बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
उम्मेदवार

न दम्भ न तडकभडक : शालीन शैलीमा चुनावी प्रचार गरिरहेका ५ उम्मेदवार

मङ्गलबार, १२ फागुन २०८२, २० : ००
मङ्गलबार, १२ फागुन २०८२

सारांश

  • डा. महावीर पुनले चुनावमा भोट माग्न अनौठो शैली अपनाएका छन्, जसले मतदाताको ध्यान खिचेको छ।
  • विभिन्न क्षेत्रका स्वतन्त्र उम्मेदवारहरूले चुनाव प्रचारमा फरक-फरक शैली अपनाएका छन्, जसले मतदातालाई आकर्षित गरेको छ।
  • लेखनाथ न्यौपाने, मनऋषि धिताल, डा. हरि रोका र मनहरि शर्मा लगायतका उम्मेदवारहरूले पनि आ-आफ्नो क्षेत्रमा चुनावी प्रचार गरिरहेका छन्।

काठमाडौँ । ‘मलाई मन पराउनेले भोट दिनुहोला । मन नपराउनेले जसलाई मनपर्छ उसैलाई भोट दिनुहोला । तर भ्रष्ट, लोभी, पापी र पैसा बाँड्नेहरूलाई भोट नदिनुहोला ।’

यो अभिव्यक्ति निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा. महावीर पुनको हो । अन्तरिम सरकारमा चार महिना मन्त्री भएका पुनले माघ ६ गते पदबाट राजीनामा दिएर म्याग्दी–१ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिए । यतिबेला म्याग्दीको गाउँ–गाउँमा भोट माग्न उनी व्यस्त छन् । 

फागुन २१ मा हुने निर्वाचनका लागि अन्य उम्मेदवारले चुनाव जित्न साम, दाम, दण्ड, भेद सबै प्रयोग गरी भड्किलो प्रचार गरिरहँदा उनी एक्लै लुखुरलुखुर चुनावी प्रचारप्रचारमा हिँडिरहेको भिडियो सामाजिक सञ्जालमा छ्याप्पछ्याप्ती भेटिएका छन् । घरदैलो कार्यक्रम अन्तर्गत मंगलबार बेनी नगरपालिका–३ स्थिति मुसुङ गाउँ पुगेका पुनले आफ्नो चुनाव चिह्न त्रिभुजमा मतदान गर्न आग्रह गरिरहेका छन् । सामान्य ट्रयाक सुट लगाएर चप्पल पड्काउँदै प्रचारमा हिँडिरहेका पुनमा न पदको दम्भ न वैद्धिकताको घमण्ड देखिन्छ ।

उनी भन्दैछन्, ‘म कुनै राजनीति गर्ने मान्छे होइन । राजनीति गर्ने मान्छे नभएकाले नै मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ । म अहिले ७१ वर्ष पूरा गरी ७२ वर्षमा लागेँ । अमेरिकाबाट फर्केको पनि अहिले ३३ वर्ष भयो । कुनै राजनीतिक दलमा लागिनँ । स्वतन्त्र रुपमा समाजसेवा गर्ने उद्देश्यले गाउँ–गाउँ डुलेर देश र जनतालाई सेवा गरेको हुनाले म स्वतन्त्रबाट उठेको हो । नलाग्नु लागेपछि खुट्टै तानेर लाग्ने हो ।’

प्रचारप्रसारको क्रममा उनी कहिले मतदातासँग गीतको टुक्रा गुन्गुनाउँछन् । कहिले गाउँको डाँडामा पुगेर कटुवाल शैलीमा मत मागिरहेका हुन्छन् । कहिले पुनको पक्षमा गाउँका युवायुवतीले स्वतःस्फूर्त रुपमा निकालेका नृत्यमा झुमेका भेटिन्छन् । अन्य उम्मेदवारलाई करोडौँ खर्च गर्दा समेत चुनाव जित्न हम्मेहम्मे परिरहेको बेला उनलाई उल्टै मतदाताले चुनावी खर्च दिइरहेका छन् । 

‘जनतासँग भोट माग्न पैसाको बिटो बिटो बाँड्छन् भन्ने सुनेको छु । म गाउँ–गाउँ घुम्दा हामीले पनि बिटो लिएर खायौँ भनेको सुनियो’, सामाजिक सञ्जाल फेसबुकबाट उनले भनेका छन्, ‘त्यो के हो थाहा नपाएको कुरा कसरी भन्नु तर महावीर पुनलाई चुनावी खर्च भनेर उल्टै मतदाताहरूले पैसा दिइराखेका छन् ।’

पुनले फागुन १० गतेसम्म मतदाताहरूले १५ लाख सहयोग गरेको जानकारी दिएका छन् । अनलाइनबाट आएको हिसाबकिताब नगरिएकाले ती सबै पैसाबारे आम मतदातालाई जानकारी गराउने उनले प्रतिबद्धता जनाएका छन् ।

भदौमा जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले पुनलाई असोज ५ गते शिक्षा मन्त्रीमा नियुक्त गरेकी थिइन् । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष रहेका उनी मन्त्री बन्नु अघिल्लो दिनसम्म आफ्नो आत्मकथा पुस्तक बेच्नमा व्यस्त थिए । पुनले पुस्तक बेचेर आएको पैसाले कृषि औजार कारखाना सञ्चालन गरिरहेका थिए । मन्त्रीको पदबहालीको दिन कार्यालय सिंहदरबारमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले सडकमा किताब बेचेर बसिरहेको मान्छेलाई मन्त्री बानाएकोमा ठट्टा गरेका थिए । दिनरात काम गर्ने अठोटसँगै पुनले कार्यालयमै खाने बस्नेको व्यवस्था मिलाए । तर केही आवश्यक कानुन संशोधनको विषयमा प्रधानमन्त्रीसँग कुरा नमिल्दा उनले रिसाएर पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ताका लागि म्याग्दी पुगेका थिए ।

सरल, मिजास, इमानदार र मौलिक अभिव्यक्तिका कारण पुन आम मतदाताबिच लोकप्रिय छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुन सहित १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले कर्णबहादुर भण्डारी, नेकपा एमालेले हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीले अर्जुनबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीले युवराज रोकालाई उम्मेदवार बनाएका छन् । यसपटक पुराना र नयाँ दलहरूलाई पुन भारी पर्न सक्ने राजनीतिक वृत्तमा चर्चा चलेको छ । 

म्याग्दी जस्तो विकट क्षेत्रमा सामान्य परिवारमा जन्मेर अमेरिकाको चर्चित नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका थिए । पुनले गाउँ फर्किर वायरलेस नेटवर्किङ परियोजना बनाए । विज्ञान, प्रविधि र कम्प्युटरको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे । प्रविधिको क्षेत्रमा योगदान पुर्‍याएको कदर गर्दै उनले रामोन म्यागासेसे पुरस्कार प्राप्त गरेका थिए ।

न्यौपानेको बौद्धिकताको चर्चा

वामपन्थी आन्दोलनमा लागेको ३६ वर्षपछि नेपाली कम्युनिस्ट पार्टीका नेता लेखनाथ न्यौपानेलाई पहिलोपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने अवसर मिल्यो । अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रहेका न्यौपाने माओवादी आन्दोलनको विरासत बोकेको गोरखा–२ बाट उम्मेदवार बनेका छन् । बौद्धिक तथा शालीन व्यक्तित्व रहेका उनी राजनीति व्यवसाय नभई सेवा भएको बताउँछन् । 

साधारण जीवनशैली, अनावश्यक आश्वासन भन्दा पनि सैद्धान्तिक र वैचारिक पक्षलाई बढी महत्व दिने स्वभावका न्यौपाने जिताएर पठाएको खण्डमा अभिभावकीय जिम्मेवारी बहन गर्न सक्षम रहेको मतदाता समक्ष प्रतिबद्धता जनाइरहेका छन् । चुनावी प्रचारप्रसारका लागि अहिले गाउँ–गाउँमा व्यस्त रहेका उनले कुनै तडकभडक शैली अपनाएका छैनन् ।

‘राजनीतिमा लागेको ३६ वर्षमा पहिलोपटक म जनताको बिचमा उपस्थित भएको छु । मैले अहिलेसम्म कुनै राजकीय पद, राज्यको कोषबाट पेन्सन खानेगरी भूमिका निर्वाह गरेको छैन । जति गरेको छु बिना सुविधा मैले जनताको सेवा गरेको छु । त्यो सेवाले आज मलाई प्रतिनिधिसभा सदस्य बन्ने योग्यता उठाएको छ’, उनी भन्छन् ।

Lekhnath Neupane

आफूले निष्ठा र इमानदारीसाथ प्राप्त गरेको योग्यता गोरखा–२ को आवश्यकता र भावनाको प्रतिनिधित्व गर्न सक्षम रहेको उनी बताउँछन् । तर त्यतिमा मात्रै सीमित नभई अनुभव, क्षमता र ज्ञानलाई देशभरिका सार्वजनिक महत्वका विषयवस्तु, विकाससम्बन्धी नीतिगत कुरा, मुलुकलाई अगाडि लैजान सैद्धान्तिक विषय उठान गर्न सक्षम रहेको न्यौपाने बताउँछन् । माओवादी जनयुद्धकालमा राज्यबाट भएको यातनाका कारण उनले कानको श्रवणशक्ति नै गुमाएका छन् । युद्धकै बेला न्यौपानेले जीवनसाथी गुमाएका थिए ।

गोरखाका अधिकांश मतदाताले विकासका विषयमा चासो राखेकाले त्यसलाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन् । जनताको सेवा बाहेक आफ्नो कुनै स्वार्थ नभएको उनी जिकिर गर्छन् । ‘जनताको अपेक्षा सम्बोधन गर्नु बाहेक मेरो कुनै निजी स्वार्थ छैन । नीतिगत र भौतिक प्रगतिप्रति पनि दृढतापूर्वक काम गर्न सकिन्छ । म जे बोल्छु त्यो गर्नका लागि कुनै कसर बाँकी राख्दिनँ’, उनी भन्छन् ।  

चुनावी मैदानबाट पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार डा. बाबुराम भट्टराई बाहिरिएपछि प्रतिस्पर्धामा एमालेबाट मिलन गुरुङ उर्फ चक्रे मिलन, रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटी र कांग्रेसका प्रकाशचन्द्र दवाडी छन् ।

पार्टीभित्रै लामो समय अवसर नपाएका न्यौपाने भड्किलो चुनावी प्रचारको विरुद्धमा छन् । गाउँघरकै अर्गानिक खाना खाएर चुनावी प्रचारमा व्यस्त देखिन्छन् । उनी तत्कालीन समस्या समाधान गर्नतिर भन्दा पनि सुशासन, भौतिक पूर्वाधार विकास, सामाजिक न्यायमा देखिएका समस्याको दीर्घकालीन समाधानमा जोड दिँदै आएका छन् । न्यौपाने चुनावी प्रचारको क्रममा न प्रतिस्पर्धीलाई बिझाउने गरी अभिव्यक्ति दिन्छन् न विकास निर्माणको खोक्रो आश्वासन नै ।

अघिल्लोपटक यो क्षेत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड २६ हजार १०९ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी रास्वपाका बुर्लाकोटीले १२ हजार ६३९ मत प्राप्त गरेका थिए । एमालेका अब्दुस सलाम मियाले ७ हजार ३९५ मत प्राप्त गरेका थिए । त्यतिबेला कांग्रेसले माओवादीलाई समर्थन गरेको थियो । यसपालि दलहरू एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएकाले यस क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा माओवादीले समानुपातिकतर्फ १९ हजार मत प्राप्त गरेको थियो । यस्तै, कांग्रेसले ११ हजार ८८२, रास्वपाले ८ हजार ९९९ मत पाउँदा एमालेले ६ हजार १८५ मत प्राप्त गरेको थियो ।

बौद्धिक तथा अध्ययनशील नेता रहेका न्यौपाने स्पष्ट विचार, सिद्धान्त तथा सरल जीवनशैलीका कारण सबैमाझ लोकप्रिय छन् । गोरखाको सिरानचोक गाउँपालिका–३ मा जन्मिएका उनी अशिक्षा र गरिबीसँग संघर्षबाट जन्मिएका नेता हुन् । माध्यमिक शिक्षा गाउँकै जनता माध्यमिक विद्यालयमा पूरा गरेका उनले परिवारको आर्थिक अवस्थाले उच्च शिक्षा पढ्न काठमाडौँ आए । संघर्षकै बिचबाट न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट उच्च शिक्षा पूरा गरे ।

विद्यालयमा अध्ययनकै क्रममा वामपन्थी विद्यार्थी राजनीतिमा सक्रिय भएका उनी क्याम्पस इकाई अध्यक्ष, काठमाडौँ जिल्ला अध्यक्ष हुँदै २०५२ सालमा जनयुद्ध सुरु हुनुभन्दा अघि अखिल (क्रान्तिकारी) को केन्द्रीय सदस्य बने । २०५४ साल (जेल)मा रहेकै बेला केन्द्रीय कोषाध्यक्ष, २०५६ मा उपाध्यक्ष र २०६० मा अध्यक्ष बने । न्यौपाने २०६० देखि २०६७ सम्म दुई पटक अध्यक्ष बने ।

न्यौपाने राजनीतिमा मात्र होइन, अध्ययन र लेखनमा पनि उत्तिकै सक्रिय छन् । कलम, शैक्षिक हड्ताल, अखिल ज्ञान, तिमी अमर भयौ, शिक्षा र राजनीति, चिठीमा जनयुद्ध, शिक्षामा पुनर्संरचनाको बहस, विद्यार्थी आन्दोलनमा बाइस वर्ष, कोमामा कोरस, सङ्घर्षको इतिहास आदि साहित्य, लेख र रचना उनले सिर्जना गरेका छन् ।

उनका अन्य कृतिमा बन्दी आवाज, पर्खालभित्रका सिर्जनाहरु, अजम्बरी हस्ताक्षर, प्रचण्ड : शिक्षा र राजनीति, राजेन्द्र ढकाल : सम्झना र सम्मान लगायत एक दर्जनभन्दा बढी कृति प्रकाशित भएका छन् ।

जुम्लीमाझ लोकप्रिय धिताल

कर्णाली प्रदेशको महत्त्वपूर्ण जिल्ला जुम्लाबाट प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार रहेका मनऋषि धितालको प्रचारशैली भिन्न छ । सत्यको पक्षमा निरन्तर बोल्दै र लेख्दै आएका धिताल प्रलोपाका बौद्धिक नेता मानिन्छन् । साविक माओवादी केन्द्रका नेता रहेका धिताल कात्तिक १९ गते विभिन्न वामपन्थी घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेपछि प्रलोपा प्रवेश गरेका थिए ।

पत्रकार एवं साहित्यकार धितालका जनयुद्धको बेला २०५९ देखि २०६३ सम्मको यात्राका डायरीहरू संकलन गरेर जनयुद्धका डायरी प्रकाशन गरेका छन् । चुनाव प्रचारकै क्रममा उनले आफ्ना किताब बेचेर खर्च जोहो गरेको कुरा चर्चाको विषय बनेको छ ।

Manarishi Dhital

दलित, पिछडिएका वर्ग र अल्पसंख्यक समुदायलाई भोट बैंक मात्र बनाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने मुद्दा धितालले उठाएका छन् । जुम्लाको जलस्रोत, पर्यटन, सिंजा सभ्यताको संरक्षणका लागि उनले निरन्तर आवाज उठाउँदै आएका छन् । साधारण जीवनशैली अपनाउँदै आएका धिताल सिद्धान्त, निष्ठा र विचारको राजनीति गर्नुपर्नेमा जोड दिन्छन् ।

‘सत्ताको होइन, आस्थाको राजनीति गरौँ । स्वार्थको होइन, सेवाको राजनीति गरौँ । आश्वासनको होइन, संकल्पको राजनीति गरौँ भन्ने हाम्रो मान्यता छ’, उनी भन्छन् । 

धितालले चुनावी प्रचारको क्रममा कहिल्यै पनि प्रतिस्पर्धी दल र उम्मेदवारप्रति घृणा फैलाउने, द्वैष उत्पन्न हुने काम गरेका छैनन् । उनले आफ्नो घोषणापत्रमा २०१५ सालदेखि २०७९ सालसम्म संसदीय निर्वाचनबाट जुल्लाको विकासमा योगदान गर्ने व्यक्तिहरूको योगदानलाई स्मरण गरेका छन् ।

‘इतिहासको सम्मान नगरी भविष्यको बाटो पहिल्याउन सकिँदैन । त्यसैले हामी सम्मान गर्न चाहन्छौँ,’ धिताल भन्छन्, ‘कोही कसैप्रति हाम्रो सैद्धान्तिक र वैचारिक विमती हुन सक्छ तर हामीले कुनै आलोचना गर्न चाहँदैनौँ ।’

जुम्लामा नेकपाबाट धितालका पूर्वसहकर्मी नरेश भण्डारी, कांग्रेसबाट दीपबहादुर शाही, एमालेबाट शान्तिलाल महत, रास्वपाबाट विनिता कठायत र राप्रपाबाट ज्ञानबहादुर शाही उम्मेदवार छन् । २०७९ को निर्वाचनमा शाही २२ हजार ८१९ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादीकी गोमा गौतमले ११ हजार ९५९ मत प्राप्त गरेकी थिइन् । एमालेका महतले  ६ हजार ५२८ मत प्राप्त गरेका थिए ।

हरिको ख्याति 

नेकपाको खोटाङ–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका डा. हरि रोका अर्थ–राजनीतिक विश्लेषक हुन् । पछिल्लो चार वर्षदेखि खोटाङको गाउँमै बसेर कृषि कर्ममा सक्रिय उनी ‘वैकल्पिक अर्थतन्त्र’ पुस्तकका लेखक तथा चर्चित अर्थशास्त्री हुन् । गाउँमा बाँदर आतंकबाट आजित भएका रोकाले कृषकका समस्यालाई मुख्य मुद्दा बनाएर चुनावी प्रचारमा व्यस्त छन् । अर्थ–राजनीतिमा गहिरो दखल भएकाले विशेषगरी बैद्धिक सर्कलले उनको पक्षमा खुलेर मत मागेका छन् । मतदाता समक्ष आफ्नो र पार्टीले अगाडि सारेका एजेण्डा प्रष्ट ढंगले राख्दै आएका छन् ।

‘किसानका धेरै समस्या छन् । उत्पादन, भण्डारणदेखि बजारीकरणसम्म धेरै समस्या छन् । यी सबै राज्यले दायित्व निर्वाह गर्नुपर्छ । त्यही भूमिका निर्वाह गराउनका लागि किसानको प्रतिनिधित्व गर्ने हिसाबले उम्मेदवारी दिएको हुँ’, उनी भन्छन् ।

Hari Roka

रोका राज्यबाट अनुदानको अपेक्षा भन्दा पनि यातायात, बजार, व्यवस्थापन, सहजीकरणको सुविधा राज्यले नै प्रत्याभूति गर्नुपर्नेमा उनको जोड रहेको छ ।  

उमेरले ६७ वर्ष लागेका रोकाले भारतको जवारहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । साढे तीन दशकभन्दा बढी समयदेखि रोकाले नेपालको राजनीति, राज्यचरित्र, अर्थ–राजनीति, नीति–निर्माण, अन्तर्राष्ट्रिय मामिला, विकास–दृष्टि र समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । २०६३ सालमा अन्तरिम विधायिका तथा पहिलो संविधान सभा सदस्य समेत रहेका उनले नेपालको अर्थतन्त्र र कृषि क्षेत्रको रुपान्तरणका लागि उम्मेदवारी दिएको जिकिर गर्छन् । 

खोटाङका अघिल्लो निर्वाचनमा माओवादीका रामकुमार राई ३१ हजार ३५१ मत ल्याएर निर्वाचित भएका थिए । प्रतिद्वन्द्वी एमालेका विशाल भट्टराईले २८ हजार ६८२ मत प्राप्त गरेका थिए । यसपटक एमालेले देवविक्रम राईलाई उम्मेदवार बनाएको छ । कांग्रेसले वीरकाजी राई र रास्वपाले रुद्र गिरीलाई उम्मेदवार बनाएको छ ।

पर्वतमा छुट्टै पहिचान बनाउँदै मनहरि

नेकपाबाट पर्वत–१ का उम्मेदवार रहेका मनहरि शर्मा (तिमिल्सिना)ले पनि चुनावी प्रचारप्रसार फरक ढंगले गरेका छन् । पत्रकार तथा बौद्धिक नेता मानिने उनी पछिल्लो प्रचण्ड सरकारको बेला सञ्चार विज्ञको रुपमा नियुक्त भएका थिए । तिमिल्सिना पहिलो पटक प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका हुन् । २०८४ को आवधिक निर्वाचनका लागि दुई वर्षअघि देखि नै गृहजिल्ला पर्वतमा तयारी गरेका थिए । तर भदौमा जेनजी आन्दोलनका कारण निर्वाचनको मिति अगाडि सरेपनि उनले टिकट पाए । चुनावी प्रचारको क्रममा घरदैलो कार्यक्रममा व्यस्त रहेका उनले कुनै पनि भड्किलो कार्यक्रम गरेका देखिँदैन । मतदता समक्ष तात्कालीन आश्वासन भन्दा पनि दीर्घकालीन विकास र समृद्धिको वकालत गर्दै आएका छन् । विदेशबाट आएका रेमिट्यान्स अनुत्पादन क्षेत्रमा लगानी भएकाले रोजगारी सिर्जना हुन नसकेको विषय मतदातालाई बुझाएका छन् ।

Manahari Timilsina

‘विदेशबाट आएका रेमिट्यान्स घडी किन्न, आइफोन किन्न, टेलिभिजन किन्न खर्च भएको छ । त्यसले उत्पादकत्व बढाउँदैन । जीवनस्तर उठाउँदैन’, उनी भन्छन्, ‘विदेश गएको छोराछोरीलाई नेपालमै पढाउनु पर्‍यो । विदेशबाट मासिक दुई लाख आएको छ भने ५० हजार खर्च कटाएर बाँकी उत्पादन क्षेत्रमा लगानी गर्नुपर्‍यो । यति गर्न सकिएमा विदेशमा काम गर्न नसकेर फर्किँदा लगानीबाट बढेको पैसाले आफ्नै देशमा केही गर्न सकिन्छ ।’

तिमिल्सिना हरेक गाउँ–गाउँ पुग्दा निराशा होइन, आशावादी कुरा गर्छन् । देशमा केही भएको छैन होइन, हालसम्म भएका प्रगति विवरण मतदातालाई सुनाउँछन् । उनले ठुला-ठुला आश्वासन नबढेर स–साना तथा मसिना कुराहरूलाई प्रष्ट ढंगले राखेर मतदाताको मत जित्ने प्रयास गरेको देखिन्छ ।

यद्यपि तिमिल्सिनालाई चुनाव जित्न त्यति सहज देखिँदैन । पूर्वमन्त्री तथा एमालेका चर्चित युवा नेता पदम गिरी यसपटक पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका कारण चुनौती छ । कांग्रेसका अर्जुनप्रसाद जोशी, रास्वपाका सागर भुसाल चुनावी मैदानमा छन् । अघिल्लो निर्वाचनमा एमालेका गिरीले २९ हजार ८७२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका जोशीले २७ हजार ६०९ मत प्राप्त गरेका थिए । रास्वपाका जालबहादुर पुर्जा पुनले चार हजार १७३ मत प्राप्त गरेका थिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप