बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

'लाहौर १९४७' को रिलिज मिति घोषणा, सनी र आमिर एकसाथ देखिने

मङ्गलबार, २७ माघ २०८२, ०७ : १९
मङ्गलबार, २७ माघ २०८२

सारांश

  • आमिर खान प्रोडक्सन्सको फिल्म 'लाहौर १९४७' सन् २०२६ अगस्ट १३ मा रिलिज हुने भएको छ।
  • फिल्ममा सनी देओल, शबाना आजमी, प्रीति जिन्टा र करण देओलको मुख्य भूमिका रहनेछ।
  • राजकुमार सन्तोषी र सनी देओलको जोडी लामो समयपछि 'लाहौर १९४७' मार्फत पुन: एकसाथ आउँदैछन्।

मुम्बई । आमिर खान प्रोडक्सन्सले आफ्नो बहुप्रतिक्षित पिरियड ड्रामा 'लाहौर १९४७' को प्रदर्शन मिति सार्वजनिक गरेको छ। भारतीय स्वतन्त्रता दिवसको सातालाई लक्षित गर्दै यो फिल्म सन् २०२६ अगस्ट १३ मा विश्वभरका सिनेमाघरमा रिलिज हुने भएको हो। 

यस फिल्ममार्फत बलिउडका तीन दिग्गज हस्तीहरू अभिनेता सनी देओल, निर्देशक राजकुमार सन्तोषी र निर्माता आमिर खान पहिलोपटक एकैसाथ सहकार्य गर्दैछन्। 

फिल्मको बारेमा बोल्दै निर्माता आमिर खानले यो स्क्रिप्ट लिजेन्ड अभिनेता धर्मेन्द्रको सबैभन्दा मनपर्ने कथाहरूमध्ये एक रहेको बताएका छन्। धर्मेन्द्रले यो फिल्म हेर्न पाएको भए आफूलाई अझ बढी खुसी लाग्ने भन्दै आमिरले यस प्रोजेक्टप्रति आफ्नो भावनात्मक लगाव व्यक्त गरेका छन्। 

फिल्ममा सन्नी देओलका साथै शबाना आजमी, प्रीति जिन्टा र सन्नीका छोरा करण देओलको मुख्य भूमिका रहनेछ। करणले यस फिल्ममा एक महत्वपूर्ण र चुनौतीपूर्ण भूमिका निभाएको बताइएको छ।

निर्देशक राजकुमार सन्तोषी र सनी देओलको जोडीले यसअघि 'घायल', 'घातक' र 'दामिनी' जस्ता सदाबहार सुपरहिट फिल्महरू दिइसकेका छन्। लामो समयको अन्तरालपछि यो सफल जोडी फेरि पर्दामा फर्किनुले दर्शक र समीक्षकमाझ ठुलो उत्साह जगाएको छ। 

फिल्ममा एआर रहमानको संगीत र जाबेद अख्तरको शब्द रहनेछ, जसले सन् १९४७ को ऐतिहासिक कालखण्डलाई संगीतका माध्यमबाट जीवन्त बनाउने अपेक्षा गरिएको छ।

अभिनेता सनी देओल पछिल्लो समय निकै सफल देखिएका छन्। उनको पछिल्लो फिल्म 'बोर्डर २' ले विश्वभर ४४० करोड भारुको कलेक्सन गर्दै यस वर्षको सबैभन्दा ठूलो ब्लकबस्टर सावित भइसकेको छ। 
बक्स अफिसमा 'बोर्डर २' पछि रानी मुखर्जीको 'मर्दानी ३' रिलिज भएको थियो, जसले हालसम्म करिब ३७ करोड रुपैयाँको कमाई गरेको छ। 

'लाहौर १९४७' ले देशभक्ति र वीरताको नयाँ परिभाषा लेख्ने विश्वास निर्माण पक्षको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप