शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

वेष्ट बैंकको विलयको ट्रम्पद्वारा विरोध

मङ्गलबार, २७ माघ २०८२, ०९ : २४
मङ्गलबार, २७ माघ २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायलको वेष्ट बैंक विलयको विरोध गरेका छन्।
  • इजरायलले वेष्ट बैंकमा नियन्त्रण बढाउने नयाँ उपाय घोषणा गरेको छ, जसको इजिप्ट लगायतका देशहरूले निन्दा गरेका छन्।
  • संयुक्त राष्ट्र संघ र अन्य देशहरूले इजरायलको कदमको आलोचना गर्दै यसले दुई-राज्य समाधानलाई कमजोर पार्ने बताएका छन्।

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले कब्जा गरेको वेष्ट बैंकलाई औपचारिक रूपमा विलय गर्ने कदमको विरोध गरेको ह्वाइट हाउसले जनाएको छ ।

‘स्थिर वेष्ट बैंक इजरायलको सुरक्षाका लागि महत्त्वपूर्ण छ र यो क्षेत्रीय शान्ति स्थापनाका लागि यस प्रशासनको लक्ष्यसँग मेल खान्छ ।’ ह्वाइट हाउसका एक अधिकारीले सोमबार रोयटर्ससँग कुरा गर्दै भने । जरायलका अति–दक्षिणपन्थी वित्तमन्त्री बेजालेल स्मोट्रिच र रक्षामन्त्री इजरायल काट्जले आइतबार कब्जा गरिएको प्यालेस्टिनी भूभागमा इजरायली नियन्त्रण थप विस्तार गर्ने नयाँ उपाय घोषणा गरेको समयमा यो प्रतिक्रिया आएको हो ।  ती उपायले नयाँ अवैध बसोबास (सेटलमेन्ट)का लागि इजरायली नागरिकलाई जमिन प्राप्त गर्न पनि सहज बनाउनेछ । तर यो अन्तर्राष्ट्रिय कानुनअन्तर्गत अवैध छ ।

यस कदमको इजिप्ट, इन्डोनेसिया, जोर्डन, पाकिस्तान, कतार, साउदी अरब, टर्की र यूएईले संयुक्त विज्ञप्ति जारी गर्दै कडा निन्दा गरेका छन् । उनीहरूले यसलाई अवैध इजरायली सार्वभौमिकता थोपर्ने प्रयास भनेका छन् ।

संयुक्त राष्ट्र संघ (यूएन)का महासचिव एन्टोनियो गुटेरेस, बेलायत र स्पेनले पनि यस कदमको आलोचना गरेका छन् । गुटेरेसका प्रवक्ता स्टेफान दुजारिकले यी कदम दुई–राज्य समाधानलाई कमजोर पार्ने र अस्थिरता बढाउने भएको बताएका छन् । यूएन मुख्यालयमा अल–जजिराका पत्रकारले यो कदम वास्तविक विलय हो कि भनेर सोध्दा दुजारिकले यी निर्णयले शान्तिलाई झन टाढा धकेलिरहेका र प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकार कमजोर बनाइरहेको भनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप