बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रुपन्देही–२ का उम्मेदवार पौडेल भन्छन्

‘बेरोजगारी हटाउन विशेष पहल गर्छु, ढुक्कले जित्छु'

मङ्गलबार, १२ फागुन २०८२, १८ : ००
मङ्गलबार, १२ फागुन २०८२

सारांश

  • रुपन्देही क्षेत्र नम्बर २ मा कांग्रेसबाट उद्योगी चुन्नुप्रसाद पौडेल उम्मेदवार छन्।
  • उनले चुनाव जित्नका लागि मतदाताको साथ र पार्टीको बलियो संगठन रहेको बताए।
  • उनले आफ्नो चुनावी एजेण्डा र जित्ने आधारबारे जानकारी गराए।

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट उद्योगी चुन्नुप्रसाद पौडेल उम्मेदवार छन् । कांग्रेसले देशभर करिब आधा दर्जन उद्योगीहरूलाई टिकट दिँदा रुपन्देही–२ मा पौडेलले पनि पाए । 

हाल पौडेल निर्वाचन प्रचारप्रसारमा व्यस्त छन् । उद्योगीको छवि बनाएका पौडेल पहिलो पटक निर्वाचन मैदानमा उत्रिँदा कस्तो अनुभव गरिरहेका छन् ? उनका एजेन्डाहरू कस्ता छन् ? यिनै विषयमा गरिएको संक्षिप्त कुराकानीः 

उद्योगीको पहिचान बनाएको व्यक्ति संसद्को भूमिका रोज्दै हुनुहुन्छ, कस्तो अनुभूति भइरहेको छ ?

नेपाली कांग्रेसले केही उद्योगीहरूलाई पनि टिकट दिएको छ । उद्योगीका समस्या र केही अप्ठ्यारा विषयवस्तु उद्योगीहरूले नै राम्रोसँग बुझ्न सक्छन् भन्ने उद्देश्यले हामीलाई टिकट दिइएको एउटा कारण हो । अन्य कारणहरू पनि धेरै छन् । म नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय छु । पार्टीको महाधिवेशनमा मैले सबैभन्दा धेरै मत प्राप्त गरेको व्यक्ति हुँ । यस अर्थमा म कांग्रेसभित्र पनि प्रिय नेताका रूपमा चिनिन्छु । 

व्यापार तथा उद्योगको क्षेत्रमा लागेको म अहिले प्रतिनिधि सभाको उम्मेदवारको हैसियतमा टोल–टोलमा मतदातासँग मत माग्न पुगेको छु । उद्योगमा लगानी गर्दा त्यसको प्रतिफल कसरी प्राप्त हुन्छ भन्ने चिन्ता सबै उद्योगीमा हुन्छ, ममा पनि त्यस्तै छ । अहिले उम्मेदवारको रूपमा जाँदा अधिकांश परिचित मतदाताहरू नै भेटिन्छन् । फरक यति मात्र हो कि, हिजो उहाँहरूले मलाई उद्योगीका रूपमा चिन्नुहुन्थ्यो भने अहिले उम्मेदवारका रूपमा चिनेका छन् । तर, उम्मेदवार भए पनि वा प्रतिनिधि सभामा पुगेपछि गर्नुपर्ने कामबारे मलाई स्पष्ट जानकारी भएकाले मतदातासँग कुरा गर्दा कुनै अप्ठ्यारो महसुस भएको छैन ।

चुनावी अभियान कसरी चलिरहेको छ ?

मेरो निर्वाचन क्षेत्रमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैनाका केही वडा पर्छन् । यसमा बुटवल उपमहानगरपालिकाका १ देखि १३ वडासम्म, तिलोत्तमाका १ देखि ६ वडासम्म र सैनामैनाका १ देखि ४ वडासम्म (अथवा उल्लेखित वडा) पर्छन् । तीमध्ये अधिकांश वडामा घरदैलो कार्यक्रम सम्पन्न भइसकेको छ । नेपाली कांग्रेसले हरेक वडामा सम्पर्क कार्यालय स्थापना गरेको छ । यस्तै, वडा तहसम्म विभिन्न समिति बनाएर निर्वाचनको काम भइरहेको छ । क्षेत्रीयस्तरमा निर्वाचन परिचालन समिति तथा अन्य विभिन्न समितिहरूले पनि काम गरिरहेका छन् । म आफैं बिहानदेखि साँझसम्म मतदाताको घरघरमा पुगेको छु । निर्वाचन गतिविधिमा दिनरात नभनी खटिएको अवस्था छ । 

chunnu-paudel2

तपाईंका एजेन्डा के–के हुन् ?

मेरो निर्वाचन क्षेत्रमा रहेका स्थानीय तहले समाधान गर्न नसक्ने ठुला परियोजनाहरूलाई समन्वय गरी अगाडि बढाउनुपर्ने हुन्छ । यो भौतिक रूपमा केही विकास भएको क्षेत्र भए पनि अझै सुकुम्बासी समस्या र खानेपानीको समस्या विद्यमान छन् । ती समस्या समाधानका लागि मेरो निरन्तर पहल रहनेछ । यो उद्योगी तथा व्यापारीहरू पनि बसोबास गर्ने क्षेत्र भएकाले उनीहरूका समस्या समाधान गर्न नीतिगत रूपमा संसदमा मेरो भूमिका रहनेछ । 

खासगरी, स्वदेशी उद्योगीहरूलाई टिकाइराख्न तथा नयाँ उद्योग स्थापनाका लागि नीतिगत रूपमा अहिले विभिन्न झमेलाहरू छन् । ती झमेलाका कारण उद्योगी, खासगरी युवा उद्योगीहरू नेपालमा लगानी गर्नुभन्दा विदेश पलायन हुने अवस्था छ । यसलाई रोक्न मसँग स्पष्ट योजना र भिजन रहेको छ । 

अर्कोतर्फ, वैदेशिक रोजगारीका लागि दैनिक युवाहरू बिदेसिएका छन् । युवाहरूलाई स्वदेशमै रोक्न नसक्नुको मुख्य कारण नै बेरोजगारी हो । बेरोजगारी हटाउनका लागि मेरो विशेष पहल रहनेछ । अहिले पनि मैले मेरा उद्योग तथा अस्पतालमा गरी ५ हजारभन्दा बढीलाई रोजगारी प्रदान गरेको छु । म जस्तै अन्य उद्योगीले पनि यस्तै रोजगारी प्रदान गर्न सक्ने र राष्ट्रलाई अधिकतम कर दिन सक्ने वातावरण निर्माण गर्न आवश्यक छ । त्यसका लागि यहाँ औद्योगिक क्षेत्र थपिनुपर्छ । मोतीपुर औद्योगिक क्षेत्र स्थापना गर्नुपर्छ । 

मेरो चुनावी घोषणापत्रमा ‘एक घर–एक रोजगारी’ अभियानलाई विशेष प्राथमिकतामा राखेको छु । घोषणापत्रमा युवाहरूलाई डिजिटल प्रविधिमा प्रवेश गराई रोजगारयुक्त बनाउने स्पष्ट खाका प्रस्तुत गरिएको छ । उद्योग, व्यापार र व्यावसायिक क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गर्दै लगानीमैत्री वातावरण बनाउने, पारदर्शी कर प्रणाली र विश्वासिलो कानुनी प्रबन्धमार्फत रोजगारी सिर्जनालाई दिगो बनाउने प्रतिबद्धता व्यक्त गरेको छु ।
कृषिलाई प्राथमिकतामा राख्दै आत्मनिर्भरता र स्वरोजगारतर्फ उन्मुख गराउने नीति पनि घोषणापत्रको प्रमुख अंश हो । कृषि तथा पशुपन्छी व्यवसाय केन्द्र स्थापना, बाली पकेट क्षेत्र निर्धारण, अनुदान, सरल कृषि ऋण, उत्पादन बिक्री केन्द्र, उपकरण, बीउ–मल र औषधिको सहज उपलब्धता तथा कृषि–पशु बिमाको समुचित प्रबन्धमार्फत किसानलाई प्रोत्साहन गर्ने योजना अघि सारेको छु । यसले पुराना कृषकलाई थप हौसला दिने र नयाँ पुस्तालाई कृषितर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ । बुटवल टेक्निकल इन्स्टिच्युट (द्यत्क्ष्) लाई इन्जिनियरिङ कलेजका रूपमा रूपान्तरण गर्दै बुटवल अटो भिलेजमा पनि इन्जिनियरिङ कलेज स्थापना गरी प्राविधिक तथा दक्ष जनशक्ति उत्पादन गर्ने योजना अघि सारेको छु । यसले उद्योगलाई चाहिने दक्ष श्रम शक्ति उपलब्ध गराउँदै रोजगारी सिर्जनामा थप योगदान पुर्‍याउने विश्वास गरिएको छ । 

मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ? 

मतदातामा धेरै आशा पलाएको छ, उनीहरू उत्साहित छन् र कार्यकर्ताहरू पनि एकजुट छन् । अधिकांशले मलाई चिनेका छन् । म पहिलो पटक उम्मेदवार बने पनि यस क्षेत्रका मतदातासँग वर्षौँदेखि उद्योग, व्यापार, अस्पताल आदिका कारण परिचित छु । अहिले उम्मेदवार बनेर जाँदा उहाँहरूले सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ । एउटै उम्मेदवारलाई लगातार मत दिनुभन्दा बुटवलमा राम्रो छाप बनाएका व्यक्तिलाई मत दिन पाउँदा मतदाताहरू खुसी भएका छन् । 

तपाईंका जित्ने आधार के–के हुन् ? 

म नेपाली कांग्रेसबाट निर्वाचन मैदानमा उत्रिँदा मतदाताले नयाँ अनुहार खोजिरहेका छन् । मेरो स्वच्छ छवि भएकाले धेरै मत प्राप्त हुने विश्वास छ । अर्को, यहाँ कांग्रेसको बलियो संगठन छ । अहिले केन्द्रमा नेतृत्व बदलिएपछि नयाँ उत्साह छ । 

chunnu-paudel

मैले हालसम्म यस क्षेत्रमा मेरा अस्पताल र होटलहरूबाट ५ हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छु । करिब आधा दर्जन ठुला व्यावसायिक प्रतिष्ठानमा ५ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छु, अझै धेरै काम गर्न सक्ने मलाई विश्वास छ ।

अर्कोतर्फ, सबैभन्दा धेरै मतदाता रहेको बुटवल उपमहानगरपालिकाको वडा नम्बर ११ हो । यहाँको मतले विगतमा धेरै निर्वाचनमा निर्णायक भूमिका खेलेको छ । म यही वडाको बासिन्दा हुँ ।

यहाँ अन्य प्रतिस्पर्धीका अगाडि आफूलाई कसरी प्रस्तुत गर्नु हुन्छ ? 

यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेससँगै एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू पनि बलिया छन् भनिन्छ, तर वास्तविकता त्यो होइन । नेपाली कांग्रेसको जग बलियो छ र म स्वच्छ छविको व्यक्ति हुँ । त्यसैले मलाई मतदाताले मन पराएका छन् । 

अर्कोतर्फ, म बिहान मर्निङ वाकमा जाँदादेखि साँझ चोकमा चिया पिउँदासमेत स्थानीय मतदाताहरूसँग भेटघाट गर्न पाइन्छ र उनीहरू आफ्ना सुखदुःख मसँग बाँड्न पाउँछन् । अहिले बाहिर रास्वपाको चर्चा गरिए पनि त्यो सामाजिक सञ्जाल र चियागफमा मात्र सीमित छ । वास्तविक रूपमा मतदातासँग बसेर हेर्नुहोस्, रुपन्देही क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले जित्नेमा कुनै समस्या छैन । म ढुक्कसँग जित्छु, किनकि मलाई पार्टीका साथीहरूले खुलेर सहयोग गरेका छन् र मतदाताले माया गरेका छन् । किनकि, म सधैं यहाँका जनतासँग भेटिन्छु, तर अन्य उम्मेदवारहरूलाई भेट्न यहाँका मतदाताहरूलाई सकस छ । म सधैं बुटवल तथा रुपन्देहीको विकास चाहने व्यक्ति हुँ । अर्कोतर्फ, निर्वाचन जितेपछि पनि म यहाँका मतदातासँग सधैं नजिक रहेर काम गर्नेछु । मेरा उद्योग, अस्पताल तथा अन्य व्यावसायिक प्रतिष्ठानहरू यहीँ छन् भन्ने कुरा मतदाताले बुझेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका लुम्बिनी प्रदेश संयोजक हुन् । 

लेखकबाट थप