शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शेरधनले सार्वजनिक गरे प्रतिबद्धतापत्र : कृषि, पर्यटन र शिक्षा प्राथमिकतामा

मङ्गलबार, १२ फागुन २०८२, १७ : २०
मङ्गलबार, १२ फागुन २०८२

काठमाडाैँ। भोजपुरबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका नेकपा (एमाले) का शेरधन राईले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । 

नेकपा (एमाले) का सचिव समेत रहेका राईले मंगलबार सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्यसहितका कार्यक्रम समेटेका छन् । 

उम्मेदवार राईले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिएर प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै भोजपुरका सडक र पुलहरू सम्पन्न गर्ने तथा तथा नयाँ सडक र पुलहरूको निर्माणलाई तीव्रता दिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

टक्सार बजारको पुरानो ऐतिहासिकता झल्कने गरी  सम्पदायुक्त सुन्दर बजारको रूपमा विकास गर्ने कार्यक्रम अघि सारेका छन् भने मध्यपहाडी राजमार्गसँग जोडिएका मुख्य बजार केन्द्रहरू र सबै पालिका केन्द्रमा रहेका मुख्य बजारहरूको ढल निकास तथा व्यवस्थापनसहित व्यवस्थित बजारको रूपमा विकास गर्ने योजना समेत राईले अगाडि बढाएका छन् । 

छरपष्ट र जोखिमयुक्त बस्तीहरूको व्यवस्थापन गर्दै एकीकृत बस्ती निर्माण तथा व्यवस्थापनका लागि आवश्यक पहल समेत गर्ने समेत उनको योजना छ । 

किसानमुखी कृषि नीति निर्माणमा जोड दिएका राईले कृषिका लागि सिँचाइ सुविधा, मल बीउबिजनको उपलब्धता, प्रविधि र प्राविधिक सहयोग उपलब्ध गराई कृषि उत्पादनबाटै घर घरमा आम्दानी र घर घरमा आत्मनिर्भर र रोजगारी सृजना गर्दै जिल्लालाई समृद्ध बनाउने योजना अगाडि सारेका छन् । किसानहरूका लागि ठुलो समस्याको रूपमा रहेको बाँदर आतङ्क नियन्त्रणका कुरा समेत प्रतिबद्धता पत्रमा उल्लेख छ । 

उच्च मूल्यका खाद्यान्न, फलफूल, जडीबुटी, चिया, कफी, अलैँची अदुवा, रुद्राक्ष, बोधिचित्तलगायतको उत्पादनमा विशेष जोड दिँदै आवश्यक नीति बनाउन पहल गर्ने राईको अठोट छ । 

गाँजाको व्यावसायिक खेती गर्नका लागि विद्यमान कानुन संशोधन गर्ने पहल गर्ने समेत प्रतिबद्धता पत्रमा उल्लेख छ । पर्यटन प्रवर्द्धनका लागि मुन्दुम पदमार्गलाई थप विस्तार गर्दै संसारकै आकर्षक पर्यटकीय पदमार्ग बनाउन पहल गर्ने उनको योजना छ । 

भोजपुरले जन्माएका कला, साहित्य, भाषा र संस्कृतिका अग्रज र नवस्रष्टाहरूको कदर र सम्मान गर्दै “भाषा कला र संस्कृतिको शान, नवस्रष्टाको कदर, पुर्खा र इतिहासको सम्मान“ भन्ने नाराका साथ स्थानीय भाषा साहित्य तथा कला र संस्कृतिहरूको संरक्षण गर्न उनको बाचा छ । 

युवा लक्षित सामूहिक उद्यमशीलता कार्यक्रम र युवा आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्न पहल गर्ने लगायतका युवा लक्षित कार्यक्रम प्रतिबद्धता पत्रमा समेटिएका छन् । 

जिल्ला अस्पताललाई गुणस्तरीय उपचार सेवाका लागि थप सुविधा र आधुनिक उपकरणको जडान गरी सेवालाई प्रभावकारी बनाउने योजना रहेको छ । पालिका तहमा बनेका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा तत्काल आधुनिक उपकरण, दक्ष जनशक्तिसहितको सेवा सञ्चालन गर्न पहल गर्ने लगायतका विषय स्वास्थ्य सँग समेटेका छन् । 

शिक्षक तथा सरोकारवालाहरूसँग भएको विगतका सम्झौताहरूको आधारमा नयाँ सङ्घीय शिक्षा/विद्यालय शिक्षा ऐन जारी गर्दै शिक्षाको गुणस्तरमा एकरूपता ल्याउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता राईले सार्वजनिक गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप