मध्यम वर्गको ढुलमुले चरित्र : माओवादीदेखि रास्वपासम्म
सारांश
- सहरी क्षेत्रका मध्यम वर्ग सधैँ परिवर्तनको पक्षमा देखिएको छ, तर उनीहरुको राजनीतिक रङ स्वार्थ अनुसार फेरिने गरेको छ।
- माओवादी मोहपछि रास्वपाप्रति देखिएको आकर्षण पनि त्यस्तै अस्थिर चरित्रको उपज हो, जसले अवसरवादलाई बढावा दिन्छ।
- विचारविहीन राजनीतिले फासीवादलाई निम्त्याउँछ र सुशासनको नारा दिए पनि रास्वपामा पुराना पात्रहरुको प्रवेशले शंका जन्माएको छ।
नेपाली राजनीतिमा मध्यम वर्ग, विशेष गरी सहरी क्षेत्रका नागरिकहरू सधैँ परिवर्तनको पक्षमा उभिएको जस्तो देखिन्छ। विगतदेखि नै उसले निर्वाचनको समयमा दिएको फरक–फरक नतिजाले यो कुराको पुष्टि गर्छ। सडक आन्दोलन, सामाजिक सञ्जाल र मतदानमा आफूलाई सधैँ ‘बौद्धिक’ र ‘परिवर्तनकारी शक्ति’ का रूपमा देखाउने कोसिस गर्छ। विगतको प्रवृत्ति हेर्दा पनि यो वर्ग सत्ता र स्वार्थको सन्तुलन फेरिँदै जाँदा आफ्नो राजनीतिक रङ पनि फेरिरहेको पाइन्छ। आखिर उनीहरू कुन मनोविज्ञानले यस्तो गर्छन्?
कार्ल मार्क्सले डेढ शताब्दी अगाडि नै मध्यम वर्गलाई ‘स्वभावैले अवसरवादी’ चरित्रको हुन्छ भनेका थिए। मार्क्सले भनेका थिए– मध्यम वर्गको राजनीतिक चरित्र निश्चित वैचारिक धरातलभन्दा पनि तात्कालिक लाभ र फाइदाको दिशातिर ढल्किने ‘अस्थिर’ प्रकृतिको हुन्छ। आफ्नो वर्गीय अस्तित्व जोगाउन यो वर्गले आफूलाई सधैँ ‘परिवर्तनको कट्टर पक्षपाती’ का रूपमा प्रस्तुत गर्न रुचाउँछ।
आजको नेपाली राजनीति, विशेष गरी सहरी क्षेत्रको मतदान प्रवृत्तिलाई विश्लेषण गर्ने हो भने मार्क्सको त्यो डेढ शताब्दी पुरानो परिभाषा धेरै हदसम्म मेल खान्छ। नेपालका मुख्य सहरहरू सधैँ मध्यम वर्ग र सम्भ्रान्तहरूको केन्द्रबिन्दुका रूपमा चिनिन्छन्। यो वर्गको राजनीतिक व्यवहारलाई नबुझी विगतको माओवादी लहर र वर्तमानको रास्वपा उभार बुझ्न सकिँदैन।
- माओवादी लहर र अवसरवादी रूपान्तरण
दश वर्षे सशस्त्र सङ्घर्ष विश्राम गरी शान्ति प्रक्रियामा आएपछि माओवादी पार्टीप्रति सहरिया मध्यम वर्गको झुकाव एकाएक बढेन मात्र, उनीहरूको माओवादी मोह अचम्मलाग्दो थियो। हिजोका कट्टर पञ्च, राजावादी, अवकाशप्राप्त उच्च पदस्थ कर्मचारी र सेना–प्रहरीका पूर्व अधिकृतहरू रातारात युद्ध लडेर आएका माओवादीभन्दा बढी क्रान्तिकारी देखिए। त्यसको परिणाम निर्वाचनमा स्पष्ट देखियो। सहरिया मतदाताले माओवादीलाई भारी मत दिएर विजयी बनाए।

तर, मार्क्सले भनेझैँ यो वर्गको समर्थन सिद्धान्त वा दीर्घकालीन परिवर्तनका लागि थिएन, बरु स्वार्थ र सुरक्षामा अडिएको थियो। पञ्चायतकालका चर्चित पात्र सूर्यसेन ओलीजस्ता व्यक्तिहरू माओवादीको मूलधारमा आउनु त्यसैको प्रतिफल थियो।
जब माओवादीबाट उनीहरूको स्वार्थ पूरा हुन छाड्यो वा माओवादी सत्ताको कोपभाजनमा पर्यो, त्यही सहरिया वर्गले माओवादीलाई सडकमा पुर्याइदियो। आज सहरी क्षेत्रमा माओवादीको हालत किन नाजुक भयो? यसको जवाफ यही मध्यम वर्गको अस्थिर र स्वार्थपूर्ण चरित्रमा लुकेको छ।
अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति देखिएको आकर्षण ०६४ सालकै माओवादी लहरको नयाँ संस्करण हो भन्न कत्ति पनि हिचकिचाउनुपर्दैन। रास्वपा कथित पुराना भनिएका दलहरूको अराजनीतिक र नालायकीको उत्पादन हो।
- इतिहासको पुनरावृत्ति
जर्मन दार्शनिक हेगेलले भनेका थिए, ‘इतिहासमा सबै ठुला घटना र पात्रहरू दुईपटक देखापर्छन्।’ कार्ल मार्क्सले यसैलाई परिष्कृत गर्दै थपे, ‘हो, इतिहास दोहोरिन्छ। पहिलोपटक त्यो त्रासदीका रूपमा आउँछ भने दोस्रोपटक प्रहसनका रूपमा।’
तत्कालीन माओवादी पार्टी जनयुद्ध र हजारौँको बलिदानबाट निर्मित थियो। त्यसको क्रान्तिकारी विचारमा भविष्य बदल्न सक्ने सामर्थ्य थियो। तर, संसदीय खेल र सत्ताप्राप्तिको लुछाचुँडीमा अल्मलिएपछि उसले आन्दोलन, सहिदको त्याग र वर्गीय धरातल बिर्सियो। केवल व्यक्तिको स्वार्थमा पार्टी केन्द्रित भएपछि माओवादीको त्यो 'महान् उद्देश्य' धमिरा लागेको काठझैँ भयो।
त्यससँगै आम नागरिकको नयाँ नेपाल देख्ने सपना पनि धुलीसात् भयो। यो नेपाली इतिहासको त्रासदी थियो।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति देखिएको आकर्षण ०६४ सालकै माओवादी लहरको नयाँ संस्करण हो भन्न कत्ति पनि हिचकिचाउनुपर्दैन। रास्वपा कथित पुराना भनिएका दलहरूको अराजनीतिक र नालायकीको उत्पादन हो। आफूलाई जबर्जस्त ‘नयाँ’ भन्ने भाष्य निर्माण गर्नुबाहेक उसको अरू कुनै नौलो र नवीन सोच छैन। राजनीतिक विचार र एजेन्डा त परका कुरा भए।
रास्वपा अहिले पौराणिक राजा मिदासजस्तो बनेको छ, जसलाई छोयो सुनमा परिणत हुने। हिजोसम्म अन्य दलमा रहेर आलोचना खेपेका पात्रहरू रास्वपाको घण्टी समात्ने बित्तिकै पवित्र र नयाँ, नौलो, नवीन हुने अनौठो विरोधाभास सुरु भएको छ।
हिजो गाली गरिएका पात्रहरू आज नेता र उम्मेदवारको भेषमा रास्वपाको मुक्तिदाताका रूपमा उभिएका छन्। तथापि वैचारिक धरातलबिनाको पार्टीमा जोसुकै आउनु र चोखिनुले राजनीतिलाई नीतिप्रधान बनाउँदैन, केवल व्यक्तिप्रधान बनाउँछ।
टिकटकको लोकप्रियता, सेलिब्रिटी प्रभाव र संस्थागत राजनीतिक अनुभवहीन अभियन्ताहरू एकाएक उम्मेदवार बनाउने प्रवृत्तिले रास्वपा लोकप्रियतामुखी राजनीतिको फेरो समाउन पुगेको प्रस्ट छ। यही प्रवृत्ति अहिले नेपाली राजनीतिमा प्रहसनको रूपमा दोहोरिएको छ।
- विचारबिनाको राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नै परिपक्व वैचारिकी र सिद्धान्तको जगमा स्थापित शक्ति नभएको हुँदा उसमा वैचारिक र सैद्धान्तिक स्पष्टताको अभाव हुनु नौलो कुरा होइन। भन्नलाई उसले आफ्नो विचारधारा संवैधानिक समाजवाद र प्रगतिशील केन्द्र भनेको छ। तर दुर्भाग्य, यस्ता शब्दावलीहरू विश्व राजनीतिक मञ्चहरूमा अस्तित्वमै छैनन्, न त शब्दकोशमै अस्तित्वमा छन्। विचारको नाममा यस्ता भ्रमपूर्ण शब्दहरूको प्रयोग गर्नु पनि बौद्धिक ठगी हो।
राजनीतिमा विचार वा सिद्धान्त केवल कस्मेटिक साधन होइन। राजनीतिक पार्टीको अस्तित्व र पहिचानको आधार हो। विचार नै त्यो हतियार हो, जसले एउटा दललाई अन्य दलभन्दा फरक बनाउँछ। यसले कार्यकर्ताको पङ्क्तिलाई निश्चित उद्देश्यमा एकताबद्ध र परिचालन गर्छ। आम जनतालाई भविष्यप्रति आशावादी बनाउँछ।
सिद्धान्त र विचारको यत्रो गुरुत्व हुँदा पनि जब स्पष्टताको सवाल आउँछ, तब रास्वपाका नेता-कार्यकर्ताहरू तर्क गर्छन्– पुराना दलसँग सिद्धान्त भएर के भयो त, देशको हालत त उस्तै छ।
यति मात्र होइन, राज्य सञ्चालनको सवालहरू जस्तो; शिक्षा, स्वास्थ्य नीति के हुने? कस्तो कर प्रणाली हुने? कस्तो आर्थिक नीति अपनाउने? अन्तर्राष्ट्रिय कूटनीति कस्तो हुने? भन्ने कुराको मार्गचित्र विचार र सिद्धान्तले तय गर्छ। अर्कोतिर विचारविहीन राजनीतिले पार्टी र सत्तालाई निश्चित मानिसहरूको रजगज गर्ने थलोका रूपमा विकास गर्छ।
सरकारमा गएर के डेलिभरी गर्ने? भन्ने सवालमा नै अलमल्लको अवस्था सिर्जना हुन्छ। जसले नेता-कार्यकर्ताको पङ्क्तिमा अवसरवादी चरित्र हाबी हुन पुग्छ। जनतामा निराशा बढ्न पुग्छ र जनसमर्थन पुनः अर्को दिशामा मोडिन सक्छ।
सिद्धान्त र विचारको यत्रो गुरुत्व हुँदा पनि जब स्पष्टताको सवाल आउँछ, तब रास्वपाका नेता-कार्यकर्ताहरू तर्क गर्छन्– पुराना दलसँग सिद्धान्त भएर के भयो त, देशको हालत त उस्तै छ। यो भनाइमा आंशिक सत्यता होला, तर विचारविहीनता विचार हुनुभन्दा हजारौँ गुणा बढी खतरनाक हुन्छ।
विडम्बना, उनीहरूलाई सोधिने यस्ता प्रत्येक नीतिगत प्रश्नको उत्तर ‘पुराना दलले के गरे त?’ भन्ने प्रतिप्रश्नमा आएर टुङ्गिन्छ।
राजनीतिशास्त्रले हरेक दलका लागि आदर्श लक्ष्य एक अनिवार्य सर्त मानेको छ। यसको अनुपस्थितिमा राजनीति गन्तव्यहीन हुन पुग्छ। सिद्धान्त र विचारको स्थानमा जब अमुक व्यक्तिलाई राखिन्छ, तब बौद्धिक बहसलाई अनावश्यक ठानिन्छ। असहमति राख्ने, आलोचना गर्नेलाई शत्रुका रूपमा चित्रण गरिन्छ।
नीतिगत प्रश्नलाई भावनात्मक जवाफले विस्थापन गरिन्छ। पुराना दल, पुरानो प्रणाली सबै बिग्रिएको भन्ने भाष्य निर्माण गरेर लोकतान्त्रिक पद्धतिमाथि अविश्वास बढाइन्छ। नेतृत्वको मौनतालाई शक्ति र बौद्धिकता ठानिन्छ। सत्तासीनको बोली आम कार्यकर्ताका लागि धर्मग्रन्थका पवित्र अक्षर बन्न पुग्छ।
राजनीतिमा यस्तो अवस्था आउनुको सीधा अर्थ हो– फासीवादतर्फको यात्रा। सिद्धान्तहीन लोकप्रियताले फासीवादलाई जन्म दिन्छ र लोकतन्त्रलाई जोखिममा पार्छ।
- सुशासन र भ्रष्टाचारको गफ
सुशासनका लागि राज्यका हालका संरचनाहरूलाई जरैदेखि पुनर्संरचना गर्नुपर्ने देखिन्छ। जसका लागि स्पष्ट रोडम्याप आवश्यक हुन्छ। हाल कायम रहेकै संरचनालाई रेट्रोफिटिङ गरेर सुशासन र समृद्धि ल्याउन लगभग असम्भवजस्तै छ।
हामीले बुझ्नुपर्छ, सुशासन र भ्रष्टाचारको अन्त्य कुनै सिद्धान्त होइन, राज्यका न्यूनतम सर्तहरू हुन्। भ्रष्टाचार केवल नैतिक प्रश्नसँग मात्र जोडिएको हुँदैन, बरु मूलभूत रूपमा आर्थिक संरचनासँग जोडिएको हुन्छ।
मध्यम वर्गको विरोधाभास पनि यहाँ छर्लङ्ग हुन्छ। यदि उनीहरूको चाहना साँच्चिकै सुशासन र भ्रष्टाचार अन्त्य थियो भने, पुराना दलबाट आएर रातारात उम्मेदवार बनाइएका व्यक्तिहरूलाई अस्वीकृत गर्ने थिए।
रास्वपासँग यो संरचना बदल्ने योजना के छ? कतै बहस छैन। अझ गम्भीर कुरा त के छ भने, हिजो राज्यका प्रणाली र पद्धतिको दुरुपयोग गर्नेहरू नै रास्वपामा धमाधम प्रवेश गरिरहेका छन्। यस्तो परिपाटी हेर्दा उसको सुशासन र भ्रष्टाचार अन्त्यको गफमै शङ्का गर्नुपर्नेछ।
अर्कोतर्फ मध्यम वर्गको विरोधाभास पनि यहाँ छर्लङ्ग हुन्छ। यदि उनीहरूको चाहना साँच्चिकै सुशासन र भ्रष्टाचार अन्त्य थियो भने, पुराना दलबाट आएर रातारात उम्मेदवार बनाइएका व्यक्तिहरूलाई अस्वीकृत गर्ने थिए। तर उनीहरूलाई मुक्तिदाताका रूपमा स्वीकार गर्नुले मध्यम वर्गको चाहना सुशासनसँग नभई स्वार्थसँग जोडिएको प्रस्ट छ।
- अब के त?
नेपाली राजनीतिको चक्रले के देखाउँछ भने, जबसम्म कुनै दलले स्पष्ट वैचारिक धरातलमा टेकेर काम गर्दैन, तबसम्म मध्यम वर्गको यो मोह क्षणिक हुन्छ। लियोन ट्रोट्स्कीले भनेझैँ, ‘मध्यम वर्ग आर्थिक रूपमा स्वतन्त्र नहुने भएकाले राजनीतिक रूपमा पनि यो कहिल्यै स्वतन्त्र हुन सक्दैन। यो सधैँ कुनै न कुनै मसिहाको खोजीमा हुन्छ, जसले तत्कालको सङ्कटबाट बचाउने भ्रम दिन्छ।’
अहिले रास्वपामा देखिएको यो भीड र मध्यम वर्गको आकर्षण ट्रोट्स्कीले भनेझैँ क्षणिक मात्र हुन सक्छ। जब यो वर्गको महत्त्वाकाङ्क्षा र व्यक्तिगत स्वार्थमा ठेस लाग्छ, तब यो वर्ग रास्वपाबाट त्यसरी नै छुट्टिनेछ, जसरी माओवादीबाट छुट्टिएको थियो।
रास्वपाले जतिसक्दो चाँडो आफूलाई कुनै राजनीतिक दर्शनको धरातलमा उभ्याउन सकेन र अलमल्लको स्थितिमा बसिरह्यो भने कुनै पनि बेला राजनीतिक नक्षत्रबाट बिलाउन सक्छ। विश्व इतिहासले सिकाएको छ, भीडतन्त्रले क्षणिक वाहीवाही र सत्ता दिए पनि राजनीतिक रूपले सतिसालझैँ उभिनका लागि सिद्धान्त र विचार आवश्यक हुन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण