मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
टी-२० विश्वकप

न्युजिल्याण्डको ऐतिहासिक जितमा बने थुप्रै रेकर्ड

बुधबार, २८ माघ २०८२, १० : २२
बुधबार, २८ माघ २०८२

सारांश

  • न्युजिल्याण्डले युएईलाई १० विकेटले हराउँदै टी-२० विश्वकपमा नयाँ रेकर्ड बनाएको छ।
  • टिम सेफर्ट र फिन एलेनको १७५ रनको साझेदारी टी-२० विश्वकपमा कुनै पनि विकेटका लागि भएको अहिलेसम्मकै उच्च साझेदारी बन्यो।
  • फिन एलेनले ५००० रन पूरा गर्ने र १०० छक्का हान्ने कीर्तिमान बनाए भने सेफर्टले पनि छिटो अर्धशतक बनाए।

काठमाडौँ । चेन्नाईमा मंगलबार युएईविरुद्धको खेलमा न्युजिल्याण्डका ओपनरहरूको १७५ रनको साझेदारीले टी-२० विश्वकपभित्र र बाहिरका धेरै रेकर्डहरू ध्वस्त पारेको छ।

  • १० विकेटको कीर्तिमानी जित

न्युजिल्याण्डले युएईविरुद्ध १७४ रनको लक्ष्य बिना कुनै विकेट गुमाई पूरा गर्‍यो। पुरुष टी-२० अन्तर्राष्ट्रियमा विकेट नगुमाई चेज गरिएको यो दोस्रो ठुलो स्कोर हो। यसअघि २०२२ मा पाकिस्तानले इंग्ल्यान्डविरुद्ध २०० रनको लक्ष्य बिना विकेट गुमाई पूरा गरेको कीर्तिमान कायमै छ। यद्यपि, पुरुष टी-२० विश्वकपको इतिहासमा भने विकेट नगुमाई हासिल गरिएको यो नै सबैभन्दा ठुलो लक्ष्य हो।

यो प्रतियोगितामा न्युजिल्याण्डको लागि पहिलो र समग्र टी-२० अन्तर्राष्ट्रियमा चौथो १० विकेटको जित हो। उता, युएईले भने यो ढाँचामा पहिलो पटक १० विकेटको हार बेहोरेको छ।

tim seifert

  • विश्वकप इतिहासकै ठुलो साझेदारी

टिम सेफर्ट र फिन एलेनबिचको १७५ रनको अविजित ओपनिङ साझेदारी पुरुष टी-२० विश्वकपमा कुनै पनि विकेटका लागि भएको अहिलेसम्मकै उच्च साझेदारी हो। यसअघि यो रेकर्ड जोस बटलर र एलेक्स हेल्सको नाममा थियो, जसले २०२२ मा भारतविरुद्ध एडिलेडमा १७० रनको अविजित साझेदारी गरेका थिए।

न्युजिल्याण्डका लागि विश्वकपमा यसअघि एक मात्र शतकीय साझेदारी (१०५ रन) मार्टिन गप्टिल र ग्लेन फिलिप्सबीच २०२१ मा स्कटल्याण्डविरुद्ध भएको थियो।

  • न्युजिल्याण्डको उत्कृष्ट ओपनिङ

सेफर्ट र एलेनको १७५ रनको साझेदारी न्युजिल्याण्डका लागि टी-२० अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च ओपनिङ साझेदारी हो। साथै, यो कुनै पनि जोडीले युएईविरुद्ध बनाएको सबैभन्दा ठुलो साझेदारी पनि हो।

समग्रमा भने न्युजिल्याण्डका लागि यो दोस्रो ठुलो साझेदारी हो। पहिलो स्थानमा डेभोन कन्वे र ग्लेन फिलिप्सले २०२० मा वेस्ट इन्डिजविरुद्ध तेस्रो विकेटका लागि गरेको १८४ रनको साझेदारी रहेको छ।

finn allen

  • सेफर्ट र एलेनका व्यक्तिगत कीर्तिमानहरू

२३ बलमा अर्धशतक : 

टिम सेफर्टले मात्र २३ बलमा आफ्नो अर्धशतक पूरा गरे, जुन पुरुष टी-२० विश्वकपमा न्युजिल्याण्डका लागि संयुक्त रूपमा सबैभन्दा छिटो अर्धशतक हो। यसअघि २००९ मा आरोन रेडमण्डले आयरल्याण्डविरुद्ध आफ्नो डेब्यु खेलमै २३ बलमा अर्धशतक बनाएका थिए।

फिन एलेनको ५००० रन: 

फिन एलेन सामना गरेको बलको आधारमा सबैभन्दा छिटो ५००० रन पूरा गर्ने ब्याटर बनेका छन्। उनले मात्र २८५४ बलमा यो कोसेढुङ्गा पार गरे। यसअघि यो रेकर्ड अभिषेक शर्मा (२८९८ बल) को नाममा थियो।

छिटो १०० छक्का: 

एलेनले टी-२० आई क्रिकेटमा १०० छक्का पूरा गर्न ८७१ बल मात्र लगाए। उनी इभिन लुइस (७८९) र करनबीर सिंह (८१३) पछि १०० छक्का प्रहार गर्ने तेस्रो छिटो खेलाडी बनेका छन्। उनी न्युजिल्याण्डका लागि १०० छक्का प्रहार गर्ने पाँचौँ ब्याटर बने भने उनका ओपनिङ पार्टनर सेफर्टले पनि मंगलबार नै १०० छक्का पूरा गरेका छन्।

  • पावरप्लेमा विष्फोटक ब्याटिङ

न्युजिल्याण्डले पावरप्लेमा बनाएको ७९/० को स्कोर पुरुष टी-२० विश्वकपमा उनीहरूको अहिलेसम्मकै उच्च स्कोर हो। साथै, जारी संस्करणमा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा धेरै पावरप्ले रन हो। यसअघि न्युजिल्याण्डको उच्च स्कोर २०२२ मा अस्ट्रेलियाविरुद्ध ६५/१ रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप