दोहोरियो इतिहास : विश्वकपमा फेरि जिम्बाब्वेसँग स्तब्ध बन्यो अस्ट्रेलिया
सारांश
- टी-२० विश्वकपमा जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले पराजित गर्यो, अस्ट्रेलिया १४६ रनमा अलआउट भयो।
- जिम्बाब्वेका ब्याट्सम्यान ब्रायन बेनेटले ६४ रन बनाए भने ब्लेसिङ मुजराबानीले ४ विकेट लिए।
- सन् २००७ पछि जिम्बाब्वेले टी-२० विश्वकपमा अस्ट्रेलियालाई दोस्रो पटक हराएको हो।
कोलम्बाे । टी–२० विश्वकप अन्तर्गत समूह बीको खेलमा जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले पराजित गरेको छ । जितका लागि १ सय ७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९.३ ओभरमा १४६ रनमा अलआउट भएको हो । अस्ट्रेलिया जिम्बाब्वेसँग टी–२० विश्वकपमा स्तब्ध बनेको यो दोस्रो अवसर हो ।
सन् २००७ को पहिलो संस्करणमा भएको एकमात्र भेटमा जिम्बाब्वेले अस्ट्रेलियालाई ५ विकेटले हराएको थियो । रिकी पोन्टिङको कप्तानीमा रहेको र एडम गिलक्रिस्ट, म्याथ्यु हेडेन तथा ब्रेट ली जस्ता स्टार खेलाडीहरूले भरिएको अस्ट्रेलियाली टोलीविरुद्ध जिम्बाब्वेको त्यो प्रदर्शन ऐतिहासिक थियो ।
घाइते खेलाडीको मारमा रहेको अस्ट्रेलियाका लागि म्याट रेनशाले सर्वाधिक ६५ रनको योगदान दिए । उनले ४४ बलमा ५ चौका र १ छक्का प्रहार गरे । ग्लेन म्याक्सवेलले ३२ बलमा १ चौका र १ छक्काको मद्दतले ३१ रन बनाए । कप्तान ट्राभिस हेडले १५ बलमा १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अस्ट्रेलियालाई सस्तोमा समेट्न ब्लेसिङ मुजराबानीले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । ब्राड इभान्सले ३ विकेट हात पारे । शुक्रबार कोलम्बोको प्रेमदासा स्टेडियममा भएको खेलमा जिम्बाब्वेले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ६९ रन बनाएको थियो ।
टोलीका लागि ओपनर ब्रायन बेनेटले अर्धशतकीय पारी खेले । उनले ५६ बलमा ६४ रन बनाए । यसक्रममा उनले ७ चौका हिर्काए । उनले ओपनर टाडीवानासे मारुमानी र रायन बर्लसँग अर्धशतकीय साझेदारी गरेका थिए ।
मारुमानी र बर्लले समान ३५–३५ रनको योगदान दिए । खेलको अन्त्यतिर कप्तान सिकन्दर राजाले १३ बलमा २५ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गरे । अस्ट्रेलियाका लागि मार्कस स्टोइनिस र क्यामरुन ग्रिनले १–१ विकेट हात पारे ।
दुवै टोलीको यो दोस्रो खेल हो । अस्ट्रेलियाले पहिलो खेलमा आयरल्याण्डलाई ६७ रनको विशाल अन्तरले हराएको थियो । जिम्बाब्वेले पनि पहिलो खेलमा ओमानमाथि ८ विकेटको सानदार जित हात पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण