अघिल्लो चुनावमा पुल शिलान्यास गरेर गएका नेता फर्केर आएनन्, मतदाताको आक्रोश
सारांश
- बाराको रामनगर पसाहा खोलामा पुल निर्माण नहुँदा स्थानीय मतदाता आक्रोशित भएका छन्, शिलान्यास भएको ४ वर्ष बितिसक्दा पनि पुल बनेको छैन।
- निर्वाचनमा भोट माग्न आउने नेताहरूले पुल बनाउने प्रतिबद्धता जनाए पनि जितेपछि फर्केर नआएको स्थानीयको गुनासो छ, जसले गर्दा आवातजावतमा समस्या भएको छ।
- पुल निर्माणका लागि निर्वाचित सांसद र पूर्व सांसदले चासो नदेखाएको भन्दै स्थानीय युवाहरूले विरोध गरेका छन्, र आगामी चुनावमा नेताहरूलाई सबक सिकाउने चेतावनी दिएका छन्।
बारा । शिलान्यास भएको ४ वर्षसम्म पनि सिमरा–कोल्हवी सडकखण्ड अन्तर्गतको रामनगर पसाहा खोलामा पुल नबनेपछि मतदाताहरू आक्रोशित भएका छन्।
प्रत्येक निर्वाचनमा भोट माग्न आउने उम्मेदवारहरूले पुल बनाउँछु भन्दै प्रतिबद्धता जनाउँछन्, तर जितेर गएपछि फर्केर नआउने गरेको स्थानीय मतदाताहरूको गुनासो छ।
२०७९ को प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मुखमा सो पुलको शिलान्यास भएको थियो। तत्कालीन संघीय सांसद रामबाबु प्रसाद यादव र रामसहाय प्रसाद यादव (हाल उपराष्ट्रपति) ले संयुक्त रूपमा शिलान्यास गरेका थिए। गत निर्वाचनमा रामबाबु बारा–३ मा पराजित भए भने रामसहाय बारा–२ बाट निर्वाचित भएलगत्तै उपराष्ट्रपति बने।
सो क्षेत्रमा मतदाताहरूले एमालेकी ज्वालाकुमारी साहलाई निर्वाचित गराए। तर, साहले निर्वाचित भएको करिब ४ वर्षमा पुल निर्माणका लागि कुनै पहल नगरेको स्थानीयहरूको गुनासो छ।

जीतपुर सिमरा–१७, जैतापुरका ७८ वर्षीय वृद्ध रामआज्ञा साहले जनताको काम गर्ने कोही नेता अहिलेसम्म नजन्मिएको गुनासो गरे ।
‘यहाँका लागि नेता नै कोही छैनन्, सबै नेता आउँछन्, जान्छन्, हेर्छन् तर कसैले केही गर्दैनन्,’ साहले भने, ‘कांग्रेसको मान्छे हौं, हामी कांग्रेसलाई भोट दिँदै आएका हौं तर अब मन मरिसक्यो।’
खोलामा पुल नहुँदा असार–साउन महिनाभर यो बाटो बन्द हुन्छ। यहाँका स्थानीयहरू १ घण्टा घुमेर पूर्व–पश्चिम राजमार्गको प्रयोग गरी आउजाउ गर्ने गर्दछन्।
सिमराका उद्योगहरूमा काम गर्ने तथा कोल्हवी, करैयामाई, बारागढी हुँदै रौतहटसम्म आउजाउ गर्ने यात्रुहरूले मुख्य समस्या भोग्दै आएका छन्। सिमरादेखि रौतहटको गौरसम्म जाने यात्रुहरूका लागि मुख्य राजमार्गको तुलनामा सिमरा–कोल्हवीको सडक प्रयोग गर्दा ६० किलोमिटरसम्म दूरी कम पर्दछ।

यो पुल बनिदियो भने धेरै सहज हुने साहको भनाइ छ। यहाँका स्थानीयहरूलाई नागरिकता बनाउन र वडा कार्यालयमा सिफारिस लिन खोला तरेर जानुपर्छ। खोलामा बाढी आउँदा २०–२२ किलोमिटर परबाट घुमेर जानुपर्ने बाध्यता छ।
बोधवनबाट माछा ल्याएर डुमरवाना, फत्तेपुर हाटबजारमा बिक्री गर्ने माछा व्यापारी सञ्जय माझीले चुनावको बेला खोलामा पुल बनाउँछु भन्दै प्रतिबद्धता जनाएर भोट माग्ने नेताहरूलाई यसपटक जनताले देखाइदिने भन्दै आक्रोश पोखे।
‘यहाँ बाटोघाटो र पुलको धेरै समस्या छ,’ माझीले भने, ‘चुनाव जितेर फर्केर नआउने नेताहरूलाई यसपटक चुनावमा जनताले देखाइदिन्छन्।’
जीतपुर सिमरा–१७, जैतापुरका धनसुन्दर प्रसाद साहले गत निर्वाचनमा पुल शिलान्यास गरेका रामबाबु प्रसाद यादव फर्केरै नआएको र जनताले चुनाव जिताएर पठाएकी ज्वालाकुमारी साहले पनि पुल निर्माणमा कुनै पहल नगरेको गुनासो गरे।

‘पुल नहुँदा पानी परेपछि वारपार गर्न सकिँदैन, बच्चाहरू बिरामी हुँदा एम्बुलेन्स आउन सक्दैन,’ स्थानीयवासी साहले भने, ‘चुनाव जित्ने बेला ज्वालाकुमारी साहले पुल बनाउँछु भनेर प्रतिबद्धता पनि जनाउनुभयो तर फर्केर आउनुभएन।’
प्रत्येक निर्वाचनमा मतदाताहरूलाई आश्वासन मात्रै बाँडेको भन्दै यसपटक जैतापुर र रामवनका स्थानीयहरूले भोट माग्न आउने ठूला दलका नेताहरूलाई गाउँमा कार्यक्रम गर्न समेत रोकेका छन्।
बारा–३ की निवर्तमान संघीय सांसद ज्वालाकुमारी साह निर्वाचित भएर गाउँ फर्केर नआएको र जनताको समस्या बेवास्ता गरेको भन्दै स्थानीय युवाहरूले विरोध गरेका छन् । साहले भने आफूले पहल गर्दागर्दै केपी ओली नेतृत्वको सरकार ढलेको प्रतिक्रिया दिइन् ।
_3XdtWkc4Id.jpg)
यसैगरी रामबाबु प्रसाद यादवले निर्वाचनमा पराजित भएपछि जनताका समस्या उठाउने ठाउँ नै आफूले नभेटेको बताए।
‘पहिलो चरणमा ठेक्का नलागेपछि पुल निर्माणको काम अगाडि बढ्न सकेन, पुनः ठेक्का लगाउन निर्वाचित सांसदले पहल गर्नुपर्थ्यो तर गर्नुभएन,’ रामबाबुले भने, ‘चुनाव हारेपछि पनि मैले पहल गर्दा पुल महाशाखाका कर्मचारीले हारेको सांसदले किन चासो राख्नुपर्यो भन्दै पूर्वाग्रही ढङ्गले ममाथि दुर्व्यवहार गरे।’
पसाहा खोलाको पुल निर्माणका लागि ४ वर्षअघि नै २५ करोडको ठेक्का सूचना निकालिएको थियो। पहिलो चरणमा ठेक्का साकार हुन सकेन भने निर्वाचित संघीय सांसदले चासो नदेखाउँदा पुल निर्माणका काम अगाडि बढ्न नसकेको स्थानीयहरूको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण