शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बन्चरेडाँडा ल्याण्डफिल साइटमा अनधिकृत व्यक्तिलाई प्रवेश निषेध

शुक्रबार, ०८ फागुन २०८२, १७ : २२
शुक्रबार, ०८ फागुन २०८२

सारांश

  • काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा ल्याण्डफिल साइटमा अनधिकृत व्यक्तिको प्रवेशमा रोक लगाएको छ।
  • स्वास्थ्य जोखिम र सुरक्षालाई ध्यानमा राख्दै महानगरले फोहोरमैला व्यवस्थापनमा कडाइ गरेको छ।
  • अनुमति प्राप्त व्यक्ति, कर्मचारी र सुरक्षाकर्मी बाहेक अरू कसैलाई पनि साइटमा प्रवेश निषेध गरिएको छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नुवाकोट र धादिङको सिमानामा रहेको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट परिसरमा अनधिकृत व्यक्तिको प्रवेशमा पूर्ण रूपमा रोक लगाएको छ । महानगरको वातावरण व्यवस्थापन विभागले  सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।

सुरक्षा र स्वास्थ्य जोखिम मुख्य कारण

महानगरका अनुसार बन्चरेडाँडामा दैनिक रूपमा काठमाडौँ उपत्यका लगायत २३ वटा स्थानीय तहको फोहोरमैला अन्तिम व्यवस्थापन हुँदै आएको छ । 

फोहोर विसर्जन गर्ने क्रममा फोहोर वा कवाडी टिप्ने बहानामा अनधिकृत व्यक्तिहरू प्रवेश गर्दा विभिन्न स्वास्थ्य समस्या र मानवीय जोखिम सिर्जना भएको महानगरको ठहर छ ।

सूचनामा उल्लेख भएअनुसार, ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनका लागि डोजर, एक्साभेटर, लोडर, जेट र ट्रिपर जस्ता हेभी सवारी साधनहरू निरन्तर सञ्चालनमा रहन्छन् ।  यस्तो अवस्थामा सर्वसाधारण वा अनधिकृत व्यक्तिहरूको उपस्थितिले सवारी दुर्घटनाको उच्च जोखिम निम्त्याउन सक्ने भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी यो निर्णय लिइएको हो ।

को–को जान पाउँछन् ? 

महानगरले आजैका मितिबाट लागू हुने गरी अनुमति प्राप्त व्यक्ति, आयोजनाका कर्मचारी, सुरक्षाकर्मी र आधिकारिक रूपमा खटिएका व्यक्तिहरू बाहेक अन्य कुनै पनि व्यक्तिलाई साइट परिसरमा प्रवेश नगर्न र नगराउन  निर्देशन दिएको छ।

महानगरपालिकाले जारी गरेको सूचनामा कार्य उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ। यदि कसैले सूचनाको अवज्ञा गरी अनधिकृत रूपमा प्रवेश गरे र त्यस क्रममा कुनै दुर्घटना घटेमा कार्यालय जवाफदेही नहुने महानगरले स्पष्ट पारेको छ।  

ल्याण्डफिल साइटमा कबाडीजन्य, प्लाष्टिकका बोत्तल लगायत सङ्कलन गर्न अनधिकृत व्यक्तिहरू जाने गरेका थिए।

ba

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप