सब–इन्जिनियरको हत्या अनुसन्धानमा ढिलाइ, मृतकको मोबाइलको सम्पर्क विवरण हेरिँदै
सारांश
- सर्लाहीमा सब-इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या भएको थियो।
- हत्याको विरोधमा नेपाल इन्जिनियर्स एशोसिएसनले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ र सुरक्षाको माग गरेको छ।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ, तर अहिलेसम्म हत्यारा पत्ता लगाउन सकेको छैन।
काठमाडौँ । सर्लाहीमा फागुन ३ मा साँझ गोली प्रहार बाट सब–इन्जिनियर प्रमोद कुमार यादवको हत्या भयो । मलंगवा नगरपालिका–१० मा डेरा गरेर बस्दै आएका यादवलाई दुई जना मानिसले घर बाहिर बोलाएर गोली प्रहार गरेका हुन् ।
भेट्न बोलाएपछि बाहिर निस्कँदा हत्यामा संलग्नहरूले उनको छातीमा गोली प्रहार गरेर फरार भए । प्रहरीले अहिलेसम्म हत्यामा संलग्नहरूबारे कुनै क्लू फेला पार्न सकेको छैन । घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राई भन्छन्, ‘केही पनि पत्ता लागेको छैन ।’
नेपाल इन्जिनियर्स एशोसिएसनले मङ्गलबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर हत्यारालाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गरेको छ । एशोसिएसनका पदाधिकारीहरूले इन्जिनियरहरूको सुरक्षा सुनिश्चित गर्न पनि माग गरेका छन् । ज्ञापन पत्र बुझाउँदै एशोसिएसनका केन्द्रीय सदस्य इन्जिनियर विक्रम कुमार दासले इन्जिनियर र प्राविधिक कर्मचारीको सुरक्षाको विषय राज्यले नजरअन्दाज गर्न नहुने बताए ।
पेसागत सुरक्षाको लागी प्रभावकारी कदम नचाले देशभरका इन्जिनियरहरू आन्दोलनमा उत्रन बाध्य हुने एसोसिएसनले चेतावनी दिएको छ ।
सब–इन्जिनियर यादवको हत्याबारे अनुसन्धान गर्न मधेस प्रदेश प्रहरी कार्यालय र वीरगन्ज स्थित नेपाल प्रहरी प्रदेश कार्यालयबाट पनि अनुसन्धान अधिकृतहरू खटिएका छन् । मधेस प्रदेशका डीआईजी गोविन्द थपलियाले हत्यामा संलग्नहरूबारे अनुसन्धान भइरहेको बताए । उनले भने, ‘प्रदेश र नेपाल प्रहरी प्रदेश कार्यालयबाट टोली खटाएर हत्यामा संलग्नहरूको खोजी गर्ने काम भइरहेको छ ।’
पूर्वाधार विकास कार्यालयका सर्लाहीमा कार्यरत सब–इन्जिनियर यादव डेरामा बसिरहेको बेलामा घर बाहिर आएर सुटरले नै उनलाई बोलाएका हुन् । सुटर परिचालन कसले गरेको थियो भन्नबारे प्रहरीले अनुसन्धान गरिरहेको भए पनि अनुसन्धानमा ढिलाइ भएको भन्दै पेशागत सङ्घसंस्थाहरूले विरोध गरिरहेका छन् । कर्मचारी मिलन केन्द्र र सर्लाहीमा क्रियाशील सबै ट्रेड युनियनहरूले मंगलबार जिल्लाभर पेन डाउन गर्न आग्रह गरेका छन् ।
अनुसन्धान अधिकृतहरूले मृतकको मोबाइलमा भएको सम्पर्क विवरण विश्लेषण गरिरहेका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘मोबाइल मार्फत भएको कुराकानीको आधारमा योजनाकार सम्म पुग्ने प्रयास गर्दै छौँ ।’
यादवको शव मलंगवा प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको थियो ।
- लघुवित्त लुट्नेहरू पनि पक्राउ परेनन्
सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर–७ मा माघ २२ मा लघुवित्तमा लुटपाट भएको थियो । चार–पाँच जना लुटेराहरूले छिमेकी लघुवित्त संस्थाबाट ८५ हजार नगद र कर्मचारीसँग भएको २ हजार लुटेर फरार भएका थिए । लुटेराहरूले चक्कु देखाएर लुटपाट गरेको लघुवित्तका कर्मचारीले प्रहरीलाई बताएका छन् । सो लुटमा संलग्न प्रतिवादीहरू पनि पक्राउ परेका छैनन् ।
मलंगवामा दिउँसो सवा ४ बजे लुटपाट भएको हो । लुटेराहरूले सिसिटिभीको हार्डडिस्क पनि लिएर भागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण