बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
गोलार्द्ध

बेलायती राजपरिवारलाई हल्लाइदिने ठुला काण्ड र विवादको नालीबेली

सोमबार, ११ फागुन २०८२, ०७ : ००
सोमबार, ११ फागुन २०८२

सारांश

  • बेलायती राजकुमार एन्ड्रयु यौन अपराधी जेफ्री एप्स्टिनसँगको सम्बन्धका कारण पक्राउ परे, तर पछि रिहा भए।
  • राजकुमार एन्ड्रयुमाथि सन् १९९० मा किशोर किशोरीलाई यौन शोषण गरेको आरोप लागेको थियो र उनले आफ्नो पदवी गुमाए।
  • बेलायती राजपरिवारमा विभिन्न समयमा भएका विवाद र काण्डबारे यो समाचारमा उल्लेख छ।

लण्डन । बेलायतका राजा चार्ल्स द्वितीयका भाइ तथा पूर्वबेलायती राजकुमार एन्ड्रयु माउन्टबेटन-विन्डसरलाई दोषी ठहरिएका दिवंगत अमेरिकी यौन अपराधी जेफ्री एप्स्टिनसँगको सम्बन्धका कारण सार्वजनिक पदमा रहँदा दुराचार गरेको आरोपमा पक्राउ गरी केही घण्टा हिरासतमा राखेपछि प्रहरीले बिहीबार रिहा गरेको छ।

पक्राउ परेको दिन ६६ वर्ष पुगेका माउन्टबेटन-विन्डसर ३५० वर्षभन्दा बढीको इतिहासमा पक्राउ पर्ने र प्रहरी हिरासतमा पुग्ने पहिलो बेलायती राजपरिवारका सदस्य हुन्। यसअघि सन् १६४७ मा राजा चार्ल्स प्रथमलाई संसदीय फौजले पक्राउ गरी राजद्रोहको मुद्दा चलाएको थियो।

एप्स्टिनसँगको उनको सम्बन्ध र सन् १९९० को दशकमा भर्जिनिया जुफ्रे किशोरी हुँदा उनीहरू दुवैले यौन शोषण गरेको आरोपका कारण गत वर्ष उनको राजकुमारको पदवी खारेज गरिएको थियो। दोषी ठहरिएका यौन अपराधी तथा बदनाम फाइनान्सर एप्स्टिनले यौन बेचबिखनको आरोपमा मुद्दाको पर्खाइमा रहेका बेला सन् २०१९ मा अमेरिकी जेलमा आत्महत्या गरेका थिए।

सन् २०२१ मा, जुफ्रेले माउन्टबेटन-विन्डसरविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दायर गरिन्। उनले आफू १७ वर्षकी (अमेरिकी कानुनअनुसार नाबालिग) हुँदा एन्ड्रयुले धेरैपटक जबर्जस्ती यौनसम्पर्क राखेको दाबी गरेकी थिइन्। यस मुद्दामा सम्झौता भएपछि गत वर्षको अप्रिलमा जुफ्रेले आत्महत्या गरिन्।

राजकुमार छँदा माउन्टबेटन-विन्डसरले सन् २००१ देखि २०११ सम्म बेलायतको व्यापार दूतका रूपमा काम गरेका थिए। एप्स्टिनसँगको सम्बन्धको विवाद चुलिएपछि मात्र उनले उक्त पदबाट राजीनामा दिएका थिए। आफ्नो कार्यकालभरि उनी आफ्नो ‘पार्टी प्रिन्स’ (रमाइलो गर्ने राजकुमार) को छवि, विदेश भ्रमणका क्रममा उनको आचरण, र करदाताको पैसामा गरिएको महँगो भ्रमण तथा आतिथ्यताको लागतका कारण निरन्तर आलोचित भइरहे।

तर विवादमा तानिने माउन्टबेटन-विन्डसर पहिलो बेलायती शाही सदस्य भने होइनन्। सन् १९३६ मा राजा एडवर्ड आठौँले सम्बन्धविच्छेद गरेकी अमेरिकी महिला वालिस सिम्पसनसँग विवाह गर्न राजगद्दी त्याग्दा राजसंस्थामा ठुलो हलचल मच्चिएको थियो।

महारानी एलिजाबेथ द्वितीयले आफ्नो शासनकालको सुरुवाती दशकहरूमा राजसंस्थालाई धेरै हदसम्म स्थिर राखिन्, तर जब उनका छोराछोरीहरू वयस्क भए, तब वैवाहिक सङ्कट र व्यक्तिगत विवादको नयाँ लहरले राजपरिवारलाई घेर्न थाल्यो।

हालैका दशकहरूमा राजपरिवार र यसको प्रतिष्ठालाई हल्लाइदिने केही प्रमुख काण्डहरूको विस्तृत विवरण यहाँ प्रस्तुत छ:

  • सन् १९९२: महारानी एलिजाबेथको ‘एन्नस होरिबिलिस’ (भयानक वर्ष)

सन् १९९२ को नोभेम्बरमा आफ्नो आरोहणको ४०औं वार्षिकोत्सव मनाउने क्रममा, महारानी एलिजाबेथ द्वितीयले लगातारका काण्डहरूपछि उक्त वर्षलाई ल्याटिन भाषामा ‘एन्नस होरिबिलिस’ भनेर वर्णन गरिन्। जसको अर्थ भयानक वर्ष हुन्छ।

queen elizabeth

उनका तीन छोराछोरीको विवाह असफल भएको थियो: तत्कालीन प्रिन्स अफ वेल्स (हालका राजा) चार्ल्स र राजकुमारी डायना अलग भए, र त्यसैगरी माउन्टबेटन-विन्डसर र उनकी पत्नी सारा फर्ग्युसन पनि छुट्टिए। राजकुमारी एनी र मार्क फिलिप्सको सम्बन्धविच्छेद भयो।

सन् १९९२ अगस्टमा, माउन्टबेटन-विन्डसरसँग छुट्टिएर बसेकी तर कानुनी रूपमा विवाह कायमै रहेकी फर्ग्युसन, दक्षिण फ्रान्समा बिदा मनाउने क्रममा आफ्ना अमेरिकी आर्थिक सल्लाहकार जोन ब्रायनसँग तस्बिरमा कैद भइन्। ब्रायनले उनको खुट्टाको औँला चुमिरहेको तस्बिर सार्वजनिक भएपछि सर्वसाधारणमा ठुलो खैलाबैला मच्चियो।

त्यही वर्ष डायना र उनका साथी जेम्स गिल्बेबिचको फोन वार्तालाप चुहावट भयो र ट्याब्लोइड पत्रिकाहरूको मुख्य मसला बन्यो। उक्त कल अवैध रूपमा रेकर्ड गरेर मिडियालाई बेचिएको विश्वास गरिन्छ। फोन कलको घनिष्ठ र भावनात्मक प्रकृतिले गिल्बे र डायना साथीभन्दा बढी थिए भन्ने अनुमानलाई जन्म दियो। फोनमा गिल्बेले डायनालाई ‘स्क्विड्जी’ भनेर बोलाएका थिए, जसकारण यो घटनालाई ‘स्क्विड्जीगेट’ भनेर चिनिन थाल्यो।

  • सन् १९९३: क्यामिलागेट 

महारानीको ‘भयानक वर्ष’ को अन्त्य त्यतिमै सीमित भएन।

830276060

स्क्विड्जीगेट पछि लगत्तै ‘क्यामिलागेट’ आयो। सन् १९९३ मा, चार्ल्स र क्यामिला पार्कर बाउल्सबिचको कामुक फोन वार्तालापको रेकर्डिङ लिक भयो। उक्त कल सन् १९८९ को थियो, जतिबेला चार्ल्स र डायना अझै विवाहित थिए। यसले चार्ल्स र क्यामिला घनिष्ठ सम्बन्धमा रहेको खुलासा गर्‍यो।

यस अफेयरलाई लिएर जनताको आक्रोश वर्षौँसम्म रह्यो, तर चार्ल्स र क्यामिलाले अन्ततः सन् २००५ मा विवाह गरे र आजसम्म सँगै छन्। हाल क्यामिला महारानीको रूपमा छिन्।

  • सन् १९९५: डायनाको प्यानोरामा अन्तर्वार्ता

पत्रकार मार्टिन बशीरले बीबीसीको प्यानोरामा कार्यक्रममा डायनाको अन्तर्वार्ता लिए, जुन २० नोभेम्बर १९९५ मा प्रसारण भयो। अन्तर्वार्ताको क्रममा, डायनाले चार्ल्स र क्यामिलाको सम्बन्धलगायत धेरै विवादहरूमा टिप्पणी गरिन्। 

उक्त अफेयरको बारेमा उनले भनिन्: ‘हाम्रो विवाहमा हामी तीन जना थियौँ, त्यसैले यो अलिकति भिडभाडयुक्त थियो,’ जसले ठूलो जनसहानुभूति बटुल्यो। उनले आफ्नो मानसिक स्वास्थ्य सङ्घर्ष, विशेष गरी बुलिमिया नर्भोजासँगको लडाइँको बारेमा पनि खुलेर कुरा गरिन्।

diana

डायनाको स्पष्ट अन्तर्वार्ताले राजपरिवारभित्रको जीवनको पर्दाफास गर्‍यो, र यो प्रसारण भएपछि उनलाई व्यापक रूपमा ‘जनताकी राजकुमारी’ को रूपमा हेर्न थालियो।

यो अन्तर्वार्तापछि, महारानी एलिजाबेथ द्वितीयले यो जोडीलाई छिट्टै सम्बन्धविच्छेद गर्न सल्लाह दिइन् र अर्को वर्ष उनीहरूको विवाह कानुनी रूपमा विघटन भयो।

अन्तर्वार्ताको २० वर्षभन्दा बढी समयपछि यसको परिस्थिति फेरि छानबिनमा तानियो, जब डायनाका भाइ चार्ल्स स्पेन्सरले आरोप लगाए कि बशीरले डायनालाई अन्तर्वार्ता दिन मनाउन नक्कली कागजात र अन्य बेइमान तरिकाहरू प्रयोग गरेका थिए।

बीबीसीले यस विषयमा अनुसन्धान गर्न सन् २०२० मा एक सेवानिवृत्त वरिष्ठ न्यायाधीशलाई नियुक्त गर्‍यो। अनुसन्धानको प्रतिवेदनमा भनियो कि बशीरले ‘धोखाधडीपूर्ण व्यवहार’ प्रयोग गरे र नक्कली बैंक स्टेटमेन्टहरू बनाएर राजकुमारीसम्म पहुँच पाउन स्पेन्सरलाई देखाउँदै बीबीसीको नियम तोडेका थिए।

सन् २०२१ मा अनुसन्धान सकिएपछि, डायनाका हुर्किसकेका छोराहरू- राजकुमार विलियम र ह्यारीले अनैतिक अभ्यास गरेको भन्दै बीबीसी र बेलायती मिडियाको कडा आलोचना गरे।

  • सन् १९९७: डायनाको मृत्यु

प्यानोरामा अन्तर्वार्ताको दुई वर्षपछि, पेरिसमा पापाराजी फोटोग्राफरहरूले पछ्याइरहेको बेला भएको सवारी दुर्घटनामा ३६ वर्षीया राजकुमारीको मृत्यु भयो।

diana-car-crash

३० अगस्ट १९९७ मा, डायना र उनका प्रेमी डोडी फायदको तस्बिर खिच्ने आशमा पापाराजीहरूको एउटा समूह पेरिसको रिट्ज होटल बाहिर क्याम्प खडा गरेर बसेको थियो। फोटोग्राफरहरूले उनीहरूको कारलाई पोन्ट डे ल'अल्मा सुरुङसम्म पछ्याए, जहाँ उनीहरूका ड्राइभरले कारको नियन्त्रण गुमाए र कार दुर्घटनाग्रस्त भयो। दुर्घटनामा डायना र फायद दुवै मारिए।

डायनाको मृत्युमा जनताको शोकको लहर उर्लियो, जसको ठीकविपरीत राजपरिवारको मौनताले भने धेरैलाई चिढ्यायो। महारानीलगायत राजपरिवारलाई तत्काल सार्वजनिक रूपमा देखा नपरेको र बकिंघम दरबारमा आधा झन्डा नझुकाएको भन्दै कडा आलोचना गरियो।

  • सन् २००२: राजकुमारी एनी आपराधिक मुद्दामा दोषी ठहर

सन् २००२ को नोभेम्बरमा, महारानीकी एकमात्र छोरी राजकुमारी एनीले आफ्नो कुकुर (इंगलिस बुल टेरियर) माथिको नियन्त्रण गुमाएको कुरा स्वीकार गरिन्, जसले विन्डसर ग्रेट पार्कमा दुई बच्चाहरूलाई टोकेको थियो। एनीलाई जरिवाना गरियो र उनी आपराधिक रेकर्ड हुने आधुनिक समयको पहिलो सक्रिय शाही सदस्य बनिन्।

  • सन् २००५: राजकुमार ह्यारीको नाजी पहिरन

सन् २००५ मा एक कस्ट्युम पार्टीमा राजकुमार ह्यारीले नाजी आर्मब्यान्ड ‘पाखुरामा बाँध्ने पट्टी’ लगाएको तस्बिर सार्वजनिक भएपछि विश्वव्यापी रूपमा आक्रोश फैलियो र उनले सार्वजनिक माफी माग्नुपर्‍यो।

FjeMgI4XkAcn9c-

आफ्नो सन् २०२३ को संस्मरण स्पेयरमा, ह्यारीले दाबी गरे कि उनका दाजु, हालका प्रिन्स अफ वेल्स विलियम र उनकी तत्कालीन प्रेमिका (हालकी पत्नी) केट मिडलटनले उनलाई उक्त पोशाक छान्न प्रोत्साहित गरेका थिए र उनलाई त्यो पहिरनमा देख्दा उनीहरू ‘मज्जाले हाँसेका’ थिए।

  • सन् २०२०: मेक्जिट 

मिडियासँग वर्षौँदेखि बढ्दै गएको तनावपछि, राजकुमार ह्यारी र उनकी पत्नी, पूर्व अभिनेत्री मेघन मार्कल (ड्युक र डचेस अफ ससेक्स) ले आफ्नो वरिष्ठ शाही कर्तव्य त्याग्ने, आंशिक रूपमा उत्तर अमेरिका सर्ने, आर्थिक स्वतन्त्रता खोज्ने र मिडियाको नियमित निगरानीबाट टाढा रहने योजना घोषणा गरे।

बेलायतमा मेघन लोकप्रिय नहुनुको मुख्य कारण बेलायती प्रेसले उनीप्रति गर्ने नकारात्मक मिडिया कभरेजलाई यो जोडीले मानेको थियो। राजपरिवारका अन्य सदस्यहरूसँग उनीहरूको विवाद भएको हल्ला पनि व्यापक थियो।

1052323750

सन् २०२१ मा, यो जोडी ओप्रा विन्फ्रेको टेलिभिजन कार्यक्रममा देखा पर्‍यो, जहाँ ह्यारीले आफ्ना पिता र दाजुसँगको फाटोको बारेमा खुलासा गरे।

मेघनले राजपरिवारभित्र आफू यति एक्लो र दुःखी महसुस गरेको बताइन् कि उनलाई आत्महत्या गर्ने विचारसमेत आएको थियो। साथै, उनले राजपरिवारका एक सदस्यले जन्मन लागेको बच्चाको छालाको रङ्ग कस्तो होला भनेर ‘चिन्ता’ व्यक्त गरेको दाबी गरिन्। मार्कल आधा ककेसियन (गोरा) र आधा अफ्रिकी-अमेरिकी हुन्।

ती परिवारका सदस्य महारानी एलिजाबेथ द्वितीय वा राजकुमार फिलिप थिएनन् भनी ह्यारीले स्पष्ट पारेपछि, त्यो व्यक्ति को हुन सक्छ भन्ने विषयमा व्यापक अनुमानहरू गरिएका थिए।

  • सन् २०२३: स्पेयर 

ह्यारीको संस्मरण ‘स्पेयर’ ले परिवारका अत्यन्तै गोप्य कुराहरू छताछुल्ल पार्‍यो, जसले राजपरिवारलाई स्तब्ध बनाएको रिपोर्टहरू बाहिर आए। पुस्तकमा उनले दाबी गरेअनुसार, सन् २०१९ मा मार्कलको विषयमा भएको विवादमा विलियमले उनलाई भुइँमा लडाएका थिए।

आफ्नो पुस्तकमा, ह्यारीले अपाचे हेलिकप्टर पाइलटको रूपमा अफगानिस्तानमा बिताएको समयमा २५ जनालाई मारेको पनि स्वीकार गरे। उनले सन् २००७ देखि २००८ सम्म हवाई आक्रमणमा फरवार्ड एयर कन्ट्रोलरको रूपमा र पछि सन् २०१२ देखि २०१३ सम्म आक्रमणकारी हेलिकप्टर उडाएर अफगानिस्तानमा सेवा गरेका थिए।

अलजजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सारा सामिम
सारा सामिम
लेखकबाट थप