शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
टी–२० विश्वकप २०२६

शिवम चम्किँदा भारतद्वारा १ सय ९४ रनको लक्ष्य प्रस्तुत

बुधबार, ०६ फागुन २०८२, २१ : ०८
बुधबार, ०६ फागुन २०८२

काठमाडाैँ। टी–२० विश्वकपको ३६ औँ खेलमा नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गरेको भारतले १ सय ९४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टोलीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतको सुरुवात खराब रह्यो। ओपनर अभिषेक शर्मा दोस्रो बलमा खाता नखोलीकनै बोल्ड भए। उनको विकेट आर्यन दत्तले लिए ।

यो विश्वकपमा अभिषेक शर्माको तेस्रो खेल थियो। उनी तीनै खेलमा शून्य रनमा आउट भए। यसपछि ईशान किशन र तिलक वर्माले दोस्रो विकेटको लागि ३९ रन जोडे ।

तर पाँचौं ओभरको दोस्रो बलमा आर्यन दत्तले ईशानलाई बोल्ड गरे। इशान किशनले ७ बलमा १८ रन बनाए। सुरुवाती दुई विकेट गुमाएको कारण भारतले पावरप्लेमा ५१ रन मात्र बनायो । 

पावरप्ले पछि पनि नेदरल्याण्ड्सका बलरहरूले सूर्यकुमार यादव र तिलक वर्मा विरुद्ध कडा बलिङ जारी राखे। छिटो स्कोर गर्न संघर्ष गरिरहेका तिलक वर्माले नवौं ओभरको अन्तिम बलमा आफ्नो विकेट गुमाए। उनले २७ बलमा ३१ रन बनाए। १० ओभर पछि भारतको स्कोर तीन विकेट गुमाएर ७४ रन थियो । 

कप्तान सूर्यकुमार यादव १४ औँ ओभरमा २८ बलमा ३४ रन बनाउँदै पभेलियन फर्किए । त्यसपछि शिवम दुबेले तीव्र गतिमा रन बनाउँदै भारतको इनिङ्सलाई अघि बढाए । 

अन्तिम ओभरमा आउट हुन अघि उनले ४ चौका र ६ छक्का प्रहार गर्दै ३१ बलमा ६६ रन बनाए । त्यस्तै, हार्दिक पाण्ड्याले २१ बलमा ३० रन जोडे ।
नेदरल्याण्ड्सका बलरहरु मध्ये आर्यन दत्तले सानदार बलिङ गरे । उनले ४ ओभरमा मात्र १९ रन खर्चेर महत्त्वपूर्ण २ विकेट लिए । निकै महँगो साबित भएका लोगन भान विकले ४ ओभरमा ५६ रन खर्चेर ३ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप