बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सुर्खेत-१ का नेकपा उम्मेदवार जितबहादुर रानासँग चुनावी वार्ता

‘नयाँ भनिएकाहरू खहरे खोला हुन्, प्रष्ट भिजन हामीसँग मात्रै छ’

शुक्रबार, ०८ फागुन २०८२, २० : ००
शुक्रबार, ०८ फागुन २०८२

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर १ मा यो पटक नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट जितबहादुर राना उम्मेदवार छन् । कांग्रेस-एमालेबिच कडा प्रतिस्पर्धा हुँदै आएको यो क्षेत्र नेकपाका लागि फलामको चिउरा चपाउनुसरह छ भन्दा फरक नपर्ला । तर पनि रानाले चुनाव जित्न सक्ने आकलन गर्दै आएका छन् । एमालेबाट अनुभवी ध्रुवकुमार शाही, कांग्रेसबाट विष्णुकुमार खड्का, रास्वपाबाट टेकबहादुर सिंह लगायत एक दर्जन नेताहरू यो क्षेत्रमा चुनावी मैदानमा छन् ।

नेकपाका लागि यो चुनाव परीक्षणको चुनाव हुने छ, किनकि देश सङ्घीय संरचनामा गइसकेपछिका दुईवटै चुनावमा माओवादीले उम्मेदवार उठाएको थिएन । २०७४ मा एमालेका ध्रुवकुमार शाहीलाई समर्थन गरेको माओवादीले २०७९ मा कांग्रेसका पूर्णबहादुर खड्कालाई सहयोग गरेको थियो । 

१० वर्षपछि माओवादी रुपान्तरणसहित नेकपा नाममा आएको छ । पूर्व माओवादी लडाकु समेत रहेका सुर्खेत-१ का नेकपा उम्मेदवार रानासँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश : 

झण्डै १० वर्षपछि नेकपाको उम्मेदवारका रूपमा मैदानमा हुनुहुन्छ, मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

चुनावी अभियानका क्रममा आम नागरिकबाट प्राप्त प्रतिक्रियाले म निकै उत्साहित छु । अहिले हामी ठुला सभाभन्दा पनि घरदैलो र व्यक्तिगत भेटघाटमा केन्द्रित छौँ । यस क्षेत्रमा १ लाख २२ हजार मतदाता र ५४ वटा वडा रहेका छन् । भेरी नदीको किनार, उर्वर भूमि, जडिबुटी र पर्यटकीय सम्भावनाले यो क्षेत्र धनी भए पनि विकासमा निकै पछाडि पारिएको छ । यहाँ गुणस्तरीय शैक्षिक संस्था र विशेषज्ञ अस्पतालको चरम अभाव छ । आफ्नै जिल्लाको सिम्ता जान सल्यान र तिङ्गाड जान दैलेखको बाटो प्रयोग गर्नुपर्ने विडम्बनापूर्ण अवस्था अझै कायम छ ।

मैले लेकबेसी, भेरीगङ्गा, गुर्भाकोट र सिम्ताका बस्तीहरू घुम्दा सडकको अवस्था अत्यन्तै दयनीय पाएँ । प्रदेश राजधानीको जिल्ला भएर पनि यहाँको विकटता उस्तै छ । यस क्षेत्रले राष्ट्रिय स्तरका नेताहरू त जन्मायो, तर यहाँको पीडा बुझ्ने र विकासको नेतृत्व गर्ने इच्छाशक्ति कसैले देखाएनन् । यही उपेक्षित अवस्था बदल्न र जनतालाई न्याय दिलाउन मेरो उम्मेदवारी हो ।

तपाईंहरुकै सहयोगमा कांग्रेसका पूर्णबहादुर खड्का उपप्रधानमन्त्री बन्नुभयो, त्यति ठुलो नेता हुँदा पनि विकास भएन भन्नुभयो नि ?

हो, हाम्रै सहयोगमा कहिले एमाले त कहिले कांग्रेसले चुनाव जिते तर पनि विकास जुन रुपमा हुनुपर्थ्यो, त्यो भएन । यो पटक पालो हाम्रो हो ।

तपाईंको दलले कहिले एमाले त कहिले कांग्रेसलाई काँध थाप्यो, त्यसो हुँदा यहाँ नेकपा जनमतदेखि सांगठनिक रुपमा तेस्रो दल रहेछ, एक्लाएक्लै मैदानमा उत्रिँदा बलियो सांगठनिक आधार भएका दलहरूसँग प्रतिस्पर्धा गर्न कठिन भएको होला है ?

राजनीतिक उतारचढाव आफ्नो ठाउँमा छ । विगतका निर्वाचनमा हाम्रो समर्थनकै कारण अन्य दलहरूले विजय हासिल गरेका हुन् । यसपटक पार्टी केन्द्रले नै सबै क्षेत्रमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपछि सुर्खेतमा नयाँ उत्साह सञ्चार भएको छ । हिजो निष्क्रिय रहेका कार्यकर्ताहरू अहिले ऊर्जाका साथ परिचालित हुनुहुन्छ ।

म तपाईंलाई भनौं, पूर्वी सुर्खेत ऐतिहासिक रूपमै क्रान्तिको उर्वर भूमि हो । २०३६ सालको घुम्ने काण्डदेखि जनयुद्धसम्म यहाँका सपुतहरूले ठुलो बलिदान दिएका छन् । गणेश शर्मा न्यौपाने र दिला थापा जस्ता सहिदहरूको रगतले सिञ्चित यो धर्तीमा हाम्रो विचारको जग बलियो छ । त्यसैले संगठन कमजोर छ भन्ने भाष्य गलत हो, बरु अहिले हाम्रो शक्ति थप संगठित र प्रभावकारी बनेको छ ।

अहिले त इतिहासका कुराभन्दा पनि नयाँ लहर र परिवर्तनको चर्चा बढी छ । यसको प्रभाव पनि पक्कै परेको होला ?

पुराना दलका नेतृत्वले जनमतको कदर गर्न नसकेकै कारण जनतामा आक्रोश र आवेग देखिनु स्वाभाविक हो । कांग्रेस–एमालेप्रतिको मोहभङ्ग भएको अवस्थामा नागरिकले विकल्प खोजिरहेका छन् । म आफैँ एक किसानको छोरो र ग्रामीण परिवेशमा हुर्किएको युवा भएकाले जनताले मलाई आफ्नै प्रतिनिधि ठान्नुभएको छ ।

हिजो हामीले व्यवस्था बदल्न र संविधान प्राप्त गर्न नेतृत्वदायी भूमिका खेल्यौँ । अब जनताको अवस्था बदल्ने संकल्पका साथ अगाडि बढेका छौँ । कतिपय नयाँ शक्तिहरू खहरे खोला जस्तै लहरका रूपमा आएका छन्, तर तिनीहरूमा वैचारिक परिपक्वता र राजनीतिक शालीनताको अभाव छ । खहरेले कहिल्यै नदीको रूप लिन सक्दैन । हामीसँग स्पष्ट दृष्टिकोण, कार्ययोजना र जनतासँगै हिँड्ने धैर्यता छ । त्यसैले यो लहरले हाम्रो विजय अभियानलाई खासै असर पार्दैन ।

तपाईं यस्तो भन्नुहुन्छ, उता कांग्रेस–एमाले त तपाईंलाई प्रतिस्पर्धी नै मानेको अवस्था छैन ?

ठुला दलहरूको यो दम्भ नै उनीहरूको हारको कारण बन्ने छ । एमाले–कांग्रेसको काँध हामीले यसअघि थाम्यौं, यो पटक जनताले हामीलाई विश्वास गर्नेछन् । यदि उनीहरूले जनभावना अनुसार काम गरेको भए अहिलेको विद्रोहको अवस्था आउने नै थिएन ।

जित्ने आधार के छ त ?

मेरो जितका तीनवटा मुख्य आधार छन् । पहिलो, पार्टी पुनर्गठनपछि कार्यकर्तामा आएको अभूतपूर्व ऊर्जा । दोस्रो, हाम्रो स्पष्ट राजनीतिक एजेन्डा र विकासको ठोस कार्ययोजना । तेस्रो, कांग्रेस—एमालेभित्रको चरम अन्तरद्वन्द्व र गुटबन्दी । उनीहरुमा बाहिर देखिने एकता भित्रभित्रै कमजोर भइसकेको छ । मतदाताले अब उनीहरूको पुरानो रटानलाई पत्याउने अवस्था छैन ।

दुई पुराना दल मात्र होइन, अहिले रास्वपाले पनि जबरजस्त चुनावी माहोल बनाएको छ । तपाईंकै पूर्व सहकर्मी नेता उज्यालो नेपाल र राप्रपाका युवा नेता समेत मैदानमा छन्, यो अवस्थामा तपाईंलाई चुनाव फलामको चिउरा त बन्ने होइन ?

छन्, सबै । तर सामाजिक सञ्जालमा देखिएको जस्तो ग्राउन्ड छैन । मैले अघि भने उनीहरु खहरे खोला हुन् । नदीको रुप धारण गर्न सक्दैनन् ।

तपाईंको कुरा अनुसार त चुनाव मैं जित्छु भन्ने देखियो, त्यस्तो विश्वस्त हुनुहुन्छ ?

म पूर्ण रूपमा ढुक्क छु । मतदाताको मन र मत दुवै हाम्रो पक्षमा परिवर्तन हुने स्पष्ट संकेत देखिएका छन् ।

ए, त्यसो भने मत कति आउने हिसाब राख्नुभएको छ त ?

मतको संख्याबारे हाम्रो आन्तरिक सर्वेक्षण भइरहेको छ, अहिले नै सार्वजनिक गर्नु सान्दर्भिक नहोला । तर यसपटक पूर्वी सुर्खेतले नयाँ र इमानदार नेतृत्व छान्ने निश्चित छ । जनताको अवस्था बदल्ने मेरो अभियानलाई यस क्षेत्रका आमाबुबा र दाजुभाइ-दिदीबहिनीले पूर्ण समर्थन गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप