बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अर्थ-राजनीतिक विश्लेषक प्रकाश दुलालसँग 'वारपार'

‘जेनजीलाई आतंककारी भन्नेलाई यो निर्वाचनले फाल्छ’

बिहीबार, ०७ फागुन २०८२, २० : ००
बिहीबार, ०७ फागुन २०८२

सारांश

  • ऊर्जाविज्ञ प्रकाश दुलालले निर्वाचनलाई जेनजी आन्दोलनको रूपमा व्याख्या गरेका छन्।
  • दुलालका अनुसार यो निर्वाचनले वामपन्थीहरूको प्रभाव कम गर्नेछ र नीतिगत स्थिरता ल्याउनेछ।
  • उनले केपी ओलीलाई हटाउनु नै जेनजी आन्दोलनको मुख्य लक्ष्य भएको बताए।

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रका अनुभवी ऊर्जाविज्ञ, जलविद्युत् प्रवर्द्धक प्रकाश दुलाल नीतिगत विश्लेषक मानिन्छन् । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका दुलाल अर्थतन्त्र र नीतिगत बहसहरूमा पनि उत्तिकै सशक्त छन् । लामो समय वामपन्थी राजनीति गरेका दुलाल अहिले भने वामपन्थी दलहरूप्रति सकारात्मक धारणा राख्दैनन् ।

जेनजी आन्दोलनप्रति नरम दुलाल त्यो आन्दोलनलाई तीन भागमा बाँडेर हेर्नुपर्ने धारणा राख्छन् । निर्वाचनलाई जेनजी आन्दोलनमो भाग तीनको संज्ञा दिँदै यसले एमालेमा परिवर्तन ल्याउने उनको बुझाइ छ ।

भाग १ ले सरकार परिवर्तन गरेको र भाग २ ले कांग्रेसभित्र परिवर्तन ल्याएको उनको ठहर छ । निर्वाचनपछिको संसदमा वामपन्थीहरू हाबी हुन नसक्ने भएकाले नीतिगत स्थिरतता आउने तर्क उनको छ । पछिल्लो समय राजनीतिक विचारकका रूपमा अध्ययन, अनुसन्धानमा सक्रिय दुलालसँग रातोपाटीले गरेको कुराकानीको सम्पाति अंश (विस्तृत भिडिओमा हेर्न सकिन्छ) :

तपाईंले यो निर्वाचनलाई कसरी हेरिरहनुभएको छ ? फरक छ यो निर्वाचन र यसअघिका निर्वाचनमा ?

जेनजी आन्दोलन सुशासनसँग सम्बन्धित आन्दोलन थियो । राजनीतिक परिवर्तनको आन्दोलन थिएन । सुशासन भएन, सुशासन नभएको कारण हामीले रोजगारी प्राप्त गर्न सकेनौँ र देशमा रोजगारी प्राप्त नहुँदा हामी विदेश जानुपर्‍यो भन्ने युवाहरूको गुनासो छ । यो हुनुमा बुढापुस्ताका नेताहरू जिम्मेवार छन् भन्ने युवाहरूको बुझाइ छ । अहिले अब बुढालाई होइन युवा, पुरानालाई होइन नयाँलाई भन्ने माहोल सिर्जना भएको छ । त्यसले के निर्माण गरेको छ भने अबको राजनीति पुस्ताको बिचको लडाइँको रूपमा यो निर्वाचन देखापरेको छ ।

एमाले अध्यक्षले त देश जलाउने र देश बनाउने बिचको लडाइँ हो भन्नुभएको छ ।

उहाँले २३ गते नै छोडिदिएको भए त एमालेले देश बचाउन सक्थ्यो नि । उहाँको जिद्दीपनले देश जल्या हो नि । विधान महाधिवेशन सकिने बेलुका त्यो जेनजी भन्या को हुन् नभनेर ल जेनजी भाइबहिनी हो, युवाहरू हो के छ तपाईंहरूको ? आउनुस् वार्ता गरौँ, छलफल गरौँ, सरकार तपाईँहरूलाई वार्ताको निम्ति आह्वान गर्छ, एजेन्डा के हो भनेर बोलाइदिएर छलफल गरेको भए हुँदैनथ्यो होला नि त ।

Prakash Dulal

सरकारमा बसेर युवाहरूका आकांक्षालाई सम्बोधन नगर्ने, भ्रष्टाचारमा चुर्लुम्म डुब्ने, पार्टीभित्र पनि निरंकुशता, पार्टी बाहिर पनि निरंकुशता, सामाजिक सञ्जालको माध्यमबाट जनता सचेत भए भनेर त्यसलाई पनि नियन्त्रण गर्ने सोचले गर्दाखेरि उहाँकै कारणले देश जल्या हो । उहाँले पार्टी पनि बचाउनुभएन । देश पनि बचाउनुभएन । देश उहाँको जिद्दीपनले जलेको हो । त्यसैले देश जलाउने उहाँ हो ।

र पनि केपी ओलीको लोकप्रियता घटेकै छैन रे नि त ?

एमालेका कुनै पनि उम्मेद्वारले केपी ओलीलाई लगेर भाषण गराएर आफ्नो मत बढ्छ भन्ने सोचेकै छैन । र मलाई लाग्छ यो निर्वाचनमा नेकपा एमालेको अध्यक्ष आफ्नो निर्वाचन क्षेत्र झापा–५ र आफू बसेको ठाउँ भक्तपुर–२ बाहेक कहीँ गएर सम्बोधन गर्नुहुन्छजस्तो मलाई लाग्दैन । ६ महिना अगाडि विधान परिवर्तन गरेर चार महिनाअघि अत्यधिक मतले महाधिवेशनबाट अध्यक्ष निर्वाचित गराउने सहकर्मीहरूले नै आफ्नो उम्मेदवारी भएको ठाउँमा आफ्नो अध्यक्षलाई लाने स्थिति छैन ।

वामपन्थी आन्दोलनलाई नै कमजोर बनाउने, सकाउने र विदेशी एजेन्ट ल्याउने निर्वाचन हो रे यो ।

शिवरात्रिको दिन टुँडिखेलमा नेपाली सेनाले सेना दिवसका दिन अमेरिकी सेनालाई पनि बोलाएर दिवस मनायो । यो मनाउने प्रचलन प्रदिप ज्ञवाली परराष्ट्र मन्त्री र केपी ओली प्रधानमन्त्री भएको बेला २०७५ सालबाटै सुरु भएको हो । त्यतिबेला त्यही सेनाले परेड खेल्दाचाहिँ विदेशी नहुने ? सत्तामा हुँदा आफ्नो स्वार्थको लागि उपयोग गर्ने, बाहिर भयो भने त्यो राष्ट्रिय हितविपरीत भयो भन्ने कम्युनिस्ट कुरा हुन् ।

लामो समयदेखि एनजीओको माध्यमबाट कम्युनिस्ट पार्टीमा ठुलो विदेशी लगानी आएको थियो । त्यही सन्दर्भलाई ट्रम्पले के भने भने– हामीले नेपालमा गरिरहेको लगानी फ्रड हो । उसैको पैसा खाने, उसैलाई गाली गर्नेहरू फ्रड हुन् नि त । त्यो भनेको ओली हुन्, एमाले हो । कम्युनिस्टहरू हुन् । १२ बुँदे सहमति भारतमा भयो । राजालाई फाल्नुपर्दा विदेशी राजदूतले भन्दा हामीले उसको प्रशंसा गर्‍यौं । पार्टी र देश चलाउन विदेशीबाट पैसा लिने, आफ्नो उपचार गर्न पनि विदेशीको सहयोग लिने, आफ्ना छोराछोरी पढाउन विदेशीको सहयोग लिने अनि विदेशी हस्तक्षेप भयो भन्ने ?

यो निर्वाचनबाट सबैभन्दा घाटा एमालेलाई हुँदैछ ? कि कसलाई हुन्छ ?

कुनै राजनीतिक दल विशेषलाई भन्दा पनि २०६४ साल यता लेफ्ट डोमिनेसन पार्लियामेन्ट भयो । यो निर्वाचनपछि पार्लियामेन्टमा वामपन्थीहरूको प्रतिनिधित्व सिग्निफिकेन्ट घट्नेवाला छ ।

यसले देशलाई राम्रो गर्छ कि नराम्रो गर्छ त ?

राम्रो गर्छ ।

कसरी ?

गएको ३० वर्ष कानुनमा कुनै पनि परिवर्तन भएनन् । जति पनि कानुन परिवर्तन भए, त्यो उद्योग व्यवसायमैत्री कानुनहरू बनेनन् । नियन्त्रणमुखी कानुनहरू बने, विदेश नीतिमा पनि त्यस्तै भयो ।

यो चुनावपछि सबैभन्दा लाभ चाहिँ रास्वपालाई हुन्छ कि कांग्रेसलाई ?

पार्टीगत रूपमा कसलाई हानि वा नाफा हुन्छ भन्दा पनि यो निर्वाचनबाट लेफ्ट डोमिनेसनको पार्लियामेन्टचाहिँ अब रहन्न । त्यसबाट बाहिर निस्किन्छ । सबैभन्दा कमजोर वामपन्थी दलहरू नै हुनेछन् । र यो नेपालका वामपन्थीहरूको ओरालो यात्रा सुरु हुने कारण बन्न पनि सक्नेछ ।

निर्वाचनपछि पनि राजनीतिक स्थिरता हुँदैन, उथलपुथलहरू हुने सम्भावना छ । आलाकाँचाले देश कहीँ चलाउछन् ? भन्ने पनि छ नि त ।

Prakash Dulal1

यसअघिका बहुमत ल्याएका दलले स्थिरता नदिँदा मानिसहरूमा आशंका छ । केपी ओली गृहमन्त्री हुँदा, माधव नेपाल परराष्ट्रमन्त्री हुँदा पनि त्यस्तै भनेको सुनिन्थ्यो । सबै जेनजी उमेर समूहकै थिए । यो बुढाहरूले भ्रम छरेका हुन् ।

निर्वाचनपछि सकारात्मक यो–यो हुन्छ भनेर भन्न सक्नुहुन्छ ?

यसअघि धेरै ऐन, नियम, कानुनहरू लेफ्ट गाइडेड भए । त्यसले काम गर्ने वातावरण बनेन । अब सरकार र हाम्रा मनस्थिति, ब्युरोक्रेसी, कानुनहरू गरिखाने मान्छेलाई प्रोत्साहित गर्ने खालको वातावरण बन्छ । नेपालमा काम गर्ने वातावरण बन्छ । गरिखाने मान्छेको प्रोटेक्सनका निम्ति कानुनहरू बन्छन् ।

सम्भव छ त ?

अब गैरलेफ्ट गभर्मेन्ट बन्छ । गएको १०–१२ वर्षदेखि अदालतबाट, अख्तियारबाट, विभिन्न संवैधानिक निकायबाट राज्यलाई नियन्त्रण गरेर राखेर बसेका केपी ओली हुनुहुन्छ नि, हो यो निर्वाचनले उनलाई हटाउँछ । यो निर्वाचन जेनजी आन्दोलन भाग–३ को रूपमा आएको छ ।

सबै बाधक नै केपी ओलीजस्तो देख्नुभो त तपाईंले ?

एउटा बाधक शेरबहादुर देउवा जेनजी आन्दोलन भाग–२ ले गइहाल्नुभो । कांग्रेसको विशेष महाधिवेशन जेनजी आन्दोलन भाग २ हो । भाग–१ ले सरकार गयो, २ ले कांग्रेसमा रिफर्म भयो । अब तीनले जेनजीलाई आतंकारी भन्नेलाई फाल्छ । जेनजी आन्दोलन भाग–३ सफल नभई जेनजी आन्दोलन अधुरो हुन्थ्यो के ।

जेनजी आन्दोलन पूरा कसरी, कहाँ गएर हुन्छ त ?

ओलीलाई नहराई जेनजी आन्दोलन पूरा हुँदैन के । जेनजी आन्दोलन पूरा गर्न, यसका कार्यभारहरूलाई पूरा गर्नुपर्ने मुख्य दायित्व भनेको केपी शर्मा ओलीलाई हराउनु हो । आन्दोलनको पूर्णताको निम्ति उहाँलाई हराउनुपर्छ भनेर नै बालेन झापा–५ मा जानुभएको हो ।

भिडियो/फोटो : मनोज खड्का

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप