भदौ २३ र २४ को घटना संविधान र व्यवस्थामाथि नियोजित आक्रमण : केपी ओली
सारांश
- केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनालाई संविधान र सार्वभौमसत्ता विरुद्धको आक्रमण भनेका छन्।
- ओलीले देशलाई प्रयोगशाला बनाउन खोजिएको भन्दै बाह्य घुसपैठ र हिंसा भड्किएको आरोप लगाए।
- उनले एमालेले संविधान र व्यवस्थाको रक्षा गर्ने र देश विकासको स्पष्ट 'ट्रयाक रेकर्ड' रहेको दाबी गरे।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाहरूलाई नेपालको संविधान, वर्तमान व्यवस्था र राष्ट्रिय सार्वभौमसत्ता विरुद्धको योजनावद्ध आक्रमणका रूपमा चित्रण गरेका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै ओलीले मुलुक अहिले विवेक र आवेगको दोबाटोमा उभिएको बताएका हुन् ।
उनले देश बनाउने र भत्काउने दुई फरक सोचबीचको द्वन्द्वले गर्दा नेपाललाई फेरि प्रयोगशाला बनाउन खोजिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे। अध्यक्ष ओलीले भदौ २३ को आन्दोलनमा बाह्य घुसपैठ भएको दाबी गर्दै शान्तिपूर्ण रूपमा घर फर्कन लागेका युवाहरूलाई नियोजित रूपमा निषेधित क्षेत्रतर्फ धकेलेर हिंसा भड्काइएको आरोप लगाए।
संवैधानिक प्रक्रियाबाट स्थिर सरकार ढाल्न नसकेपछि सडकको सहारा लिएर प्रणालीमाथि नै प्रहार गर्ने उद्देश्यले ती घटनाहरू गराइएको उनको ठहर छ। उनले प्रश्न गर्दै भने, ‘भदौ २३ को प्रदर्शनमा कसले घुसपैठ गर्यो? घर फर्कन लागेका युवालाई निषेधित क्षेत्रतर्फ कसले र किन धकेल्यो? यी घटना स्वतःस्फूर्त थिए कि योजनाबद्ध?’
ओलीले जेनजी प्रदर्शनकारीका सरकार र व्यवस्थाप्रति कुनै माग नहुँदाहुँदै पनि हुँदै नभएको माग पूरा गरेझैँ गरी प्रतिनिधिसभा विघटन गरिनु रहस्यमय भएको बताए। निजी सम्पत्ति, व्यवसायी र सुरक्षाकर्मीलाई निसाना बनाइनुले ती घटनाहरूको उद्देश्य स्पष्ट पारेको उनको तर्क छ।
राजनीतिक अस्थिरता नै देश विकासको मुख्य बाधक भएको उल्लेख गर्दै उनले ठुला दलहरू मिल्नु संकटको कारण नभई अस्थिरता रोक्ने इमानदार प्रयास भएको स्पष्ट पारे। एमालेसँग मात्र विकास, सुशासन र निर्माणको स्पष्ट 'ट्रयाक रेकर्ड' रहेको दाबी गर्दै ओलीले ध्वस्त भएका संरचनाको पुननिर्माण र जनताको खस्किएको मनोबल उकास्ने जिम्मेवारी अब आफ्नो पार्टीको काँधमा आएको जिकिर गरे।
उनले आम मतदाता र समाज प्रश्नै प्रश्नको घेरामा रहेको भन्दै संविधान र व्यवस्थाको रक्षाका लागि एमाले दृढतापूर्वक उभिने बताए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण