बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निर्मला पन्तले न्याय नपाउनु राज्यको नैतिक पतनको प्रतीक : खुश्बु ओली

मङ्गलबार, ०५ फागुन २०८२, १९ : १६
मङ्गलबार, ०५ फागुन २०८२

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ खुश्बु ओलीले निर्मला पन्तको हत्याकाण्ड सुल्झाउन नसक्नु राज्यको गम्भीर त्रुटि र न्यायको असफलता भएको बताएकी छिन्।

चुनावी अभियानका क्रममा सुदूरपश्चिमको कञ्चनपुर पुगेकी ओलीले निर्मलाको निर्मम हत्या भएको साढे सात वर्ष बितिसक्दा पनि दोषी पत्ता नलाग्नुले देशको शासकीय र नैतिक संकट छर्लङ्ग पारेको टिप्पणी गरिन्।

आयोजित कार्यक्रममा बोल्दै उनले भनिन्, ‘निर्मलाले न्याय नपाएको आज ७ वर्ष, ६ महिना र २१ दिन भइसक्यो। यो केवल एक परिवारको पीडा मात्र होइन, हाम्रो राज्य प्रणालीमाथि नै ठूलो प्रश्नचिन्ह हो।’

उनले वर्तमान राजनीतिक नेतृत्व धर्म र नैतिक मूल्यभन्दा बाहिर रहेका कारण न्याय हराएको आरोप लगाइन्। सनातन धर्म र नैतिकताले निर्देशित नेतृत्व भएको भए न्याय नै पहिलो प्राथमिकतामा पर्ने उनको तर्क थियो।

निर्मला पन्तको परिवारप्रति ऐक्यबद्धता जनाउँदै ओलीले यो घटनालाई संस्थागत असफलताको संज्ञा दिइन्। ‘नेतृत्व धर्ममा बाँधिएको भए न्याय यसरी पराजित हुने थिएन,“ उनले भनिन्, “अहिले देशमा अधर्म विजयी भइरहेको छ।’ उनले अबको नेतृत्व न्याय, उत्तरदायित्व र नैतिक धरातलमा उभिएको हुनुपर्नेमा जोड दिइन्।

यसैबिच सुदूरपश्चिमको आर्थिक अवस्थाबारे बोल्दै उनले यहाँको जडीबुटी स्रोतको सहि सदुपयोग हुन नसकेको बताइन्। बहुमूल्य जडीबुटीहरू सस्तोमा कच्चा पदार्थका रूपमा बाहिर पठाइने र महँगोमा औषधि आयात गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले स्थानीय स्तरमै प्रशोधन केन्द्र खोल्न आवश्यक रहेको बताइन्। यसबाट रोजगारी सिर्जना हुनुका साथै सुदूरपश्चिमको अर्थतन्त्रमा कायापलट हुने उनको भनाइ थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप