बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गुणस्तरीय तथ्याङ्कका लागि मुख्य प्रशिक्षक प्रशिक्षण

आइतबार, १० फागुन २०८२, ०५ : ३७
आइतबार, १० फागुन २०८२

सारांश

  • राष्ट्रिय आर्थिक गणना २०८२ को पूर्वतयारीका लागि मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भयो।
  • प्रशिक्षणले गणक सुपरीवेक्षक तालिमका लागि प्रशिक्षक तयार गर्ने र तथ्याङ्क सङ्कलनको अनुगमनलाई सहजीकरण गर्नेछ।
  • आर्थिक गणनाले नीति निर्माण र देशको आर्थिक अवस्था चित्रण गर्न मद्दत गर्नेछ।

काठमाडौँ । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नाराका साथ राष्ट्रिय आर्थिक गणना २०८२ को पूर्व तयारी स्वरूप मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम प्रारम्भ भएको छ ।

जिल्ला आर्थिक गणना अधिकारी र गणक र सुपरिवेक्षक तालिम कार्यक्रमका लागि प्रशिक्षक तयार गर्ने तथा स्थलगत तथ्याङ्क सङ्कलनको अनुगमनलाई सहजीकरण गर्ने उद्देश्य राखी यो प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डिराज लामिछानेले २०७५ सालको आर्थिक गणनाको अनुभवलाई पूर्ण रूपमा सदुपयोग गर्दै आगामी गणनालाई सफल पार्नुपर्ने दायित्व सबैमा रहेको बताए । यस पटकको गणनामा आधुनिक प्रविधिको प्रयोग स्वरूप इ सेन्ससलाई समेत समावेश गरिएको छ, जसले कार्यक्षमता र शुद्धता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

प्रशिक्षकहरूमा उच्चस्तरको जबाफदेहिता र विषयवस्तुको सही बुझाइ हुनुपर्नेमा कार्यक्रमले विशेष जोड दिएको छ । समानता र एकरूपता प्रशिक्षण सामग्रीको बुझाइमा देशभर एकरूपता ल्याउन र प्रभावकारी ढङ्गले तालिम प्रदान गर्न निर्देशन दिइएको छ ।

यस्तै, कार्यस्थलमा आउन सक्ने समस्याको पहिचान, समाधानका उपाय र सक्रिय सहभागिताका लागि प्रशिक्षकहरूलाई तयार गर्न लागेको तथ्याङ्क कार्यालयले जनाएको छ । तथ्याङ्कको गुणस्तर तालिमको गुणस्तरमा भर पर्ने भएकाले यसलाई गम्भीरताका साथ लिन आग्रह गरिएको छ । कार्यक्रममा प्रमुख तथ्याङ्क अधिकारी डा कमलप्रसाद पोखरेलले आर्थिक गणना केवल तथ्याङ्क सङ्कलन मात्र नभई निर्णय प्रक्रियाका लागि नीति निर्माण गर्ने मुख्य आधार भएको उल्लेख गरे ।

देशको आर्थिक अवस्थाको यथार्थ चित्रण गर्न र बहुआयामिक विकासका योजना बनाउन यो गणना कोशेढुङ्गा साबित हुने प्रमुख तथ्याङ्क अधिकारी डा पोखरेलको भनाइ थियो । साथै उनले गुणस्तरीय तथ्याङ्कले नै गुणस्तरीय योजना बन्ने भएको आर्थिक गणनाबाट आउने सही तथ्याङ्कका लागि मुख्य प्रशिक्षक तालिमको महत्त्वपूर्ण भूमिका रहने कुरामा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप