निर्वाचनको मुखैमा केन्द्रीय तहका दर्जनभन्दा बढी नेताले गरे पार्टी परिवर्तन
सारांश
- निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका लागि समय तोकेपछि विभिन्न पार्टीका नेताहरूले पार्टी परिवर्तन गरी कांग्रेस रोजेका छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका नेताहरूले पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका छन्, जसमा टिकट वितरणमा असन्तुष्टि जनाइएको छ।
- पार्टी परिवर्तन गर्नेमा रास्वपाका संस्थापक सदस्य, उपसभापति, र एमालेका पूर्वसांसदहरू लगायत छन्।
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचारप्रसारका लागि समय तोकेको छ ।
प्रचार प्रसारको समय सुरु भएको ३ दिनमै विभिन्न पार्टीका केन्द्रीय तहका दर्जनभन्दा बढी नेताहरूले पार्टी परिवर्तन गरेर कांग्रेस रोजेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की मधेस प्रदेशकी संस्थापक अध्यक्ष ममता शर्माले फागुन ५ गते सो पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी थिइन् । उनी ६ गते जनकपुरको तिरहुतियामा कांग्रेसले आयोजना गरेको मधेस प्रतिज्ञासभामा सभापति गगन थापाको हातबाट माला लगाएर कांग्रेस प्रवेश गरिन् । शर्मा रास्वपाकी केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्य समेत थिइन् ।
पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेकी शर्माले राजीनामा पत्रमा लेखेकी छन्, ‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आबद्ध भएकी थिएँ ।
तर, फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली, रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत भएको अनुभव गरेकी छु । संगठनमा दिनरात खटिएका क्षमतवान घण्टी मित्रहरूको योगदानको उचित मूल्याङ्कन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको, पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मूलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरू माथि आँच आउने परिस्थिति बनेको छ । यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु। त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यश पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजीनामा पेस गर्दछु ।’
बारा घर भएकी शर्माले यसपालि टिकट पाउने आशा गरेकी थिइन् । तर, अन्तिम समयमा टिकट नपाएपछि असन्तुष्टि जनाएर पार्टी छोडेकी हुन् ।
रास्वपाकै बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईंले पनि ७ बुँदामा असन्तुष्टि पेस गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् । उनले राजीनामा पत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवार छनोटमा चरम चलखेल भएको र पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाउँदै चाकडी गर्ने, खुसी पार्ने र वरिपरि घुम्नेलाई रास्वपाले प्राथमिकता दिएको आरोप लगाएका छन् ।
‘पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट हालसालै आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको छ’, हुमागाईंले राजीनामा पत्रमा लेखेका छन्, गीत गाइरहेका सामाजिक अभियन्ता भनेर हिँडिरहेका, चटकदारहरूलाई स्वार्थको आधारमा उम्मेदवार बनाइएको छ ।’
रास्वपाकै संस्थापक सदस्य खेमकुमारी भुर्तेल (उर्मिला)ले पनि पार्टीको साधारण सदस्यबाट बुधबार राजीनामा गरिन् । रास्वपाबाट २०७९ को प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार रहेकी उनले पार्टीमा विधि र विधान विपरीतका क्रियाकलापले बढावा पाएको कुराको साक्षी बस्न नसक्ने भन्दै राजीनामा गरेको राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।
काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने आकांक्षा राखेकी भूर्तेल २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी ४ बाट रास्वपा उम्मेदवार थिइन् ।
त्यस्तै बिहीबार एमालेका दुई पूर्वसांसद पनि पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका छन् । रसुवाका एमाले पूर्वअध्यक्ष तथा पूर्वसांसद जनार्दन ढकाल र काठमाडौँबाट सांसद जितेर राज्यमन्त्री भइसकेका रामवीर मानन्धरले बिहीबार कांग्रेस सभापति गगन थापाको हातबाट कांग्रेसको सदस्यता लिएका छन् ।
कांग्रेस प्रवेश गरेका मानन्धर एमालेका पूर्वकेन्द्रीय सदस्य र पूर्वमन्त्री हुन् ।
मानन्धर २०७० र २०७४ सालमा क्षेत्र नम्बर ७ निर्वाचित सांसद हुन् । यसअघि २०४९ सालमा उनले वडा नम्बर १६ का वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
ढकाल एमाले रसुवाका पूर्वजिल्ला अध्यक्ष र संविधानसभा सदस्य हुन् ।
काठमाडौं–५ मा रास्वपाका टिकट आकांक्षी प्रणय राणा र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसीले पनि पार्टी छोडेका छन् । राणा रास्वपाको केन्द्रीय गुनासो विभाग प्रमुख थिए । उनीहरू दुवैजना कांग्रेस प्रवेश गरेका छन् ।
२०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाको उम्मेदवार रहेका राणाले ५ हजार ४ सय ७७ मत प्राप्त गरेका थिए । रास्वपामा टिकट वितरणको पद्धति मिचिएको भन्दै असन्तुष्टि जनाएर रास्वपा छोडेका हुन् ।
त्यस्तै एमाले नेता तथा काठमाडौँ नेशनल मेडिकल कलेज अस्पतालका अध्यक्ष बसरुद्विन अन्सारीले एमाले परित्याग गरेका छन् । अन्सारी एमाले एमालेबाट पर्सा जिल्लामा राजनीति गर्थे । एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए ।
जनता समाजवादी पार्टी (जसपा),नेपालका वरिष्ठ उपाध्यक्ष केदारनन्दन चौधरी, नेताहरू मनिष मिश्र र केदारसिंह ठटौलाहितका नेता पनि पार्टीको साधारण सदस्यतासमेत परित्याग गरेर कांग्रेस प्रवेश गरेका छन् ।
यसअघि प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका बेलामा पनि केही नेताले दल बदलेर उम्मेदवार बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण