बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बुवाले साइकल नकिनिदिएपछि बालकले रचे आफू अपहरणमा परेको नाटक

शनिबार, ०२ फागुन २०८२, १५ : ११
शनिबार, ०२ फागुन २०८२

मध्य प्रदेश । मध्य प्रदेशको गुना सहरमा कक्षा ७ मा अध्ययनरत एक १२ वर्षका विद्यार्थीले आफ्नै अपहरणको झुटो कथा बनाएको घटना सार्वजनिक भएको छ ।

प्रहरीले काउन्सिलिङ गर्दा बालकले पढाइमा मन नलाग्ने र बाबुले साइकल नकिनिदिएको कारण यस्तो कहानी बनाएको खुलासा भएको हो ।

जानकारी अनुसार ती विद्यार्थी जाटपुरास्थित एक सरकारी विद्यालयमा कक्षा ७ मा पढ्छन् । उनलाई उनकी आमा दैनिक विद्यालय पुर्‍याउने र लिन आउने गर्थिन् । शनिबार आमा विद्यालय लिन जाँदा बालक त्यहाँ भेटिएनन् ।

बालकले सुरुमा प्रहरीलाई दिएको बयानमा भनेका थिए, 'म पानीको बोतल भर्न विद्यालय बाहिर गएको थिएँ । त्यहाँ एउटा गाडी उभिएको थियो । चालकले पानी मागेपछि म बोतल लिएर गएँ । त्यही बेला पछाडिबाट एक व्यक्तिले समात्यो । त्यसपछि म कसरी बिलोनिया पुगेँ, मलाई थाहा छैन ।'

बालकका पिता देवेन्द्र धाकडका अनुसार बिलोनिया क्षेत्रबाट एक व्यक्तिले फोन गरी बालक बेहोस अवस्थामा भेटिएको जानकारी दिएका थिए । त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको सहयोगमा बालकलाई सुरक्षित फेला पारेर थानामा ल्याइएको थियो ।

सोधपुछमा खुल्यो सत्य

प्रहरीले सोधपुछ गर्दा बालकको बयानमा धेरै असंगति देखिएको समाचारमा उल्लेख छ । कडाइका साथ गरिएको काउन्सिलिङमा बालकले आफू पढ्न मन नलाग्ने र बाबुले साइकल नकिनिदिँदा रिसले यस्तो झुटो कथा बनाएको स्वीकार गरेका छन् । आफैं बिलोनियासम्म पुगेको पनि बालकले प्रहरीसमक्ष बताएका थिए।

प्रहरीले अभिभावकलाई बालबालिकासँग नियमित संवाद राख्न र उनीहरूको मनोभाव बुझ्न आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप