बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अर्को 'प्रेम आचार्य' बनाइन खोजिएको व्यवसायी थापाको गुनासो

बुधबार, १३ फागुन २०८२, ११ : २४
बुधबार, १३ फागुन २०८२

सारांश

  • यातायात व्यवसायी डम्बर बहादुर थापाले प्रशासनिक झमेला र स्वार्थ समूहको अवरोधबारे गुनासो गरे।
  • थापाले ट्रायल सेन्टर निर्माणका लागि लिएको बैंक ऋण र आर्थिक क्षतिको विवरण प्रस्तुत गर्दै, न्याय नपाए आत्महत्या गर्ने चेतावनी दिए।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि ट्रायल सेन्टर सञ्चालन प्रक्रिया रोकिएको र यसले गर्दा लगानीकर्ता मारमा परेको गुनासो छ।

काठमाडौं । यातायात व्यवसायी डम्बर बहादुर थापाले करोडौं बैंक ऋण लिएर सुरु गरिएको काममा प्रशासनिक झमेला र स्वार्थ समूहले निरन्तर अवरोध गरेको गुसासो गरेका छन् ।  थापाले चौतर्फी हमला गरर आफूलाई 'अर्को प्रेम आचार्य' बन्न बाध्य पार्न खोजिएको गुनासो गरे । 

बुधबार बिहान केही सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले २५ वर्षदेखि आफू यातायात क्षेत्रमा काम गर्दै आएको बताए । तर अहिले अदालतले समेत बाटो खुला भएपनि राज्यकै अर्को निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भने असहयोग गुनासो गरे । 

बागमती प्रदेश सरकारले २०८० मङ्सिर १२ गते थप तीन स्थानमा ट्रायल सेन्टर खोल्ने निर्णय गरेपछि थापासहित १५ जनाको समूहले काठमाडौंको बालाजु (मनमैजु) मा पूर्वाधार तयार पारेका थिए। १८ रोपनी जग्गा भाडामा लिएर करिब ७ करोड रुपैयाँ बैंक ऋणमार्फत उनीहरूले आधुनिक ट्रायल सेन्टर निर्माण गरेका हुन्।

यातायात व्यवस्था कार्यालय बालाजुले मङ्सिर २६ गते टेन्डर आह्वान गरेपछि उनीहरूले आवश्यक प्रक्रिया अघि बढाएका थिए। तर, केही पुराना व्यवसायी र तत्कालीन नेतृत्वको दबाबमा उक्त प्रक्रिया रोकिएको थापाको भनाइ छ। उच्च अदालत पाटनले प्रक्रिया नरोक्न आदेश दिएको भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेर फाइल अड्काइएको उनले बताए। केहीअघि सोसम्बन्धी फाइल अख्तियारले लिएर गएपनि अख्तियारबाट छानबिन प्रक्रिया अघि बढ्न नसकेको हो । 

महिनौंदेखि फाइल रोकिँदा बैंकको ब्याज र जग्गाको भाडासहित मासिक २२ लाख रुपैयाँभन्दा बढीको आर्थिक भार खेप्नुपरेको उनले बताए। पूर्वाधार निर्माण र अन्य ढिलासुस्तीका कारण हालसम्म १२ करोड रुपैयाँभन्दा बढीको क्षति भइसकेको र संस्थामा आबद्ध ३५ जना कर्मचारीको रोजगारीसमेत जोखिममा परेको व्यवसायी थापाको दुखेसो छ।

'प्रशासनिक सेटिङ र स्वार्थ समूहको दबाबले हामी जस्ता साना लगानीकर्तालाई उठ्नै नसक्ने गरी थिचेको छ,' थापाले भने, 'सरकार, न्यायपालिका र नागरिक समाजले समयमै हाम्रो समस्या सुनेर न्याय नदिए म अर्को 'प्रेम आचार्य' बन्न बाध्य हुनेछु र यसको जिम्मा अवरोध गर्नेहरूले नै लिनुपर्नेछ।'

विनाकारण पूर्वाग्रह राखेर काम रोक्ने प्रवृत्तिले देशमा लगानीको वातावरण बिग्रिएको भन्दै उनले तत्काल छानबिन गरी ट्रायल सेन्टर सञ्चालनको बाटो खुलाइदिन सरोकारवाला निकायसँग आग्रह गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप