बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मेक्सिकोका मोस्ट वान्टेड ड्रग लर्ड ‘एल मेन्चो’ सुरक्षा कारबाहीमा मारिए

सोमबार, ११ फागुन २०८२, ०६ : ०८
सोमबार, ११ फागुन २०८२

सारांश

  • मेक्सिकोको शक्तिशाली लागुऔषध समूहका नाइके एल मेन्चो सुरक्षा कारबाहीमा मारिए।
  • मेन्चोको मृत्युपश्चात समर्थकहरूले हिंसात्मक गतिविधि गर्दै सडक अवरुद्ध गरे।
  • अमेरिकाले आफ्ना नागरिकलाई जालिस्को लगायतका क्षेत्रमा सुरक्षित रहन चेतावनी दियो।

मेक्सिको सिटी । मेक्सिकोको सबैभन्दा शक्तिशाली लागुऔषध समूह जालिस्को न्यु जेनेरेसन (सीजेएनजी) का नाइके नेमेसियो ओसेगुएरा सर्वान्टेस उर्फ एल मेन्चो सुरक्षा कारबाहीमा मारिएका छन्। मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार उनलाई पक्राउ गर्ने क्रममा भएको भिडन्तमा गम्भीर घाइते भएका मेन्चोको आइतबार राजधानी मेक्सिको सिटी लैजाँदै गर्दा मृत्यु भएको हो। 

जालिस्को राज्यको तापाल्पा सहरमा सेना र कार्टेलका सदस्यहरूबिच भएको भीषण भिडन्तमा चार जना अपराधी मारिएका छन् भने तीन जना सैनिक घाइते भएका छन्। अमेरिकी गुप्तचर निकायको विशेष सूचनाका आधारमा गरिएको यस अप्रेसनमा मेक्सिकन विशेष दस्ता, वायुसेना र राष्ट्रिय गार्डको समेत प्रयोग गरिएको थियो।

मेन्चोको मृत्युको खबर सार्वजनिक भएलगत्तै उनका समर्थकहरूले आठवटा राज्यमा सवारीसाधन जलाउने, सडक अवरुद्ध गर्ने र सुरक्षाकर्मीमाथि आक्रमण गर्ने जस्ता हिंसात्मक गतिविधि सुरु गरेका छन्। स्थितिलाई मध्यनजर गर्दै संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकहरूलाई जालिस्को, तामाउलिपास र मिचोआकान लगायतका क्षेत्रमा सुरक्षित स्थानमा बस्न सेल्टर-इन-प्लेस चेतावनी जारी गरेको छ। 

यता मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनवाम पार्दोले जनतालाई शान्त रहन आग्रह गर्दै देशका धेरैजसो भागमा जनजीवन सामान्य रहेको बताएकी छिन्। पूर्व प्रहरी अधिकारी समेत रहेका ५९ वर्षीय मेन्चोले अमेरिकामा ठुलो परिमाणमा कोकिन र फेन्टानिल तस्करी गर्ने सञ्जाल चलाउँदै आएका थिए र उनलाई पक्राउ गर्न अमेरिकाले १५ मिलियन डलरको इनाम समेत घोषणा गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप