राजविराजको सुप्रसिद्ध शिवालय: हरिनन्देश्वर महादेव मन्दिर
सारांश
- महाशिवरात्रि पर्व भगवान् शिवको आराधना पर्व हो, जुन नेपालमा धुमधामका साथ मनाइन्छ।
- यस पर्वमा, शिवका मन्दिरहरूमा विशेष पूजा र जागरण गरिन्छ, भक्तजनहरूले व्रत र विभिन्न धार्मिक कार्य गर्छन्।
- राजविराजको हरिनन्देश्वर महादेव मन्दिरमा शिवरात्रिको विशेष महत्व छ, जहाँ हजारौं भक्तजनहरू सहभागी हुन्छन्।
सनातन संस्कृतिमा शिवलाई परमेश्वर मानिन्छ । भक्तजनले उनलाई महादेव, आशुतोष, इशान, महेश, हरिहर, शंकर, रुद्र, गिरीश आदि नामले पनि पुकार्छन् । भगवानको तीन रूपहरूमध्ये शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ । शैव सम्प्रदायमा शिवको उपासना गरिन्छ । शिवलाई प्रायः जसो शिवलिङ्गको रूपमा पूजा गर्ने गरिन्छ । शिवका उपासक शैव कहलाउँछन् ।
वैदिक कालमा रुद्रको रूपमा पूजिने देवता पौराणिक कालमा शंकर, महादेव, शिव जस्ता नामले पुजिन थालिए । शिव पुराणका अनुसार उनको स्वरूपमा गंगा, चन्द्रमा, त्रिनेत्र, सर्प र मानव खप्परको माला, भस्म, बाघको छाला, त्रिशूल आदि शक्ति सजिएका छन् । उनको वाहन नन्दी हुन् । उनको धनुषलाई पिनाक भनिन्छ । उनीसँग पाशुपतास्त्र छ । शिव पुराणमा उनको शौर्य र करुणाको बारेमा धेरै कथाहरू छन् ।
महाशिवरात्रि पर्व भगवान् शिवको आराधना पर्व हो । महाशिवरात्रि पर्व प्रत्येक वर्ष व्रत, पूजा, अभिषेक, धुनी, जागरण गरी मनाइन्छ ।
चन्द्रमासको औँसीभन्दा एकदिन अगाडिको रातलाई शिवरात्रि भनिन्छ । एक वर्षमा १२–१३ शिवरात्रिहरू पर्छन्, जसमध्ये माघ (वा फाल्गुन) मा पर्ने शिवरात्रिलाई महाशिवरात्रि भनिन्छ । शिवरात्रि आध्यात्मिक दृष्टिले जागरणको रात हो ।
महाशिवरात्रि समाजमा एक विवाहोत्सवको रूपमा बढी प्रचलित छ । फाल्गुन कृष्ण चतुर्दशीको राति मनाइने शिवरात्रि भगवान् शिव र माता पार्वतीको मिलन (विवाह) को पावन रात हो । यो पर्व शिवको निराकारबाट साकार रूप अर्थात् शिवलिंगको प्रकटीकरणको प्रतीक हो, जो शिवको सर्वोच्चता सिद्ध गर्ने ज्योतिर्लिङ्ग उत्पत्तिको कथासँग सम्बन्धित छ । यस दिन सनातनीहरू चतुर्दशी उपवास, पूजा–अर्चना र रात्रि जागरण गर्छन् । यस रातमा, उत्तरी गोलार्द्धमा ग्रहहरू विशेष अवस्थामा हुन्छन्, जसले गर्दा मानिसमा ऊर्जाहरू स्वतः माथितिर जान्छन् ।
शास्त्रका अनुसार यसै रात भगवान् शिव र माता पार्वतीको विवाह सम्पन्न भएको थियो । त्यसैले यसलाई महाशिवरात्रि अर्थात् ’शिवको महान रात’ भनिन्छ ।
यसै रात भगवान् शिव पहिलो पटक शिवलिंगको रूपमा प्रकट भएका थिए, जो उनको आदि र अन्तविहीनताको प्रतीक हो ।
यसैगरी समुद्र मन्थनको समय निस्किएको कालकूट विषलाई पान गरेर शिवजीले संसारको रक्षा गरेका थिए, र विषको प्रभावलाई कम गर्नका लागि देवताहरूले उनीमाथि जल चढाएका थिए, जो महाशिवरात्रिको रात शिव पूजाका महत्वलाई दर्शाउँछ ।
हरेक वर्ष नेपालमा महाशिवरात्रि पर्व फाल्गुन कृष्णपक्षको चतुर्दशीमा धुमधामले मनाइन्छ । धार्मिक–आध्यात्मिक जागरणको साथसाथै यसै दिन राष्ट्रिय राजधानी काठमाडौँ टुँडिखेलमा बढाइँका साथ सेना दिवस मनाइन्छ ।
प्राचीन समयदेखि नै नेपालमा थुप्रै धार्मिक स्थलहरू रहेको पाइन्छ । नेपालका विभिन्न क्षेत्रमा भगवान् शिवका थुप्रै मठ, मन्दिर र तीर्थ स्थलहरू रहेका छन् । आराध्यदेव भगवान् श्रीपशुपतिनाथ संसारमै प्रसिद्ध तीर्थस्थल हो । शिवको निवास स्थान कैलाश तीर्थालुको लागि नेपाल पनि एक मार्गको रूपमा रहेको छ ।
भगवान् शिव साना–ठुला, गरिब–धनी, ज्ञानी–अज्ञानी सबैका लागि सहज देवता भएकाले तराई मधेशका सबै गाउँ नगरमा शिव मन्दिरहरूको उल्लेखनीय उपस्थिति देखिन्छ ।
जनकपुर र आसपासका क्षेत्रहरूमा अनेक शिव मन्दिरहरू छन् । शिवचोकस्थित शिव मन्दिर, गंगासागरस्थित भूतनाथ, कपिलेश्वरनाथ महादेव, कुपेश्वरनाथ महादेव, क्षिरेश्वरनाथ महादेव, सतोषरस्थित सप्तेश्वरनाथ महादेव मन्दिर, सीमावर्ती क्षेत्रको कल्याणेश्वरनाथ महादेव, महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ महादेव चर्चित शिव मन्दिरहरू हुन् ।
सप्तरीमा अनेक शिव मन्दिर छन् । सप्तरीको प्रसिद्ध शिव मन्दिरहरूमा महादेवाको अंकुरी महादेव मन्दिर, लालापट्टीको लालेश्वरनाथ महादेव मन्दिर, शम्भुनाथको शम्भुनाथ बाबाको मन्दिर, महादेवपट्टीको महादेव मन्दिर, घोघनपुरको भजनेश्वरनाथ शिव–पार्वती मन्दिर, राजविराजको हरिनन्देश्वर महादेव मन्दिर हुन् ।
सप्तरी जिल्लाको सदरमुकाम राजविराजको नाम यहाँ स्थित सेनकालीन राजदेवी मन्दिरको नाममा राखिएको छ ।
राजविराज आठ दशकअघि टाउन प्लानिङअनुसार बसाइएको नेपालको पहिलो नगर हो । सप्तकोशीले सप्तरीको तात्कालिन सदरमुकाम हनुमाननगरलाई कटान गरेपछि विकल्पको रूपमा नगर बसाई वि.सं. १९९८ सालमा सदरमुकाम राजविराज सारियो । राजविराज नगर क्षेत्रमा राजदेवी, दुर्गा, वागेश्वरी, हनुमान, रामजानकी, गणेश, राधाकृष्ण, विष्णु, बैष्णवी काली, महादेव लगायत मन्दिर छन् ।
राजविराजमा अनेक शिव मन्दिर छन् । त्यसमध्ये हरिनन्देश्वर महादेव मन्दिर सबै भन्दा पुरानो मन्दिर हो । सप्तकोशीको कटानमा पर्न गएको नरहावरहा भन्ने नगरमा रहेका मन्दिरहरूका देव प्रतिमाहरू हनुमाननगरबाट राजविराज ल्याई स्थापना गरिएका थिए । इतिहासकार हरिकान्त लाल दासका अनुसार त्यही नरहावरहाको शिवलिङ्गलाई मनसापुर गाउँमा ल्याई एउटा झुप्रोमा राखी पूजाआजा गर्न थालिएको थियो ।
इतिहासकार हरिकान्त लाल दासले आफ्नो प्रकाशित शोध ग्रन्थ ‘सप्तरीको राजनैतिक इतिहास तथा जिल्लाका प्रमुख धार्मिक स्थलहरू’ पुस्तकमा उल्लेख गरे अनुसार नरहावरहामा यो मन्दिर रहेको बेलादेखिको पुजारीको वंशज पुजारी उचित भारतीले वि.सं. १९९७–९८ साल तिर हनुमाननगरमा कोशीकटानका कारण हरिनन्देश्वर महादेव मन्दिरबाट शिवलिंग झिकी मनसापुर गाउँमा ल्याएर गाउँलेहरूको सहयोगले एउटा सामान्य घरमा त्यसलाई राखी करिब दुई वर्ष त्यहीं पूजा गरे ।
त्यसपछि त्यहाँबाट शिवलिंगलाई राजविराज ल्याइयो । वि.सं. २०१३ सालमा श्री ५ महाराजाधिराज महेन्द्रको राजविराज सवारी भएको बेला शिवलिंग वर्तमान महेन्द्र क्लबको अगाडि एउटा पीपलको रुखमुनि स्थापित थियो र श्री ५ महेन्द्रबाट त्यसै ठाउँमा हरिनन्देश्वर महादेवको शिवलिंगको दर्शन गरिबक्सेको थियो ।
त्यसको केही वर्षपछि बभनगामा कट्टीका एकजना श्रद्धालु बाबुसाहेबले आफ्नै खर्चमा हरिनन्देश्वर महादेवको मन्दिर निर्माण गराए । त्यस मन्दिरसँगै टाँसिएको हनुमान मन्दिर रहेको हुनाले उक्त मन्दिर नयाँ जस्तै देखिएकाले राजविराजका नगरवासीहरू महादेव मन्दिरलाई पुरानो ठान्दैनन् । राजविराज नगरका अरू मन्दिर झैँ यो मन्दिरको शिवलिंग नयाँ नै हुनसक्दछ भन्ने अनुमान इतिहासकार दासले गरेका छन् ।
इतिहासकार दासका अनुसार प्राचीनताको हिसाबले राजविराजको हरिनन्देश्वर महादेव मन्दिरलाई राजदेवीपछि दोश्रो मन्दिरको रूपमा लिन सकिन्छ । यस मन्दिरको निर्माण राजविराज नगरको स्थापनापछि मात्र भयो, तर मन्दिरभित्र स्थापित शिवलिंग धेरै पुरानो हो । नेपाल एकीकरणको पूर्व तर्फको विजय अभियानमा खार्पाका पोखरेलहरूले श्री ५ पृथ्वीनारायण शाहलाई आर्थिक रूपले सहयोग गरेका थिए ।
चौदण्डीको विजय पछि खार्पाका हरिनन्द पोखरेलले वि.सं. १८४० मा हनुमाननगरदेखि करीव ३ माइल पूर्व नरहामा एउटा मन्दिरको स्थापना गरी वि.सं. १८४१ मा गुठी चलाए । हरिनन्द पोखरेल (उपाध्याय) ले स्वयं महादेव स्थापना गरेको हुनाले यसको नाउँ हरिनन्देश्वर महादेव हुन गयो । महादेवको पूजा सन्न्यासी जातबाट मात्र हुने भएकाले संस्थापक पोखरेलले एक जना सन्न्यासी शिव भारतीलाई यसको पूजा र देखरेखको लागि नियुक्त गरेर उक्त सन्यासीलाई कुश विर्ता समेत प्रदान गरेका थिए ।
महाशिवरात्रि पर्वको अवसरमा संसारका सबै मन्दिरहरूमा विशेष पूजा आराधना हुनु स्वाभाविक हो तर शिव मन्दिरहरूमा भने भव्यता शिखरमा पुगेको हुन्छ । महाशिवरात्रिमा शिवालयहरूमा भक्तजनको भीडले कुम्भ मेलाको भान दिन्छ । राजविराजस्थित मन्दिरहरू र खासगरी शिव मन्दिरहरूमा पनि शिवरात्रिको विशेष भव्यता हुन्छ भने हरिनन्देश्वर महादेव मन्दिरमा परम्परागत रूपमा नै शिवरात्रि बृहत् कार्यक्रमका साथ मनाइन्छ । यसैगरी धुनी, प्रवचन, भजनसंध्या लगायतका धार्मिक कार्यक्रमको आयोजना गर्दै रात्रिजाग्राम गरिन्छ ।
एकाबिहानै २२ किलोमिटर टाढा सप्तकोशी नदीबाट काँवरमा जल बोकेर पैदल यात्रा गरी आउने हजारौँ भक्तजनद्वारा शिवलिंगको अभिषेक गरिन्छ ।
यस वर्ष पनि हरिनन्देश्वर महादेव मन्दिरमा शिवरात्रीका लागि सम्पूर्ण तयारी पुरा भएको छ । मन्दिरको प्राङ्गणमा विभिन्न नागरिक, सेना तथा प्रहरी संस्थाहरुले भक्तजनहरूलाई पञ्चामृत, दुध, बेलपत्र, जल, औषधी, पूजा सामाग्री आदि वितरण सेवा प्रवाह गरी पर्वको गरिमा बढाउने गरेका छन् । गत विगतमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्र, मारवाडी महिला मञ्च, राजविराज जेसिज, विश्व हिन्दु युवा संघ, नरसिंह हिन्दु सेना नेपाल, युनाइटेड डेभलपमेन्ट जस्ता संघसंस्थाहरूको सहभागिता रहेको पाइन्छ ।
महाशिवरात्रि पर्वकै अवसरमा शम्भुनाथस्थित शम्भुनाथ बाबाको मन्दिरमा प्रत्येक वर्ष झै यस वर्ष पनि हजारौ श्रद्धालु भक्तजनहरुले भगवान् शिवको पूजापाठका तथा दर्शन गर्ने गर्छन् । यसैगरी, कञ्चनरुप नगरपालिकास्थित शिवपार्वती मन्दिर, हनुमाननगरको शिव मन्दिर, फत्तेपुरस्थित शिवालय, महादेवास्थित अंकुरी महादेव मन्दिर, लालापट्टीस्थित लालेश्वरनाथ महादेव मन्दिर लगायतका गाउँ–गाउँमा रहेका शिवालयहरूमा पनि बिहानै देखि दूध, जल, फलफूल चढाई भक्तजनहरू पूजा गर्छन् । इच्छित मनोकामना पूरा भएपछि भाकल गरेका श्रद्धालु भक्तजनहरू सडकमा घिस्रिदै (दण्ड प्रणाम) वा नाचगान गर्दै शिवालय जाने गरेका हुन्छन् ।
हर–हर महादेव, बोलबम शिवको प्रशंसा गरिएको संस्कृत स्लोक हो । शिवरात्रिमा यस्तो नाराले वातावरण गुञ्जायमान रहन्छ ।
महाशिवरात्रि आत्मशुद्धि, साधना र चेतना जागरणको एक दिव्य पर्व हो । भगवान् शिव चाडै प्रसन्न हुने देवता मानिन्छ, त्यसैले शिवजीलाई आशुतोष पनि भनिन्छ । उनलाई प्रिय ११ वस्तुहरूमा रुद्राक्ष, भस्म, चन्दन, अक्षत, जल, दूध, बेलपत्र, आँक, धतुरो, भाङ्ग र कपुर हुन् ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दख्खल राख्छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण