चितवन–३ को मुड : ‘फिप्टी-फिप्टी’ भिडन्तमा ‘जङ्गलपारिको सहर’ निर्णायक
चितवन । स्थानीय तहको विकासबारे चर्चा गर्दा चितवनको भरतपुर महानगरपालिकाको नाम छुट्दैन। फराकिला र सफा सडकका कारण चितवन महानगर राष्ट्रिय मूल्याङ्कनमा पनि पटकपटक उत्कृष्ट बन्दै आएको छ।
त्यही चितवन महानगरका १९ वटा वडा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पर्छन्। भरतपुर महानगरको मेयरमा दुईपटक निर्वाचित रेनु दाहाल अहिले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छिन्। महानगरपालिकाको प्रमुखका रूपमा काम गरेकी रेनुको करिब साढे ८ वर्षे योगदानले उनलाई यस क्षेत्रको ‘अब्बल’ र ‘हेभीवेट’ नेताका रूपमा समेत चिनाएको छ।
तर, राष्ट्रिय रूपमा रेनुको जति प्रशंसा छ, भुइँतहमा भने त्यो अवस्था रहेको देखिँदैन। त्यही कारणले पनि हुन सक्छ, भरतपुर–३ मा उनले प्रतिनिधिसभा निर्वाचनका लागि कडा सङ्घर्ष गरिरहनुपरेको देखिन्छ।
प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा रातोपाटीले स्थलगत रिपोर्टिङका क्रममा यो क्षेत्रका स्थानीय मतदातासँग चुनावी माहौलका सन्दर्भमा कुराकानी गरेको छ। उनीहरूसँगको कुराकानीका क्रममा चितवन-३ का उम्मेदवारहरूमध्ये रेनुको कामको प्रशंसा गरे । तर, स्थानीय मतदाताले रेनुको व्यक्तिगत कामको प्रशंसा गरे पनि परम्परागत दललाई मत दिन अनिच्छुकको सङ्ख्या धेरै भेटियो । केहीले रेनुको कार्यशैली र व्यक्तित्वको आलोचना पनि गरे।
मतदाताहरूसँगको कुराकानीका क्रममा परम्परागत भनिएका दलप्रति भरोसा टुट्नु र तुलनात्मक रूपमा नयाँ दलप्रतिको आकर्षण बढ्नुले पनि भरतपुर महानगरभित्र रेनुले गरेको विकास भोटको तहसम्म पुग्न सकस पर्न सक्ने सहजै बुझ्न सकिने देखियो।
- विकासको प्रशंसा, विभेदको गुनासो
स्थलगत अध्ययनका क्रममा हामीले चौबीसकोठीदेखि गीतानगर, गुञ्जनगर, मेघौली हुँदै जगतपुरसम्मका क्षेत्रमा मतदाताको सम्भावित मुड बुझ्ने प्रयास गर्यौँ। यो क्षेत्र महानगरको महत्त्वपूर्ण रिङरोड परियोजनाले जोडिएको क्षेत्रसमेत हो। भरतपुरमा भौतिक पूर्वाधारको क्षेत्रमा रेनुले गरेको कामलाई अधिकांशले प्रशंसा गरिरहँदा गुनासो पोख्नेहरू पनि भेटिए। खासगरी बजेटमा गरिएको विभेदलाई लिएर रेनुप्रति गुनासो गर्नेहरू उक्त क्षेत्रमा भेटिए।

यी क्षेत्रमा मुख्य सडक आसपासका अधिकांश व्यक्तिले ‘रेनुको विकास’को प्रशंसा गरे, तर भित्री सडक र गल्लीमा जाँदा रेनुसँग पूर्ण सन्तुष्ट रहेको पाइएन। भित्री बस्तीमा आफ्नो घरछेउको सडक कालोपत्रे नभएकोमा उनीहरूको गुनासो रहेको पाइयो।
‘जसले सडक बनाइदिन्छ, उसैलाई भोट’ भन्ने मतदाता पनि भेटिए। परम्परागत राजनीतिक दलका प्रतिनिधिहरूले काम नगरेकाले ‘नयाँलाई छान्ने’ कतिपयको मुड पाइयो।
हामीसँगको कुराकानीका क्रममा केही स्थानीय व्यवसायीले महानगरले व्यवसाय कर अत्यधिक महँगो बनाएको गुनासो पोखे। यसको सट्टा व्यवसाय गर्नेले कुनै अनुदान र सहुलियत नपाएको गुनासोसमेत गरेका छन्।
गुञ्जननगरमा भेटिएकी एक महिलाले आफूले व्यावसायिक फूल खेती गरेको र अनुदानका निम्ति पटकपटक महानगर धाए पनि एक रुपैयाँ पाउन नसकेको गुनासो पोखिन्। ‘पहुँच हुनेले मात्रै कृषि अनुदान, बीउ र मेसिनरी पाउँछन्। हामीजस्ता वास्तविक काम गर्नेहरू सधैँ उपेक्षामा पर्छौँ,’ उनले भनिन् ।
- ‘नेपोबेबी’ को प्रभाव कम
रेनु नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पुत्री हुन्। सोही कारण रेनुमाथि ‘नेपोबेबी’ को आरोपसमेत लाग्ने गरेको छ। त्यसो त पहिलोपटक मेयरमा प्रतिस्पर्धा गर्दा उनीमाथि मतपत्र च्यातेको आरोपसमेत थियो। तर, अहिले ती दुवै विषय गौण बनेका छन्। हामीसँगको कुराकानीका क्रममा कुनै पनि मतदाताले उनलाई ‘नेपोबेबी’ को ट्याग लगाएनन्।
तर, मेयर हुँदा नगरवासीको प्रत्यक्ष पहुँचबाट टाढा बसेको गुनासो केही मतदाताको थियो। खासगरी सचिवालयले उनलाई पहुँचभन्दा टाढा पुर्याएको र सर्वसाधारणलाई भेट्नै नदिएको गुनासो स्थानीयहरूबाट सुन्न पाइयो।
_uPWraXE6OU.jpg)
- प्रतिस्पर्धाको तहमा टेकप्रसाद
यही क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट टेकप्रसाद गुरुङ उम्मेदवार बनेका छन्। पार्टीप्रति आस्था राख्ने मतदाताको सहानुभूति गुरुङप्रति पर्याप्त देखियो। आन्तरिक गुटगत राजनीतिबिच गुरुङलाई चितवन-३ मा स्वीकार्य व्यक्तिका रूपमा कांग्रेसले उम्मेदवार बनाएको थियो।
चितवनमा रहेर उनले गरेको योगदान र अहिलेसम्म कुनै पनि लाभको पदमा नपुगेकाले एकपटक अवसर दिनुपर्छ भन्नेहरू पनि प्रशस्तै भेटिए। खासगरी पहिलेदेखि नै कांग्रेसलाई भोट हाल्दै आएका भन्नेहरू यसपटक गुरुङको पक्षमा खुलेको पाइयो। कांग्रेसलाई भोट दिन्छु भन्नेको दोस्रो रोजाइमा भने रेनु देखिएकी छिन्।
माघ १ गते विशेष अधिवेशन सम्पन्न गरेर नेतृत्व परिवर्तन गरेको कांग्रेसले आफूलाई रूपान्तरित पार्टीका रूपमा मतदातामाझ उभ्याउने प्रयास गरेको छ। जेनजी आन्दोलनलाई आत्मसात् गर्ने एकमात्र पार्टी आफू नै भएको दाबी गरेको कांग्रेसको प्रभाव चितवन–३ को ग्राउन्डमा भने खासै देखिएन।
त्यसो त, गुरुङले सांसद बनेर चितवनका लागि खेल्ने भूमिकाबारे जनताको अपेक्षा धेरै पाइएन। अधिकांशले कांग्रेस भएकै आधारमा र यसअघि ‘केही नपाएको’ भन्ने सहानुभूतिमा उनीमाथि समर्थन जनाउनेको सङ्ख्या धेरै देखिन्थ्यो।
नयाँ मतदाताहरू गुरुङप्रति धेरै आकर्षित नदेखिए पनि उनलाई नचिन्ने मतदाता भने कमै देखिए। यतिसम्म कि उनलाई मुख्य प्रतिस्पर्धी मान्ने मतदाताको विश्लेषण धेरै थियो।
- सोविताको ‘इन्ट्री’ले त्रिपक्षीय भिडन्त
यो क्षेत्रमा अर्को चर्चाको पात्र हुन्– सोविता गौतम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवार बनेर भोट मागिरहेकी गौतमलाई भने देशभरको लहर र स्वयं उनको व्यक्तित्वले साथ दिएको पाइयो।
तर, सोविताको व्यक्तित्वको प्रशंसा गर्नेहरूमा पनि उनले व्यक्तिगत रूपमा यो क्षेत्रका लागि केही गरिदेलिन् भन्ने अपेक्षा रहेको देखिएन।

चितवनमा बालेनको क्रेजले भने खासै काम गरेको देखिएन। रास्वपाको पक्षमा खुलेका वा नखुलेका मतदाताले पनि यहाँ रवि लामिछानेकै प्रशंसा गरेको पाइएको छ। योबाहेक यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई भोट हालेका व्यक्तिको मत ‘घण्टी’ मा आउने रास्वपाका नेताहरूको अपेक्षा छ।
- निर्णायक बन्न सक्छ ‘जङ्गलपारिको सहर’
चितवन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने एउटा स्थानीय तह (नगरपालिका) हो– माडी। चितवन राष्ट्रिय निकुञ्ज काटेर गएपछि पुगिने उक्त क्षेत्रका ९ वटा वडा यो क्षेत्रअन्तर्गत पर्छन्। स्थानीय निर्वाचनमा तत्कालीन माओवादी र एकीकृत समाजवादीले ल्याएको मतका आधारमा यो क्षेत्रलाई नेकपाको आधार इलाका नै मानिन्छ। त्यसैले राम्रो कामको बाबजुद महानगरभित्र ‘डिफेन्सिभ’ रहेकी रेनुलाई माडीको बलियो साथ रहने विश्लेषण भइरहेको छ।
तर, रास्वपाको आँकलन अलि फरक छ। अघिल्लोपटक विक्रम पाण्डेलाई व्यक्तिगत आधारमा मत दिएका तर राप्रपालाई मत नदिएकाहरूको मत यो पटक आफूलाई आउने रास्वपा नेताहरूको बुझाइ छ।
स्थानीय विश्लेषकको भनाइ विश्वास गर्ने हो भने, यो क्षेत्रका मतदाताले भोट कसलाई हाल्ने भन्ने निर्णय अन्तिम समयमा र ‘बल्क’ मा गर्छन्। महानगरमा ‘फिप्टी–फिप्टी’ देखिएको प्रतिस्पर्धालाई यसले निर्णायक बनाउन सक्ने उनीहरूको बुझाइ छ।
तर, राजनीतिक विश्लेषक एलबी क्षेत्री भने चितवनको मतपरिणामबारे अहिल्यै अनुमान गर्नु अपरिपक्व हुने बताउँछन्। चितवनले पटकपटक निर्वाचन परिणामबारे आश्चर्यजनक नतिजा दिएको र ग्राउन्ड नै नभएका व्यक्तिलाई पनि निर्वाचित गरेर पठाएकाले यसपटक पनि नसोचेको परिणाम आउनसक्ने क्षेत्रीको विश्लेषण छ।
‘यो ठाउँले पटकपटक अनौठो परिणाम दिँदै आएको छ,’ वीरेन्द्र बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुखसमेत रहेका क्षेत्री भन्छन्, ‘यसपटक पनि जुनसुकै परिणाम आए पनि अनौठो मान्नु पर्दैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण