बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इन्जिनियरमाथि गोली प्रहारको विरोधमा गृहमन्त्रीलाई ज्ञापनपत्र, सुरक्षा ग्यारेन्टी नभए आन्दोलन गर्ने चेतावनी

मङ्गलबार, ०५ फागुन २०८२, १२ : २६
मङ्गलबार, ०५ फागुन २०८२

सारांश

  • सर्लाहीमा प्राविधिक कर्मचारीमाथि भएको गोली प्रहारको घटनाप्रति नेपाल इन्जिनियर्स एशोसिएसनले सरकारको ध्यानाकर्षण गराएको छ।
  • एशोसिएसनले दोषीलाई पक्राउ गरी कारबाही गर्न र इन्जिनियरहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ।
  • इन्जिनियरहरूको सुरक्षाको प्रत्याभूति नभए देशभरका इन्जिनियरहरू आन्दोलनमा उत्रने चेतावनी दिइएको छ।

काठमाडौँ । सर्लाहीमा कार्यरत प्राविधिक कर्मचारीमाथि भएको गोली प्रहारको घटनालाई लिएर नेपाल इन्जिनियर्स एशोसिएसनले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। एशोसिएसनले आज गृह मन्त्रालय पुगेर गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न र कार्यस्थलमा इन्जिनियरहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेको हो। 

सार्वजनिक विकास निर्माणका काममा खटिने प्राविधिकहरूमाथि नै असुरक्षा बढेको भन्दै एशोसिएसनले यस्ता घटना रोक्न ठोस कदम चाल्न सरकारलाई दबाब दिएको छ। ज्ञापनपत्र बुझाउने क्रममा एशोसिएसनका केन्द्रीय सदस्य इन्जिनियर विक्रम कुमार दासले इन्जिनियर र प्राविधिक कर्मचारीको सुरक्षाको विषय राज्यले नजरअन्दाज गर्न नहुने बताए। 

उनले पेशागत सुरक्षाको प्रत्याभूति नभएसम्म कामकाज गर्न कठिन हुने भन्दै सरकारले तत्काल प्रभावकारी कदम नचाले देशभरका इन्जिनियरहरू आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन्। एशोसिएसनले कार्यस्थलमा हुने यस्ता साङ्घातिक आक्रमणले कर्मचारीको मनोबल गिर्ने भएकाले सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राख्न जोड दिएको छ।

एशोसिएसनले सर्लाही घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र देशभरका इन्जिनियरहरूलाई निर्धक्कसँग काम गर्ने वातावरण मिलाउन सरकारसँग जोडदार माग गरेको छ। 

1000204198

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप