शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागलुङ–१ का उम्मेदवार एउटै मञ्चमा : सुनाए प्रदेश खारेजीदेखि कृषि बिग्रेड बनाउनेसम्मका एजेन्डा

बुधबार, ०६ फागुन २०८२, १२ : ०८
बुधबार, ०६ फागुन २०८२

सारांश

  • बागलुङका उम्मेदवारहरूले चुनावी एजेन्डा प्रस्तुत गर्दै बागलुङको विकास र समृद्धिका लागि प्रतिबद्धता जनाए।
  • विभिन्न दलका उम्मेदवारहरूले शिक्षा, स्वास्थ्य, रोजगार र यातायातलाई प्राथमिकता दिने बताए, साथै बसाइँसराइ रोक्न योजना बनाए।
  • उम्मेदवारहरूले सुशासन, रोजगारी सिर्जना, र पुराना नीतिगत त्रुटिहरू सुधार्ने प्रतिबद्धता व्यक्त गरे।

बागलुङ । बागलुङ–१ का उम्मेदवारले एउटै मञ्चबाट चुनावी एजेन्डा प्रस्तुत गरेका छन् । मंगलबार साँझ बागलुङ बजारस्थित ऐश्वर्य पार्कमा आयोजित ‘प्रत्यक्ष संवाद’मा सहभागी आठ उम्मेदवारले बागलुङको विकास र समृद्धिमा आएका कानुनी अल्झनलाई समाधान गर्ने प्रतिबद्धता जनाए । शिक्षा, स्वास्थ्य, रोजगार र यातायातलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनीहरूले बताए ।

नेपाली कांग्रेसका उम्मेदवार भीम श्रीसले बसाइँसराइ रोक्नका लागि गाउँमा उद्यम विकास र उत्पादनलाई बजारीकरणमा काम गर्ने बताए । प्रोजेक्ट गर्भनेन्समार्फत सुशासन, रोजगारी सिर्जना गाउँमै बस्ने वातावरण तयार गर्ने योजना श्रीसले सुनाए । लामो समयदेखि अलपत्र परेका योजना सम्पन्न गर्न र नीतिगत त्रुटिहरू सुधार्न जरुरी रहेको भन्दै त्यसमा आफू भूमिका खेल्ने उनको भनाइ छ ।

श्रीसले भने, ‘बागलुङमा भएको मुख्य समस्या बेरोजगार हो, रोजगारीका लागि हाम्रा हजारौँ दाजुभाइ बिदेसिनु परेको छ, जसका कारण गाउँका थुप्रै उर्वर भूमि बाँझोमा परिणत भएका छन्, अब हामीले गाउँलाई हराभरा बनाउनु छ, आम नागरिकलाई गाउँमै बस्ने वातावरण सिर्जना गर्नु पर्ने छ, जसका लागि मैलो भूमिका खेल्ने छु ।’

नेकपा एमालेका उम्मेदवार हिराबहादुर खत्रीले पूर्वाधार विकासमार्फत समृद्ध बागलुङमा आधार तय गर्ने बताए । वर्षौँ अगाडि सुरु भएका पूर्वाधार सम्पन्न नहुँदा नागरिकमा निराशा छाएको हुँदा यसको दीर्घकालीन समाधानका लागि नीतिगत सुधारमा आफूले भूमिका खेल्ने उनको भनाइ छ । केसीले सुशासन र स्थानीय विकासमार्फत समृद्धिको यात्रा तय गर्ने सुनाए ।

‘यस क्षेत्रमा ठुलो सम्भावना हुँदा हुँदै पनि पछाडि पर्नु परेको छ, हामीले यहाँको सम्भावनाको पहिचान गर्न जरुरी छ, जिल्लाको विकासको एजेन्डामा अगुवाइ गरेरै जाने मेरो लक्ष्य हो, यहाँको गरिबी, अशिक्षा र राज्यबाट पाउनु पर्ने आधारभूत सेवा नपाएका नागरिकलाई विकाससँग जोड्नु पर्नेछ, नागरिकका माग र आवश्यकता अनुसार नीति निर्माण गरी समृद्धि बागलुङ निर्माण लाग्ने अठोट गरेको छु ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुशील खड्काले युवालाई रोजगारसँग जोड्ने नसके विकास हुन नसक्ने बताए । उनले हरित विकासमार्फत रोजगारी सिर्जना गर्ने भन्दै हिमाल सफाइको अभियान र वातावरणको क्षेत्रमा युवालाई रोजगारी दिने प्रतिबद्धता जनाए । अलपत्र विकासलाई गति दिन अगुवाइ भन्दै युवाको माग र आवश्यकता अनुसार काम गर्ने खड्काले सुनाए ।

उनले भने, ‘पुराना दलले काम नगरेकोले भ्रष्टाचार बढेको हो, लामो समय राज्य सत्ता चलाएका नेताबाट मुलुक निर्माण हुन नसकेपछि हामी आउनु परेको हो, अब नयाँ नीति निर्माण गर्ने र जनताका आशा अपेक्षा पूरा गर्ने हाम्रो जिम्मेवारी हो, सो अनुसार काम गर्नेमा म प्रतिबद्ध छु ।’

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)–राष्ट्रिय जनमोर्चा गठबन्धनका उम्मेदवार कृष्णप्रसाद अधिकारीले सुशासन र राष्ट्रिय स्वाधीनताको रक्षा गर्नु पहिलो जिम्मेवारी रहेको बताए । पछिल्लो समय राष्ट्र र राष्ट्रियतामाथि आक्रमण हुने प्रयास भइरहेको भन्दै यसको प्रतिवाद गर्नु पर्ने उनको भनाइ छ । बागलुङको विकास र समृद्धिका लागि बाधा पु-याएका नीतिलाई सुधार गर्ने काममा आफू लाग्ने प्रतिबद्धता जनाए । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार कल्याण विक्रम आचार्यले हिन्दु धर्म र राजसंस्था स्थापना र प्रदेश तह खारेजीका लागि अगुवाइ गर्ने बताए । खर्चिलो प्रदेश संरचनाले राज्यले ठुलो आर्थिक भार व्यहोर्नु परेको उनको भनाइ छ । 

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता चित्र सापकोटाले युवा परिवर्तनको संवाहक भएको भन्दै उनीहरूलाई स्वदेशमै बस्ने वातावरण तयार गर्नका लागि नीति निर्माण गर्ने सुनाए । बढ्दो बेरोजगारी समस्याले गर्दा गाउँ घरमा युवा शक्ति भेट्याउन मुस्किल परेको भन्दै उनीहरूलाई गाउँमै उद्यमसँग जोड्नका लागि काम गर्ने सापकोटाले बताए । 

मानवतावादी पार्टीका नेता भक्तबहादुर विकले मानवमाथि हुने विभेद र छुवाछुतको विरुद्धमा लाग्ने बताए । धेरै नागरिकले वर्तमान अवस्थामा पनि जातीय, वर्गीय र क्षेत्रीय विभेद खेप्नु परेको भन्दै यसको न्यायका लागि लड्ने विकले सुनाए ।

नेपाल कम्युनिस्ट पार्टी माओवादीका टेकबहादुर केसीले बढ्दो बेरोजगारीलाई रोक्नका लागि कृषि बिग्रेड बनाएर रोजगार सिर्जना गर्ने योजना सुनाए । उनले मुलुकको परिवर्तनका लागि भएको जनयुद्धले लक्ष्य पूरा गर्न नसेको हुँदा यसतर्फ लाग्ने प्रतिबद्धता जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप