मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

जापानमा सानाए ताकाइची पुनः प्रधानमन्त्री नियुक्त हुँदै

बुधबार, ०६ फागुन २०८२, १२ : ४६
बुधबार, ०६ फागुन २०८२

सारांश

  • जापानकी प्रधानमन्त्री सानाए ताकाइची दोस्रो कार्यकालको लागि प्रधानमन्त्री पदमा नियुक्त हुने भएकी छिन् ।
  • उनको सरकारले सैन्य क्षमता विस्तार, रक्षा खर्च वृद्धि, र आप्रवासन नीतिलाई कडा बनाउने योजना बनाएको छ।
  • आर्थिक चुनौती, सुरक्षा रणनीति र वैचारिक परिवर्तनका बीच ताकाइचीको दोस्रो कार्यकाल जापानी राजनीतिका लागि महत्त्वपूर्ण हुने देखिन्छ।

टोकियो । जापानकी प्रधानमन्त्री  सानाए ताकाइची संसदबाट फेरि औपचारिक रूपमा प्रधानमन्त्री पदमा नियुक्त हुने भएकी छिन् । गत साता भएको चुनावमा भारी बहुमत हासिल गरेपछि उनी दोस्रो कार्यकालको मन्त्रिपरिषद् गठन गर्ने तयारीमा छिन् । 

यो प्रक्रिया औपचारिक भए पनि यसको राजनीतिमा  ठुलो प्रतीकात्मक महत्वले हेरिएको छ । निर्वाचनबाट उनको नेतृत्वमा रहेको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले तल्लो सदनमा दुई तिहाइ बहुमत कायम गरेको छ ।

तल्लो सदनमा ४६५ सिटमध्ये दुई तिहाइ नियन्त्रण हुनु ताकाइचीका लागि महत्त्वपूर्ण राजनीतिक शक्ति हो । यसले समितिहरूमा प्रभाव जमाउन र माथिल्लो सदनले अस्वीकार गरेका विधेयकहरू पनि पारित गराउन उनलाई सजिलो हुनेछ । जापानी राजनीतिमा यस्तो भारी बहुमतले सरकारलाई नीतिगत निर्णयहरू छिटो अघि बढाउने अवसर दिन्छ ।

प्रधानमन्त्री ताकाइचीले जापानको सैन्य क्षमता विस्तार, रक्षा खर्च वृद्धि र हतियार निर्यात बढाउने योजना अघि सारेकी छिन् । साथै, उनले आप्रवासन नीतिलाई कडा बनाउने, पुरुष उत्तराधिकारी मात्र समावेश हुने शाही उत्तराधिकार प्रणाली कायम राख्ने र विवाहपछि महिलाले थर परिवर्तन गर्नुपर्ने परम्परालाई संरक्षण गर्ने जस्ता परम्परावादी सामाजिक नीतिहरूलाई जोड दिएकी छिन् । यी कदमहरूले जापानी राजनीतिलाई अझै दक्षिणपन्थी दिशातर्फ लैजान सक्ने विश्लेषकहरूले बताएका छन् ।

तर, अमेरिकी प्रभावमा बनेको युद्धपछिको शान्तिवादी संविधान संशोधन गर्ने उनको सबैभन्दा महत्त्वाकाङ्क्षी लक्ष्य हासिल भने तुरुन्त सम्भव देखिँदैन । देशभित्र बढ्दो मूल्यवृद्धि, सुस्त तलब वृद्धि, घट्दो जनसंख्या र सुरक्षासम्बन्धी चिन्ताले सरकारमाथि तत्काल आर्थिक सुधार गर्न दबाब बढाएको छ । ताकाइचीको पहिलो प्राथमिकता मूल्यवृद्धि नियन्त्रण र घरेलु जीवनयापन खर्च घटाउने भएको छ । 

उनले खाद्य वस्तुमा दुई वर्षका लागि बिक्रीकर कटौती गर्ने योजना अघि सारेकी छिन् । तर अर्थशास्त्रीहरूले यस्तो उदार वित्तीय नीतिले मूल्य अझै बढ्न सक्ने र जापानको विशाल राष्ट्रिय ऋण घटाउने प्रयास ढिलाइ हुनसक्ने चेतावनी दिएका छन् ।

अन्तर्राष्ट्रिय स्तरमा पनि ताकाइचीको कूटनीति महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । उनी आगामी महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने सम्भावित शिखर सम्मेलनको तयारीमा छिन् । ट्रम्पले चुनावअघि नै ताकाइचीलाई समर्थन गरेका थिए । जापानले अमेरिकासँग ५५० अर्ब डलरको लगानी प्याकेजअन्तर्गत प्रारम्भिक चरणमा ३६ अर्ब डलरका परियोजनाहरूमा लगानी गर्ने प्रतिबद्धता जनाएको छ, जसमा ऊर्जा र औद्योगिक परियोजनाहरू समावेश छन् ।

अमेरिकाले जापानमाथि रक्षा खर्च थप बढाउन दबाब दिँदै आएको छ । विश्लेषकहरूका अनुसार ताकाइचीले अमेरिका र चीनबीच सन्तुलित कूटनीति अपनाउनुपर्ने चुनौती सामना गर्नेछिन् । केहीले ताकाइचीले ट्रम्पसँग नजिक रहेर सुरक्षा सुनिश्चित गर्नुपर्ने बताइरहेका छन् भने अर्को पक्षले चीनप्रति कडा अडान लिने अपेक्षामा जनता रहेको बताइरहेका छन् ।

समग्रमा, ताकाइचीको पुनः नियुक्तिले जापानको आन्तरिक राजनीति र विदेश नीतिमा नयाँ मोड ल्याउने संकेत गरेको छ । आर्थिक चुनौती, सुरक्षा रणनीति र वैचारिक परिवर्तनका बीच उनको दोस्रो कार्यकाल जापानी राजनीतिका लागि महत्त्वपूर्ण समय बन्ने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप