‘हामी भागबन्डाको राजनीति गर्दैनौँ, सत्ताका लागि सिद्धान्त बेच्दैनौँ’
सारांश
- काठमाडौं-१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाले घरदैलो अभियान सुरु गरे।
- मतदाताले भ्रष्टाचार अन्त्य, सुशासन र युवा पलायन रोक्न जोड दिएका थिए।
- थापाले युवालाई रोजगारी, खेलकुद र डिजिटल युगको विकासमा जोड दिने प्रतिबद्धता जनाए।
काठमाडौँ । सोमबार बिहान ७ बजे । काठमाडौँ महानगरको वडा नम्बर ११ स्थित ब्वाइज युनियन क्लब अगाडि ३० देखि ४० जना नेपाली कांग्रेसका कार्यकर्ताहरू भेला भइसकेका थिए ।
क्लब अघिको सानो होटलमा कोही चिया गफमा थिए भने कोही निर्वाचन प्रचार सामग्री मिलाउन व्यस्त । नमुना मतपत्र,उम्मेदवारको प्रतिबद्धता पत्रहरू मतदातालाई दिनेगरी तयारी पनि भइरहेको थियो । एक जनाले लाउडस्पिकरमा कांग्रेसको चुनावी गीत ‘नेपाली कांग्रेस जिन्दावाद, जिन्दावाद । आयो कांग्रेस आयो’ बजाए । सहभागीहरूलाई चुनावी प्रचारका लागि तयार भएको पर्चा वितरण भइरहेको थियो । घरदैलोमा सहभागी हुन महिला पुरुष बराबर उपस्थित थिए ।
कांग्रेसको झण्डा, ब्यानर र चुनाव चिह्न तयार भइरहँदा ७ः२० बजे काठमाडौं–१ का कांग्रेस उम्मेदवार प्रवल थापा आइपुगे । उनलाई बागमती प्रदेश उपसभापति तथा काठमाडौं–१ का चुनाव प्रचारप्रसारका संयोजक रवीन्द्र श्रेष्ठसहित पार्टी इकाइ सभापति सरोज मुल्मीले खादामाला लगाइदिए ।

प्रवलले अभियान बढाए । जम्मा भएका प्रदेश उपसभापति, इकाइ सभापतिलगायत सबै नेताकार्यकर्ता अघि बढे । घरदैलो सुरु भयो । प्रवल आफूलाई जिताउन मत माग्दै हिँड्न थाले ।
उनीसँगैका अर्का एक नेताले ‘पुरानो कांग्रेसभन्दा पनि बदलिएको कांग्रेस’ भन्दै मत मागे । उनले अझ जोसका साथ थपे, ‘बदलिएको कांग्रेसले मुलुकको बागडोर सम्हाल्ने छ । त्यसका लागि पनि प्रवललाई मत दिनुहोस् ।’
प्रवल र अगुवा कार्यकर्ताको जवाफमा एक महिला मतदाताले विगतमा पनि कांग्रेसलाई नै मत दिएको बताइन् । भनिन्,‘ अझ अहिले बदलिएर आएको भन्नुभएको छ । फेरि युवा पनि हुनुहुन्छ । ढुक्क हुनुस् । हाम्रो मत हजुरहरूलाई नै हो ।’
प्रबल घरदैलोमा आउने थाहा पाएर होला, प्रायःले फूलमाला र अबिर ठीक पारिसकेका थिए ।
घरदैलो बढ्दै थियो, त्रिपुरेश्वर क्षेत्रमा एउटा किराना पसलमा प्रबल पुगेका थिए । पसल सञ्चालक मतदाताले उनलाई जितको शुभकामना दिए । त्यहाँ पुगेको रातोपाटी टिमले ती सञ्चालकलाई सोध्यो– तपाईंले त उम्मेदवारसँग गुनासो गर्नुभएन नि ? प्रश्न पनि गर्नुभएन । ती पसल सञ्चालकले भने, ‘के गुनासो र प्रश्न गर्नु ? यो क्षेत्र कांग्रेसको गढ हो । वडामा प्यानलसहित जितेको छ । विकासको काम गरिरहेकै छ । फेरि यही क्षेत्रको स्थानीय उम्मेदवार हुनुहुन्छ । युवा पनि हो । त्यसैले गुनासो र प्रश्न गर्ने ठाउँ छैन ।’

अभियानका क्रममा प्रबलसँग सेल्फी खिच्नेदेखि सामूहिक तस्बिर लिनेहरू पनि थिए । उनलाई चिन्नेहरू मोटरसाइकल रोकेर शुभकामना दिइरहेका थिए । करिब तीन घण्टाको घरदैलोमा कतिपय तल मतदाता घरबाट ओर्लिएर उनलाई भेट्न आए भने कतिपयले माथिबाटै हात हल्लाएर शुभकामना दिए । धेरैजसोले टाउको मात्र हल्लाएर समर्थन जनाए भने कतिपय मज्जैले खुले ।
मतदाताहरूको उल्लेखनीय प्रश्न सामना नगरेका प्रबलले बरु आशीर्वाद र शुभकामना पाए । मतदाताले उम्मेदवारसँग ठुला अपेक्षा गरेको पनि देखिएन । उम्मेदवारले पनि आफ्नो योजना र प्रतिबद्धता सुनाउँदै हिँड्नुपर्ने स्थिति देखिएन् । यद्यपि उनले युवाको कामको सम्बोधन र रोजगारीका क्षेत्रमा काम गर्ने प्रतिबद्धता भने गरेका थिए ।
उक्त क्षेत्रमा घरदैलो सकिएसँगै उम्मेदवार थापासँग रातोपार्टीले थोरै कुराकानीसमेत गरेको छ ।
घरदैलो गर्दा आम मतदाताको माग र अपेक्षा के पाउनुभयो ?
–मतदाताका मागहरू राष्ट्रिय र स्थानीय दुवै स्तरका छन् । क्षेत्रमा जाँदा त्यहाँका दैनिक र क्षेत्रगत समस्याहरू त छँदै छन् । तर त्योभन्दा माथि उठेर राष्ट्रमा व्याप्त भ्रष्टाचार अन्त्य र सुशासनको विषय प्रमुख रूपमा उठेको छ ।
देशमा युवा पलायनको समस्या विकराल छ । अग्रज र अभिभावक पुस्ता मात्र बाँकी रहने अवस्था छ । युवा जति बिदेसिने जुन क्रम छ, त्यसलाई रोक्नुपर्छ भन्ने चिन्ता र माग मतदातामा मुख्य रूपमा पाइयो ।
यो प्रकाशमान सिंहले लामो समयदेखि जित्दै आएको पुरानो विरासत बोकेको क्षेत्र हो । तर तपाईं युवा र नयाँ हुनुहुन्छ । मतदाताले पनि नयाँ अनुहार खोजिरहेका छन् नि ?
–नेपाली कांग्रेस पार्टी रुपान्तरण भएर श्रद्धेय महामन्त्री गगनकुमार थापाको नेतृत्वमा अघि बढेपछि म लगायत थुप्रै नयाँ अनुहारहरू उम्मेदवारका रूपमा देखिएका छौँ । तर म विगत १५ वर्षदेखि पार्टीको संरचनामा निरन्तर काम गरिरहेको व्यक्ति हुँ । विगत चार कार्यकाल हाम्रा आदरणीय नेता प्रकाशमान सिंहले नेतृत्व गर्नुभएको यो प्रतिष्ठित र इतिहास बोकेको क्षेत्रका मतदाताले मलाई एकदमै उत्साहजनक रूपमा स्वागत गर्नुभएको छ ।

म यहीँको स्थानीय पनि हुँ । अहिले जेनजी र युवा पुस्ताले आफैँ नेतृत्व गरोस् । निर्णय गर्ने ठाउँमा पुगोस् भन्ने अपेक्षा मतदातामा छ । नेपाली कांग्रेस रुपान्तरित हुँदा उदय भएको नयाँ विचार र उत्साहले हामीजस्ता युवालाई निर्णय गर्ने ठाउँमा पुर्याएको छ । यसले क्षेत्र नम्बर १ का बासिन्दालाई निकै उत्साहित बनाएको छ ।
अन्य उम्मेदवाहरूसँग तपाईंले चुनाव जित्ने आधारहरू के–के हुन् ?
– पहिलो आधार भनेको युवाको भावना हो । दोस्रो, हाम्रो पार्टी रुपान्तरित भएर आएपछि देशभर फेरिएको माहोल हो । मेरा जित्ने मुख्य आधार भनेका मेरा एजेन्डाहरू र हाम्रो पार्टीको इतिहास हुन् । हामी इतिहासको गौरव र संघर्षलाई सम्मान गर्छौं, तर अब कांग्रेस इतिहासमा मात्रै रमेर बस्दैन ।
हामी भविष्यको लागि २०८५ र २०९० सालको योजनासहित आएका छौँ । अबको पाँच वर्ष नेपाली कांग्रेसले भ्रष्टाचारमा निर्मम भएर काम गर्छ । हामी भागबन्डाको राजनीति गर्दैनौँ र सत्ताका लागि सिद्धान्त बेच्दैनौँ ।
हामी उच्च नैतिकताका साथ काम गरेर देखाउनेछौँ । मेरा व्यक्तिगत एजेन्डाहरू पनि छन् । सुशासनको कुरा छँदै छ । युवालाई रोजगारीमा जोड्ने, दक्ष जनशक्ति तयार पार्ने, स्टार्टअपहरूलाई प्रोत्साहन गर्न दुई वर्षसम्म कर छुटदिने मेरो योजना छ ।

हाम्रो क्षेत्रमा रंगशाला पनि पर्छ, त्यसैले खेलकुद र सम्पदा संरक्षणमा मेरो जोड रहनेछ । अर्को महत्त्वपूर्ण कुरा, अबको युग डिजिटल युग हो । प्रविधि भनेको लक्जरी होइन । देश विकासको आवश्यकता हो । हामी वान डोर पोलिसी ल्याएर कम्पनी खोल्नेदेखि बन्द गर्ने र लाइसेन्स लिनेसम्म सबै काम (वडा, उद्योग, कर कार्यालय धाउनुपर्ने झन्झट अन्त्य गर्दै एकै ठाउँबाट डिजिटल रूपमा हुने व्यवस्था गर्न पहल गर्नेछौँ ।
पुराना दलहरूलाई लिएर जनतामा एक किसिमको वितृष्णा छ, पुराना दल र नयाँ उम्मेदवारबिचको भिन्नतालाई कसरी लिनुभएको छ ?
– स्थापित पुराना पार्टी भन्दैमा सबै कुरा खराब हुन्छन् भन्ने हुँदैन । हामीजस्ता युवा पनि तिनै पार्टीमा छौँ र आज अवसर पाउँदा देखिएका छौँ । स्थापित पार्टीको नेतृत्व र जनताबिच जुन दूरी देखिएको थियो, त्यसलाई कम गर्न नेपाली कांग्रेसको नयाँ नेतृत्व र हामीजस्ता युवा अघि सरेका छौँ ।
मेरो उम्मेदवारी किन पनि हो भने म नवयुवाहरूको भावनालाई समेटेर अभिभावक पुस्तासँग जोड्ने एउटा पुलको रूपमा काम गर्नेछु । पुरानो पार्टीमा नयाँ उम्मेदवार छैनन्, युवा छैनन् भन्ने जुन भाष्य छ । मेरो उम्मेदवारी नै त्यसको एउटा गतिलो उदाहरण हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण