बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गौरमा सर्वपक्षीय सहमति,पाँच बुँदे सहमतिपछि आन्दोलन स्थगित

आइतबार, ०३ फागुन २०८२, ०७ : ५०
आइतबार, ०३ फागुन २०८२

सारांश

  • रौतहटमा सिडिओको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति गरेपछि व्यापारी आन्दोलन स्थगित भयो।
  • शुक्रबारदेखि बन्द रहेको गौरका पसलहरू शनिबार साँझदेखि खुलेका छन् र बजारको अवस्था सामान्य भएको छ।
  • बैठकले करदाता सेवा कार्यालयबाट कागजात सार्ने विवाद समाधान गर्दै विभिन्न निर्णयहरू गरेको छ।

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटको सभाकक्षमा सिडिओ दिनेश सागर भुसालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति गरेको छ। सहमतिसँगै रौतहट उद्योग वाणिज्य संघको अगुवाइमा जारी व्यापारी आन्दोलन स्थगित गरिएको छ।

सहमति भएपछि शुक्रबारदेखि बन्द रहेको जिल्ला सदरमुकाम गौरका सम्पूर्ण पसल शनिबार साँझदेखि नै खुला भएका छन्। गौर बजारको अवस्था अहिले सामान्य बनेको प्रशासनले जनाएको छ।

पाँच बुँदे सहमति

बैठकले  शुक्रवार करदाता सेवा कार्यालयबाट कागजात सार्ने क्रममा उत्पन्न विवादबारे छलफल गर्दै पाँच बुँदे सहमति जुटाएको हो । 

फागुन १ गते गौरमा भएका घटनाबारे अर्थ मन्त्रालय र गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै करदाताको सेवा सम्बन्धमा गौरवासीको आवाज गम्भीरतापूर्वक सम्बोधन गर्न अनुरोध गर्ने निर्णय भएको छ।

करदाता सेवा कार्यालय, गौरबाट प्रवाह हुने सेवाका सम्बन्धमा २०८२ पुस १८ गते सरोकारवालाबाट भएको निर्णय यथावत् राख्ने, निर्वाचनपछि सरोकारवालासहित छलफल गरी रौतहटमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्ने विषयमा अर्थ मन्त्रालयलाई अनुरोध गर्ने, हाल प्रवाह भइरहेको सेवामा कर अधिकृतको व्यवस्था मिलाई सेवा प्रवाह तथा क्षमता विकासमा खटाउने र निर्वाचनपछि करदाता सेवा कार्यालयकै भवनबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन आन्तरिक राजश्व विभागमा अनुरोध गर्ने निर्णय भएको सिडिओ भुषालले बताए। 

त्यस्तै साविक करदाता सेवा कार्यालयमा रहेका करदाताका फाइल, अभिलेख तथा जिन्सी सामग्री सोही कार्यालयमा सुरक्षित राख्ने व्यवस्था मिलाउने, हाल करदातालाई दिइँदै आएको सेवालाई चुस्त–दुरुस्त बनाउँदै निर्वाचन वातावरण तयार गर्न सबै पक्षले सहयोग गर्ने, उद्योग वाणिज्य संघ तथा आबद्ध संघसंस्था र सरोकारवाला निकायबाट भएका आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने निर्णय गरिएको छ।

बैठकमा सिडिओ दिनेश सागर भुसाल, नेपाली सेनाका कर्णेल विश्वास विष्ट, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजाल, सशस्त्र प्रहरी बल नेपाल नं। ११ गणका गणपति एसपी रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धानका उप निर्देशक कुमार बुढाथोकी, सहायक  सिडिओ जितेन्द्र कुमार यादव,आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख कर अधिकृत दिनेश पाण्डे, करदाता सेवा कार्यालय गौरका कर अधिकृत दीपेन्द्र कुमार झा, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य संघका अध्यक्षलगायत सहभागी थिए।

यसैगरी नेपाल पत्रकार महासंघ, रौतहटका प्रतिनिधि ,जगलाल प्रसाद, विभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यापारी तथा नागरिक समाजका सदस्यहरूको समेत सहभागिता रहेको थियो।

ट्रक रोकेपछि चर्किएको थियो विवाद

यसअघि आन्तरिक राजश्व कार्यालय पथलैयाबाट करदाता सेवा कार्यालय गौरको सामान लैजान आएको ट्रकमा सामान राखेपछी  विवाद चर्किएको थियो। विरोधका कारण ट्रकमा लोड गरिएका सामग्री पुनः करदाता सेवा कार्यालय गौरमै फिर्ता राखिएको थियो।

करदाता सेवा कार्यालय सार्ने सरकारी निर्णयको विरोधमा नेकपा एमालेका केन्द्रीय सदस्य अजय कुमार गुप्ता, नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार झा, रास्वपाका उम्मेदवार राजेश चौधरी तथा उद्योग वाणिज्य संघलगायत विभिन्न संघसंस्थाले असन्तुष्टि जनाएका थिए।

सर्वपक्षीय सहमतिसँगै अहिले गौरको अवस्था सामान्य बन्दै गएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप