पूर्वराजा काठमाडौँ फर्किंदै, विमानस्थलदेखि निर्मल निवाससम्म एसपीको कमाण्डमा प्रहरी परिचालन
सारांश
- पूर्व राजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ आउँदै छन्, समर्थकहरूले स्वागतको तयारी गरेका छन्।
- विमानस्थलमा भीडभाड र उच्छृङ्खल गतिविधि हुनसक्ने अनुमानका साथ सुरक्षा व्यवस्था कडा पारिएको छ।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेट भित्र निषेधाज्ञा जारी गरिएको छ, जसले फागुन १ गतेदेखि एक महिनासम्म लागु हुनेछ।
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौँ आउँदै छन् । पूर्व राजा समर्थकहरूले उनलाई विमानस्थलमा स्वागत गर्ने तयारी गरेका छन् । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएर भव्य स्वागत गर्न आव्हान गरेका छन् ।
शाह कैलाश हेलिकप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछन् । राजावादीहरूको स्वागत कार्यक्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने र त्यसको प्रभाव फागुन २१ मा हुने निर्वाचनमा पर्ने आकलन गरेर जिल्ला सुरक्षा समितिले सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको छ । सुरक्षा समितिको निर्णय अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा योजना बनाएर सुरक्षाकर्मी परिचालन गरेको छ ।
सुरक्षा योजना अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवास सम्मको रुटमा २० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरू खटिने छन् । फिल्डको कमान्ड जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले गर्ने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेट भित्रको क्षेत्रमा निषेधाज्ञा लागु गरेको छ । निषेधाज्ञा फागुन १ गतेदेखि एक महिनासम्म लागु हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञा लागु गरिएको क्षेत्रमा जान कडाइ गरिने एसपी पवन भट्टराईले बताए । उनले भने, ‘विमानस्थल भित्र जान दिँदैनौ, बाहिर भिडको व्यवस्थापनमा अधिकतम जनशक्ति परिचालन गर्छौँ ।’
भिडको आकार हेरेर सुरक्षा रणनीति परिवर्तन गरिने भट्टराईले बताए । भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको कमान्ड पोस्टबाट एसएसपी रमेश थापा र काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले सुरक्षा कर्मीलाई कमान्ड गर्नेछन् ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी ईश्वर कार्कीले समग्र परिचालन र व्यवस्थापनको मनिटर गर्ने गरी सुरक्षा योजना लागु गरिएको सुरक्षा अधिकृतहरू बताउँछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले पूर्व राजाको स्वागतमा आउन आव्हान गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विमानस्थल आसपास लगाइएको निषेधाज्ञाप्रति आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘निषेधाज्ञा चुनाव बिथोलिन नदिन हो कि आफैँ बिथोल्न लागेको हो ?’ संवैधानिक व्यवस्थालाई मनोमानी ढङ्गले प्रयोग गरेमा निषेधाज्ञा कसले मान्छ ? भन्दै उनले प्रश्न गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण