एप्स्टिनसँगको सम्बन्धबारे बिल गेट्सको स्वीकारोक्ति: ‘त्यो मेरो जीवनको ठुलो गल्ती थियो’
न्युयोर्क । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले बालबालिकामाथि यौन शोषणको आरोप लागेका र जेलमै आत्महत्या गरेका अमेरिकी अर्बपति जेफ्री एप्स्टिनसँगको आफ्नो सम्बन्धका बारेमा पहिलो पटक खुलेर बोलेका छन्। गेट्स फाउन्डेसनका कर्मचारीहरूसँगको एक विशेष बैठकमा उनले एप्स्टिनसँग समय बिताउनु आफ्नो जीवनको ‘ठुलो गल्ती’ भएको स्वीकार गर्दै त्यसका लागि माफी मागेका छन्।
भर्खरै सार्वजनिक भएका केही दस्ताबेज र वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार, ७० वर्षीय गेट्सले आफ्ना कर्मचारीहरूमाझ आफू र एप्स्टिनबिचको सम्बन्धका विषयमा विस्तृत स्पष्टीकरण दिएका हुन्। उनले सन् २०११ देखि २०१४ सम्म एप्स्टिनसँग विभिन्न समयमा भेटघाट गरेको र विदेश यात्रासमेत गरेको बताएका छन्। यद्यपि, उनले एप्स्टिनको निजी टापुमा कहिल्यै नगएको र उनको अनैतिक गतिविधिमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे।
गेट्सले बैठकमा आफूले विगतमा दुई जना रुसी महिलासँग प्रेम सम्बन्ध राखेको र सो कुरा पछि एप्स्टिनलाई थाहा भएको खुलासा गरे। सोही सम्बन्धका आधारमा एप्स्टिनले उनलाई दबाबमा राख्न खोजेको हुनसक्ने सङ्केत बाहिर आएका छन्। यसअघि अमेरिकी न्याय विभागले सार्वजनिक गरेका फाइलहरूमा गेट्सलाई यौन रोग लागेको र त्यसलाई लुकाउन खोजेको जस्ता दाबी गरिए पनि गेट्सका प्रवक्ताले ती कुराहरूलाई पूर्णतः झुटो र भ्रामक भनेका छन्।
आफ्नी पूर्वपत्नी मेलिन्डा फ्रेन्च गेट्सको प्रसङ्ग निकाल्दै बिलले उनी सुरुदेखि नै एप्स्टिनसँगको सम्बन्धलाई लिएर शङ्कालु रहेको बताए। उनले मेलिन्डाको दूरदर्शिताको कदर गर्दै भने, ‘यो कुरामा उनी सधैँ सही थिइन्, तर मैले समयमै उनको कुरा सुनिनँ।’ मेलिन्डाले हालैको एक अन्तर्वार्तामा एप्स्टिनसँगको विषयले आफ्नो वैवाहिक जीवनमा निकै पीडा दिएको र अहिले आफू त्यो ‘हिलो’ बाट टाढा भएकोमा खुसी रहेको बताएकी थिइन्।
एप्स्टिनले आफूलाई परोपकारी कार्यका लागि ठुलो रकम जुटाउन मद्दत गर्ने आश्वासन दिएकाले आफू उनीसँग नजिकिएको गेट्सको तर्क छ। तर, गेट्स फाउन्डेसनले एप्स्टिनसँग कुनै पनि आर्थिक कारोबार नभएको र उनी कहिल्यै संस्थाको कर्मचारी नरहेको स्पष्ट पारेको छ। गेट्सले आफ्नो कारणले अन्य मानिसहरूले समस्या झेल्नु परेकोमा दुःख व्यक्त गर्दै अबका दिनमा यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण