एक सरकारी प्रतिवेदनले देखाएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ अनुसार पाँच वर्षमुनिका बालबालिकाहरूमध्ये ३१.५ प्रतिशत बालबालिका उमेर अनुसार उचाइ कम भएका अर्थात् ‘पुड्को’ छन्। 

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार गरिएको यस सर्वेक्षणले २४.३ प्रतिशत बालबालिकामा उमेर अनुसार तौल कम (लिखुरे) रहेको र ७.६ प्रतिशतमा उचाइ अनुसार तौल कम (ख्याउटे) रहेको तथ्य बाहिर ल्याएको छ।

पोषणको अवस्थालाई प्रदेशगत रूपमा हेर्दा मधेस प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ। मधेस प्रदेशमा ३३.२ प्रतिशत बालबालिकामा उमेर अनुसार तौल कम रहेको छ, जुन बागमती प्रदेशको तुलनामा निकै धेरै हो। बागमती प्रदेशमा लिखुरे बालबालिकाको सङ्ख्या सबैभन्दा कम अर्थात् ९.६ प्रतिशत मात्र रहेको छ। 

शिशुलाई खुवाइने दूधको सन्दर्भमा भने सकारात्मक सङ्केत देखिएको छ। करिब ७० प्रतिशत आमाहरूले आफ्ना बच्चालाई जन्मेको ६ महिनासम्म स्तनपान मात्र गराउने गरेका छन्। यसमा सुदूरपश्चिम प्रदेश सबैभन्दा अगाडि (७६.६ प्रतिशत) छ भने मधेस र कर्णाली प्रदेशमा पनि स्तनपानको अवस्था तुलनात्मक रूपमा राम्रो देखिएको छ।

खोप र बिरामीको उपचारमा भने केही कमजोरीहरू औँल्याइएको छ। सर्वेक्षण अनुसार १२ देखि २३ महिनाका बालबालिकाहरूमध्ये ८०.७ प्रतिशतले मात्र पहिलो वर्षमा लिनुपर्ने सबै खोपहरू पूर्ण मात्रामा पाएका छन्। 
झाडापखाला लागेका ५ वर्षमुनिका बालबालिकाहरूमध्ये २०.६ प्रतिशतले मात्र पुनर्जलीय झोल (जीवनजल) सँगै जिङ्क चक्की सेवन गरेको पाइयो। श्वासप्रश्वास सम्बन्धी समस्याबाट २.७ प्रतिशत बालबालिका पीडित भएको देखिएको छ, जसले बाल स्वास्थ्यमा अझै विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ।

प्रारम्भिक बाल शिक्षा र विकासको क्षेत्रमा भने नेपालले सुधार गरिरहेको देखिएको छ। ३६ देखि ५९ महिना उमेरका ५७.९ प्रतिशत बालबालिकाहरू विद्यालय पूर्वको प्रारम्भिक बाल शिक्षा कार्यक्रममा सहभागी भइरहेका छन्। समग्रमा नेपालको प्रारम्भिक बाल विकास सूचकाङ्क ६३.३ प्रतिशत पुगेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप