शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एपस्टिन कान्डः कांग्रेसमा बयान दिन घिस्लेन म्याक्सवेलले गरिन् अस्वीकार

मङ्गलबार, २७ माघ २०८२, ०९ : ०८
मङ्गलबार, २७ माघ २०८२

सारांश

  • जेफ्री एपस्टिनकी सहयोगी घिस्लेन म्याक्सवेलले अमेरिकी समितिसमक्ष बयान दिन अस्वीकार गरिन्।
  • म्याक्सवेलले आत्म-अपराधीकरणबाट जोगिन पाँचौँ संशोधन प्रयोग गरिन् र प्रश्नको जवाफ दिइनन्।
  • उनले राष्ट्रपतिबाट क्षमादान पाएमा बोल्न तयार रहेको संकेत गरिन्, र यौन तस्करीको आरोपमा उनी २० वर्षको जेल सजाय भोगिरहेकी छिन्।

वासिङ्टन डीसी । अमेरिकी यौन दुराचारी जेफ्री एपस्टिनकी निकट सहयोगी तथा पूर्व प्रेमिका घिस्लेन म्याक्सवेलले अमेरिकी प्रतिनिधिसभाको एक समितिसमक्ष बयान दिन अस्वीकार गरेकी छन् । राष्ट्रपतिबाट क्षमादान पाएमा बोल्न तयार रहेको संकेत पनि उनले गरेकी छिन् ।

प्रतिनिधिसभाको निगरानी समितिले उनलाई सोमबार बन्द कोठामा बयानका लागि बोलाएको थियो । तर म्याक्सवेलले आत्म–अपराधीकरणबाट जोगिन पाइने आफ्नो संवैधानिक अधिकार अर्थात् पाँचौँ संशोधन प्रयोग गर्दै प्रश्नहरूको जवाफ दिन अस्वीकार गरिन् ।

समितिका अध्यक्ष रिपब्लिकन सांसद जेम्स कोमरले उनको यस व्यवहारलाई अत्यन्त निराशाजनक भनेका छन् । ‘हामीसँग उनी र एपस्टिनले गरेका अपराधबारे धेरै प्रश्न थिए, साथै सम्भावित सहअपराधीहरूबारे पनि सोध्न चाहन्थ्यौँ’ उनले भने । म्याक्सवेल अहिले यौन तस्करीको अभियोगमा २० वर्षको जेल सजाय काटिरहेकी छिन् । उनी टेक्सासस्थित संघीय कारागारमा बन्दी छिन् । उनलाई एपस्टिनले किशोरीहरूमाथि गरेको यौन शोषणमा सहयोग गरेको आरोपमा सन् २०२१ मा दोषी ठहर गरिएको थियो ।

बन्द कोठामा भएको बयानको भिडियोमा उनले जेलमा बस्दा  लगाउने खैरो पोसाक लगाएकी थिइन् । ‘म मेरो पाँचौँ संशोधनअन्तर्गत मौन रहने अधिकार प्रयोग गर्छु ।’ उनले बारम्बार भनिरहिन् । उनका वकिल डेभिड ओस्कार मार्कसले समितिलाई पठाएको पत्रमा भनेका छन्, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पले क्षमादान दिएमा म्याक्सवेल पूर्ण र इमान्दार रूपमा बोल्न तयार छिन् ।’  ट्रम्प र पूर्वराष्ट्रपति बिल क्लिन्टन दुवै निर्दोष रहेको पनि उनले दाबी गरे ।  तर यसको वास्तविक व्याख्या म्याक्सवेलले मात्र दिन सक्ने पनि उनले बताए ।

अमेरिकी न्याय मन्त्रालयले एपस्टिनसँग सम्बन्धित लाखौँ आन्तरिक कागजात सार्वजनिक गरेपछि विश्वभर तरंग उत्पन्न भइरहेका समयमा यो बयान हुन लागेको हो । ती फाइलहरूले ट्रम्प र क्लिन्टन दुवैले १९९० र २००० को दशकमा एपस्टिनसँग समय बिताएको देखाउँछन्, तर उनीहरूविरुद्ध कुनै विश्वसनीय आपराधिक आरोप भने लगाइएको छैन । यसै महिनाको अन्त्यमा बिल क्लिन्टन र उनकी पत्नी, पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन पनि बयानका लागि उपस्थित हुने तय भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप