टी-२० विश्वकपको इतिहासमै भारतको सबैभन्दा ठूलो हार, बने यी रेकर्ड
सारांश
- दक्षिण अफ्रिकाले टी-२० विश्वकपमा भारतलाई ७६ रनले पराजित गर्यो, जुन भारतको सबैभन्दा ठूलो हार हो।
- खेलमा पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले १८७ रन बनायो भने भारत १११ रनमा अलआउट भयो।
- भारतको लगातार १२ खेल जित्ने कीर्तिमान र सीमित ओभरको प्रतियोगितामा १७ जितको यात्रा पनि टुंगियो।
अहमदाबाद । साबिक विजेता भारतले टी-२० विश्वकपको इतिहासमै सबैभन्दा ठूलो हार व्यहोर्नु परेको छ। आइतबार भएको तेस्रो सुपर-८ खेलमा दक्षिण अफ्रिकाले भारतलाई ७६ रनको अन्तरले हराएको छ।
यससँगै प्रतियोगितामा भारतको जितको सिलसिला पनि रोकिएको छ। यसअघि भारतले लगातार १२ वटा खेल जितेको थियो।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा अफ्रिकी टोलीले टस जितेर ब्याटिङ रोजेको थियो। टोलीले २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनायो। जवाफमा भारतीय टोली १८.५ ओभरमा १११ रनमा अलआउट भयो।
मार्को यानसनले ४ विकेट लिए भने केशव महाराजले ३ विकेट लिए। कोर्बिन बोशले २ र एडेन मार्करमले एक विकेट पाए। भारतका तर्फबाट शिवम दुबेले सबैभन्दा बढी ४२ रन बनाए।
यसअघि दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले ३५ बलमा ६३ रन बनाएका थिए। त्यस्तै डेवाल्ड ब्रेभिसले ४५ रन बनाए भने ट्रिस्टन स्टब्सले २४ बलमा अविजित ४४ रन बनाए। बलिङतर्फ भारतका जसप्रीत बुमराहले ३ विकेट र अर्शदीप सिंहले २ विकेट लिए।
यस खेलमा विभिन्न रेकर्ड बनेका छन् । हेरौँ :

- ७६ - दक्षिण अफ्रिकाविरुद्ध भारतको यो हारको अन्तर (रनको आधारमा) पुरुष टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनीहरूको दोस्रो सबैभन्दा खराब हार हो। यसअघि सन् २०१९ मा वेलिङ्टनमा न्युजिल्यान्डसँग ८० रनले हार व्यहोरेको थियो। पुरुष टी-२० विश्वकपमा भारतले ५० भन्दा बढी रनको हार व्यहोरेको यो पहिलो पटक हो। यसअघि उनीहरूको सबैभन्दा ठुलो हार सन् २०१० मा अष्ट्रेलियासँग ४९ रनको थियो।
- १२ - दक्षिण अफ्रिकासँग हार्नुअघि पुरुष टी-२० विश्वकपमा भारतको लगातार जितको संख्या। यो सिलसिला सन् २०२२ संस्करणको सेमिफाइनलमा इंग्ल्यान्डसँग हारेपछि सुरु भएको थियो र यो यस प्रतियोगितामा कुनै पनि टोलीको सबैभन्दा लामो जितको सिलसिला पनि हो।
- १७ - आइतबारको हारले आईसीसी पुरुष सीमित ओभरको प्रतियोगिता (एकदिवसीय, टी-२० विश्वकप र च्याम्पियन्स ट्रफी) मा भारतको कीर्तिमानी लगातार १७ जितको अन्त्य पनि गरेको छ। यसअघि उनीहरूले सन् २०२३ को एकदिवसीय विश्वकपको फाइनलमा अष्ट्रेलियासँग हार व्यहोरेका थिए, जुन खेल पनि अहमदाबादमै भएको थियो।
- १४-७ - यो हारपछि पुरुष टी-२० विश्वकपमा लक्ष्य पछ्याउने क्रममा (चेसिङमा) भारतको जित-हारको कीर्तिमान। यस प्रतियोगितामा भारतभन्दा राम्रो रेकर्ड भएको एक मात्र टोली अष्ट्रेलिया हो, जसले २२ खेल जितेको छ र १० खेल हारेको छ। सन् २०१२ यता टी-२० विश्वकपमा लक्ष्य पछ्याउँदा भारतको रेकर्ड १२-२ पुगेको छ, जसमा यस अवधिमा लक्ष्य पछ्याउँदा उनीहरूको अर्को एकमात्र हार सन् २०१६ मा न्युजिल्यान्डविरुद्ध भएको थियो।
- ३३ - पुरुष टी-२० विश्वकपमा जसप्रीत बुमराहले लिएको विकेट संख्या, जुन भारतका लागि सबैभन्दा धेरै हो। उनले रवीचन्द्र अश्विन (३२) र अर्शदीप सिंह (३२) लाई पछि पारेका हुन्।
- ११ - यस विश्वकपमा हालसम्म भारतीय ब्याट्सम्यानहरू शून्य (डक) मा आउट भएको संख्या, जुन कुनै पनि टोलीको लागि सबैभन्दा धेरै हो। कुनै एक पुरुष टी-२० विश्वकपको संस्करणमा भारतका लागि पनि यो सबैभन्दा धेरै हो, जसले सन् २०२४ मा बनेको ६ डक आउटको रेकर्डलाई पछाडि पारेको छ।
- २ विकेटमा १११ रन - आइतबार भारतविरुद्ध बिचका ओभरहरूमा (७-१६ ओभर) दक्षिण अफ्रिकाको स्कोर। यस प्रतियोगिताको कुनै एक इनिङ्समा यस चरणमा न्युजिल्यान्ड (क्यानडाविरुद्ध विना विकेट ११६ रन) ले मात्र बढी रन बनाएको छ। पुरुष टी-२० विश्वकपको खेलमा बिचका ओभरहरूमा भारतले दिएको यो १११ रन संयुक्त रूपमा सबैभन्दा धेरै पनि हो। सन् २००७ को संस्करणको सेमिफाइनलमा अष्ट्रेलियाले भारतविरुद्ध २ विकेटको क्षतिमा १११ रन बनाएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण